काठमाडौँ । झापाको दमक नगरपालिकाका पूर्व नगर प्रमुख तथा नेकपा एकीकृत समाजवादीका केन्द्रीय सदस्य इन्द्रबहादुर बुढाथोकीको निधन भएको छ । दमक–५ निवासी बुढाथोकीको आज बिहान आफ्नै निवासमा ७२ वर्षकाे उमेरमा निधन भएको हो । उनी केही समययता मुटु र मिर्गौला रोगबाट पीडित थिए । विसं २०४९ काे स्थानीय तहको निर्वाचनमा बुढाथोकी एमालेबाट दमकाे मेयरमा निर्वाचित भएका थिए ।
पछिल्लो समय एमाले छाडेर उनी माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) को केन्द्रीय कमिटी सदस्यको जिम्मेवारीमा थिए । उनको आजै अन्त्येष्टि गरिने पारिवारिक स्रोतले जनाएको छ ।
पूर्वनगर प्रमुख बुढाथोकीको निधनप्रति दमक नगरपालिकाकी उपप्रमुख रेगना भट्टराई प्रसाईंले समवेदना व्यक्त गरेकी छन् । उनले स्वर्गीय बुढाथोकीले नगर विकास, सामाजिक सेवा र नेतृत्वदायी भूमिकामार्फत दमकको समृद्धिमा पुर्याएको योगदान सदैव स्मरणीय रहने पनि बताएकी छन् ।
प्रतिक्रिया