जुन पार्टीमा अवसर देख्छु, त्यसमै लाग्छु

अनिता यादव, मोडल

मधेस प्रदेशअन्तर्गत धनुषा सबैलाकी अनिता यादव मधेसी समुदायको पहिलो मोडल महिला हुन् । उनी ‘मिसेज द नेसन’ को ब्रान्ड एम्बेस्डर पनि हुन् । अनिता मोडलिङमा सन् २०१८ बाट होमिएकी हुन् । सर्लाहीको मदनपुर विद्यालयबाट एसएलसी उत्र्तीण यादवले धनुषाको सरस्वती महिला कलेजबाट स्नातकसम्मको अध्ययन गरेकी छन् । सामाजिक तथा राजनीतिबाट मधेसी महिलाका लागि केही गर्ने उनको योजना छ । विवाहित महिलाको केही समय आफ्नो वृद्धि र सशक्तीकरणका लागि मोडेल एउटा अवसर बताउँदै मधेसका छोरीलाई पनि छोरासरह शिक्षा प्रदान गर्नुपर्ने उनको भनाइ छ । हाल संघीय राजधानी काठमाडौंमा रहेकी अनिता समाजिक, राजनीतिक एवं अन्य कार्यमा सधैँ आफूलाई सक्रिय राख्ने बताउँछिन् । उनले अन्य कारणभन्दा समाजसेवाका लागि मोडेलिङ पेसामा लगेकी बताइन् । मोडल अनिता यादवसँग सौर्य दैनिकका लागि राजेन्द्र महतोले गरेको संवादको सम्पादित अंश :

अहिले केमा व्यस्त हुनुहुन्छ ?

–संघीय राजधानी काठमाडौंमा सामाजिक, राजनीतिक एवं अन्य कार्यमा सक्रिय छु यति बेला ।

मोडलिङको सुरुआत कसरी गर्नुभयो ?

–मोडलिङको सुरुआत विभिन्न ब्रान्डका घडी, चस्माको विज्ञापनबाट भयो । त्यसपछि कुमकुम ज्वेलर्सको हिरा र सुनका विभिन्न गहनाको भिडियो र पोस्टर विज्ञापन गरे । अहिले एकपछि अर्को कामहरू लगातार गरिरहेको छु ।

फिल्म तथा म्युजिक भिडियोमा पनि निकै अफरहरू आएको होला नि ?

–विज्ञापनमा अभिनय गरेपछि फिल्म तथा म्युजिक भिडियोको अफर नआउने न कुरै भएन । तर, हालसम्म यस्ता अफर नकार्दै आएकी छु । अहिले फिल्म अनि म्युजिक भिडियोमा रुची नभएकोले अफर रिजेक्ट गरेको हो । त्यता लाग्ने रुची छैन ।

सामाजिक कार्यहरू के कस्ता गरिराख्नुभएको छ ?

–मेरो मोडलिङबाट आएको सबै पैसा वृद्धाश्रम, अनाथाश्रम लगायतमा दिँदै आएकी छु । म अन्य कारणभन्दा पनि सामाजिक कार्यका लागि मोडलिङ क्षेत्रमा लागेकी हुँ । यहाँबाट आर्जित सबै लगानी समाजिक क्षेत्रका लागि हुन् ।

मोडलिङमा पनि ठगिएका घटनाहरू बेलाबेलामा आउने गरेका छन् नि ?

–मोडलिङमा ठगिएका घटना हरेक दिनजसो बाहिरिन्छ । तर, आफू सजग भएका कारण हालसम्म ठगिनबाट जोगिँदै आएको छु । समाजका हरेक क्षेत्र राम्रा र नराम्रा छन् । हामी काम गर्ने मान्छेले पनि सचेत भएर काम गर्नुपर्छ । हाम्रो कामबाट कसैले पनि गलत ढंगले फाइदा नलिनु भनेर ।

विवाहित महिलालाई मोडलिङमा अगाडि बढ्न गाह्रो छ भन्छन् नि हो ?

–मेरो विचारमा विवाहपछि मोडलिङमा अगाडि बढ्न झन् सहज हुन्छ । ‘विवाहपछि महिलाको जीवनको दोस्रो पाटो सुरु हुन्छ । यो जीवन नयाँ तरिकाले अगाडि बढाउन सकिन्छ । विवाहित महिला घरमै अल्झिनुभन्दा केही गरेर अगाडि बढ्न आफैँलाई सजिलो हुन्छ । मैले बुझेअनुसार विवाहित महिलाका लागि वृद्धि र सशक्तीकरणका लागि मोडेल एउटा अवसर हो ।

राजनीतिमा के कस्तो रुचि राख्नुहुन्छ ?

–मोडलिङमा अझै धेरै गर्न बाँकी छ । राजनीतिमा पनि आउँछु तर अहिले नै बेला भएको छैन । राजनीतिबाट राष्ट्र र जनताका लागि केही गर्न मन छ । अहिले नेताहरूले देश र जनताका लागि केही गरिरहेको जस्तो लागेको छैन । म केही फरक काम गरेर देखाउन चाहन्छु ।

राजनीति गर्ने त भन्नुभयो, कुन पार्टीमा लागेर राजनीति गर्ने सोच्नुभएको छ ?

–अहिले नेपालमा पार्टीको कमी छ र ? जुन पार्टीमा अवसर राम्रो देख्छु, त्यसमै लाग्छु ।

समाजमा महिला हिंसाका घटना बढ्दो छ, यस्ता घटनाहरू कसरी न्यूनीकरण गर्न सकिएला ?

–महिलामाथि हुने सबैखाले हिंसा न्यूनीकरण गर्न विशेषतः घर, परिवार र समुदायमा व्याप्त परम्परागत अन्धविश्वास जरैदेखि उन्मूलन गर्न आवश्यक छ । छोरीलाई भेदभाव नगरी राम्रो शिक्षा दिन सकियो भने भोलिका दिनमा हाम्रो समाजमा भइरहेको विभिन्न समाजिक घटना आफैँ न्यूनीकरण हुँदै जान्छन् र महिला हिंसा, हत्या, आत्महत्या, महिलामाथि शोषण, दाइजोप्रथाजस्ता घटना समाजबाट अन्त्य हुनेछ । यसका लागि समाजका सबै नागरिक सचेत हुनपर्छ ।

मधेसमा छोरीलाई पनि छोरालाईजस्तै शिक्षा दिनका लागि कसरी हौसला दिन सकिएला ?

–मधेसमा पहिलेदेखिकै समस्या भनेकै छोरीलाई छोरा समान नमान्नु हो । छोरीलाई पनि छोरासरह शिक्षा दिन अभिभावकको चेतनास्तर सुध्रिन जरुरी छ । विभिन्न प्रतियोगिता तथा कार्यक्रममा खुलारूपमा छोरीलाई पनि भाग लिन हौसला दिनुपर्छ । जसले गर्दा उनीहरू दक्ष हुन सक्छन् र कसैको भरमा बस्नुपर्दैन । पछिल्लो समय केही सुधार भएका छन् । यसलाई अझ व्यापक बनाएर शिक्षा सबैका लागि अनिवार्य बनाउन सकियो भने त्यो विभेद अन्त्य हुनेछ ।

मधेसमा विशेषगरी छोरीमाथि भेदभाव गरिन्छ, यसको अन्त्य गर्न कस्तो उपाय अपनाउनु पर्ला ?

–मधेसमा विशेषगरी छोरीमाथि गरिने भेदभाव सबैभन्दा पहिला आमाबुबाबाट अन्त्य हुन जरुरी देखिन्छ, त्यसपछि समाज आफैँ परिवर्तन हुँदै जान्छ । आज मलाई मेरो आमाबुबाले शिक्षा हासिल गर्न नदिएको भए म यहाँसम्म सायद आउने थिइनँ । त्यसैले सबैभन्दा पहिला घर भित्रबाट हुने भेदभाव अन्त्य हुनपर्छ । त्यसो भयो भने बल्ल समाजमा हुन भेदभावका विरुद्ध लड्न सकिन्छ ।

स्वास्थ्यको दृष्टिकोणले मधेसी महिलाहरू विभिन्न रोगका कारण अल्पायुमै मृत्यु हुने गरेको छ, यसबारे के भन्नुहुन्छ ?

–सबैलाई थाहा छ, महिला स्वास्थ्य गम्भीर विषय हो । तर, चेतना र आर्थिक अभावमा उनीहरू विभिन्न खाले रोग पाल्न बाध्य भएका छन् । यसलाई घर र घरबाहिरको सबै जिम्मेवार निकायले जवाफदेही भएर काम गर्नुपर्छ । यसका लागि चेतना, पहुँच र अवसर पनि आवश्यक छ ।

महिलाहरू लैंगिक हिंसा तथा दुव्र्यवहारबाट बढी नै पीडित छन्, यसबारे तपाईंको धारणा के छ ?

–अहिले पनि हाम्रो घर, परिवार, समाजमा घरेलु हिंसा, बोक्सीको आरोप, निरक्षरता, बेरोजगारी, श्रम शोषण र बालविवाहजस्ता समस्या कायमै छन् । महिला भएकै कारण भोग्नुपर्ने भेदभाव र शोषण ज्यूँका त्यूँ छन् । त्यसमा पनि मधेसी महिला अशिक्षा र चेतना अभावका कारण लैंगिक हिंसामा पर्ने गरेका छन् । तसर्थ महिलामाथिको विभेद अन्त्य गर्नु सरकारका साथै हामी सबैको दायित्व हो । यसमा पीडकलाई कडा कानुनी कारबाही गर्ने र पीडितलाई न्याय कानुन छ । पीडा सहनु हुँदैन भन्ने भावनाको चेतना बुद्धि गर्नुपर्छ । यी सबै समस्याको जड चेतना र शिक्षा हो यसमा राज्यको सबै निकायले ध्यान दिनपर्छ । त्यसो गर्न सकियो भने यो समस्या समाधान गर्न सकिन्छ ।

प्रतिक्रिया