पर्यटकलाई रात्रिकालीन सफारीसहित चेपाङ खाना

भ्रमण वर्ष सन् २०२० लाई लक्षित गर्दै सौराहामा आउने पर्यटकलाई रात्रिकालीन सफारीसहित चेपाङ खाना खुवाउने र आफ्ना कला संस्कृति देखाउने तयारी गरिएको छ । दिनको समयमा निकुञ्ज सफारी गरेर रमाउने र साँझमा थारू संस्कृति हेर्नका लागि अहिले पर्यटक सौराहा आउने गरेका छन् ।

रत्ननगर नगरपालिकाका प्रमुख नारायण वनका अनुसार सौराहाबाट राप्ती नदी ड्यागको बाटो हुँदै लोथरसम्म रात्रिकालीन सफारी गर्ने तयारी गरिएको छ । सो यात्रा करिब १८ किलोमिटरको दूरी हुने उनले जानकारी दिएका छन् । लोथर क्षेत्रमा चेपाङ संस्कृतिमा पर्यटकलाई आकर्षित गर्न खाना खुवाइनेछ । चेपाङले वनमा फलेका र उब्जिएका अन्नपात, गिठ्ठा, भ्याकुरलगायतको खाना तयार गर्ने र सोही खानामा पर्यटक रमाउने अपेक्षा गरिएको छ ।

प्रमुख वनले रातको समयमा बत्तीको उज्यालोमा वन्यजन्तुको अवलोकन गर्दै पर्यटकलाई नयाँपन दिलाउन लागिएको जानकारी दिए । क्षेत्रीय होटल संघ सौराहाका अध्यक्ष दीपक भट्टराईले करिब तीन घण्टाको रात्रिकालीन सफारीसँगै चेपाङ संस्कृति र खानामा रमाएका पर्यटक फर्किएर सौराहामा बास बसाइने बताए । यसबाट पर्यटकको बसाई लम्ब्याउन सकिने र नयाँपन दिन सकिने उनको भनाइ रहेको छ ।

रात्रिकालीन सफारीका क्रममा पर्यटकले त्यस क्षेत्रका अन्य महत्वका क्षेत्र पनि हेर्न चाहेमा पाउनेछन् । केही दिनमा नै त्यस क्षेत्रको स्थलगत अध्ययन गरी भ्रमण वर्षसँगै नयाँ प्याकेजका रूपमा अघि सारिने उनको भनाइ छ । उनीहरूलाई खुवाएबापत लागत खर्चका आधारमा होटलले पर्यटकसँग रकम लिने छन् ।

यसैगरी, सौराहा आसपासका थारू बस्तीमा पर्यटकलाई साइकलमा घुमाइनेछ । झुवानी, बच्छौली, थारू संग्राहालय, फसिहारा, भोकाहा, देवौली हुँदै सौराहासम्म साइकलमा पर्यटकलाई घुमाउने तयारी गरिएको छ । भट्टराईका अनुसार त्रिभुवन विमानस्थलसहित देशका ठूला विमानस्थल र महत्वपूर्ण ठाउँमा डिजिटल होर्डिङ बोर्ड राख्ने तयारी गरिएको छ । चितवन तेस्रो पर्यटकीय गन्तव्य हो । चितवन राष्ट्रिय निकुञ्ज र यहाँभित्र रहेको दुर्लभ वन्यजन्तु पर्यटकका लागि आकर्षणको केन्द्र बन्दै आएका छन् । हरेक वर्ष दुई लाख हाराहारी पर्यटक भित्रने यहाँ भ्रमण वर्षमा चार लाख पर्यटक भित्र्याउने लक्ष्यका साथ काम अघि बढाइएको छ ।

जिल्लाको प्रमुख पर्यटकीय गन्तव्य सौराहा रहेको छ । यससँगै चितवन राष्ट्रिय निकुञ्जको प्रवेशद्वारको रूपमा रहेका पटिहानी र मेघौलीमा पर्यटन पूर्वाधार बन्ने क्रम बढेको छ । गत वर्ष सरकारले छानेका एक सय पर्यटकीय गन्तव्यमध्येको पटिहानी एक हो भने यस वर्ष प्रदेश सरकारले एक जिल्ला एक पर्यटकीय गन्तव्यको रूपमा मेघौलीलाई लिएको छ । यी दुवै ठाउँ भरतपुर महानगरपालिकामा पर्दछ । भरतपुर महानगरले भ्रमण वर्ष लक्षित गर्दै आफ्ना कार्यक्रम सार्वजनिक गरिसकेको छ ।

नेपाल भ्रमण वर्ष सन् २०२० जिल्ला आयोजक समितिको मंगलबार यहाँ सम्पन्न बैठकले भ्रमण वर्षमा धेरै पर्यटक भित्र्याउनका लागि विभिन्न गतिविधि गर्ने निर्णय गरेको छ । समितिका संयोजक जिल्ला समन्वय समिति चितवनका प्रमुख कृष्णकुमार डल्लाकोटीले बैठकमा जिल्लाका सातवटै पालिकाका पर्यटकीय गन्तव्यको स्थानीय, राष्ट्रिय र अन्तर्राष्ट्रियस्तरमा प्रचारप्रसारका लागि विभिन्न गतिविधि अघि बढाउने निर्णय भएको जानकारी दिए । सौराहामा रात्रिकालीन जीपदेखि इच्छाकामनामा स्वागतसम्मका गतिविधि गरिने भएका छन् । कुन–कुन कार्यक्रम कसरी गर्ने भन्ने टुंगो केही दिनमा लगाइने उनले बताए ।

बैठकमा रत्ननगर नगरपालिकाका प्रमुख वन, इच्छाकामना गाउँपालिका अध्यक्ष गीता गुरुङ, क्षेत्रीय होटल संघ सौराहाका अध्यक्ष दीपक भट्टराईलगायतले भ्रमण वर्ष लक्षित गरी भएका कामका बारेमा जानकारी गराएका थिए । सो अवसरमा प्रदेशसभा सदस्य विजय सुवेदी र मिलनबाबु श्रेष्ठले भ्रमण वर्षमा पर्यटकको बसाइ लम्ब्याउन र संख्या बढाउन गरिने गतिविधिमा आवश्यक सहयोगका लागि आफूहरू सकारात्मक रहेको जानकारी दिएको डल्लाकोटीले बताए ।

प्रतिक्रिया