नेपालसँग वेस्टइन्डिज ए ४ विकेटले पराजित

काठमाडौं । कप्तान रोहित पौडेलको शतकमा नेपालले पहिलो टी२० खेलमा वेस्टइन्डिज ए लाई ४ विकेटले हराएको छ । २ सय ५ रनको लक्ष्य पछ्याएको नेपालले १९ दशमलव ४ ओभरमा ६ विकेट गुमाउँदै पूरा गर्यो । रोहित पौडेल ५४ बलमा १० चौका र ६ छक्कासहित ११२ रनको शतकीय इनिङ खेले । नेपाललाई ८ बलमा १३ रन चाहिँदा रोहित म्याथ्यु फर्डको बलमा विकेटकिपर आन्द्रे फ्लेचरबाट क्याच आउट हुन पुगेका थिए । २७ बलमा अर्धशतक पूरा गरेका रोहितले शतक ४७ बलमा हानेका थिए । उनको यो टी२० करिअरको पहिलो शतक थियो ।

नेपालका ओपनर अनिल शाह ५, कुशल मल्ल र कुशल भुर्तेल १६–१६ रनमा आउट भए । दीपेन्द्रसिंह ऐरी १८ बलमा २ चौका र १ छक्कासहित २४ र विवेक यादव ७ रनमा आउट भए । ओबेद म्याककोयले ४ ओभरमा ३४ रन खर्चेर २ विकेट लिए । म्याथ्यु फर्ड २ र किमो पलले १ विकेट लिए । त्यसअघि त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको वेस्टइन्डिज ए ले २० ओभरमा ५ विकेट गुमाउँदै २०४ रन बनाएको थियो । दोस्रो खेल आइतबार हुनेछ ।

प्रतिक्रिया