कोही किन कम्युनिस्ट बनोस् ?

हामी जो अहिलेसम्म पनि कम्युनिस्ट पार्टीको सदस्यको रूपमा रहिरहेका छौँ सबै जनाले कम्युनिस्ट सिद्धान्तलाई राम्रोसँग बुझेर, सचेत मनले नै कम्युनिस्ट पार्टीमा लागेका हौँ भनेर मान्नुपर्छ । कम्युनिस्ट पार्टीमा लाग्नु, कम्युनिस्ट सिद्धान्त मान्छु भन्नुको मतलब हो, म छुवाछूतलाई मान्दिनँ, म कसैमाथि अन्याय र थिचोमिचो गर्दिनँ र अरूले गरेको पनि सहन्न, हामीहरू सबै बराबर हौँ, यहाँ उचनीच वा ठुलो सानो भन्ने कोही छैन भनेर मान्छु भनेको हो । मान्छे मान्छेको बीचमा समानता हुनुपर्छ, कसैले कसैलाई थिचोमिचो गर्नुहुन्न, एकले अर्कोलाई सम्मान गर्नुपर्छ, धनी र गरिबको बीचमा विभेद रहनुहुन्न भनेर भनेको हो । आज मोहनबिक्रम सिंहलाई कम्युनिस्ट विचारधारा मान्ने जीवित र जेठो व्यक्ति मानेर हेर्ने हो भने करिब ९० वर्ष जति भएछ हामीहरू कम्युनिस्ट पार्टीमा लाग्ने क्रम सुरु भएको । यो समय थोरै होइन, धेरै लामो समय हो ।

अक्टोबर क्रान्ति सम्पन्न भएको लगभग ७० वर्षको अन्तरालमा सोभियत संघले आर्थिक, सामाजिक, सांस्कृतिक विकासमा जुन फड्को मारेको थियो त्यसलाई हेर्दा हामीले पनि २०४६ सालमा पञ्चायतलाई फालेर आजको दिनसम्म आइपुग्दा धेरै जनपक्षीय कामहरू गर्न सकिनेरहेछ भनेर मान्न सकिन्छ । यहाँ हामीले भनेर सरकारमा गएका कम्युनिस्ट पार्टीहरूलाई भन्न खोजिएको हो ।

चेतनाको हिसाबले हामीले धेरै ठुलो फड्को मारेको कुरामा दुईमत छैन । तर यसमा हाम्रो प्रयासले भन्दा पनि उदारीकरणको प्रभावले भूमिका खेलेको हो । हामीले को, कसरी र किन कम्युनिस्ट पार्टीमा लागेका रहेछन् भनेर केही चर्चासमेत गरेका थियौँ । १ जना महिलाले आफू कम्युनिस्ट विचारधारको समर्थन गर्नुको कारण बताउनुभयो, जो यस्तो थियो, उहाँको गाउँमा एकजना हुनेखाने, गाउँमा हैकम भएको, पढेलेखेकी महिला कांग्रेसी नेतृ हुनुहुँदो रहेछ । ती नेतृले गाउँका महिलाहरूलाई, गरिब र खास गरेर दलित भनिने मान्छेहरूलाई मान्छे नै नगन्ने । हुनेखाने मान्छेहरूले अरूलाई गर्ने व्यवहार ठ्याक्कै यस्तै नै हुने गर्छ । ती कांग्रेसी नेतृले आफू र अन्यलाई पनि गरेको अपमानपूर्ण व्यवहारको प्रतिकार गर्न उहाँलगायत उहाँका अन्य साथीहरूसमेत कम्युनिस्ट पार्टीमा लाग्नुभएको रहेछ । तर अहिले उहाँ कम्युनिस्ट पार्टीलाई समर्थन गर्नुहुन्न । कांग्रेस र कम्युनिस्टको बीचमा कुनै फरक नरहेको भन्ने उहाँको ठम्याइ छ ।

भेटैपिच्छेको कुराकानीमा कम्युनिस्ट पार्टीको सरकारले गरेका घुसखोरी, भ्रष्टाचार, नियुक्ति, सरुवा र बढुवामा भएको भनिएका चलखेलका कुराहरू उठाएर बस्न खान दिनुहुन्न । होइन भनेर जबाफ फर्काउनसक्ने नैतिक बल हामीसँग छैन । लजाउनुबाहेक अरू के गर्ने, मर्न भएन ।

हिजो डाक्टर केशरजंग रायमाझीलाई के कारणले कम्युनिस्ट पार्टीको महासचिव बनाइएको रहेछ भन्ने कुरा पनि रोचक नै छ । पुष्पलालजस्ता धुरन्धर मान्छेलाई महासचिव नबनाएर कमिटीमा एक्लो रहेका रायमाझीलाई कम्युनिस्ट पार्टीको महासचिव बनाउनुको कारण त खासमा पैसा रहेछ । त्यो बेला पार्टी चलाउन आजकोजस्तो सजिलो अवस्था थिएन । उद्योगपतिहरूले पार्टी सञ्चालन गर्न, पार्टी अफिस बनाउन पैसा, जग्गाजमिन दिने अवस्था त्यो बेला थिएन । केशरजंग रायमाझी हुनेखाने धनी मान्छे थिए । यसले आफ्नै खर्चले पनि पार्टी चलाउन सक्छ भन्ने मानेर पार्टीलाई बचाउने उद्देश्य राखेर उनलाई कम्युनिस्ट पार्टीको महासचिव बनाइएको रहेछ खासमा । यो वास्तविकता कुरा पुराना कम्युनिस्ट कार्यकर्ताहरूले बताउनुहुन्छ । हो वा होइन आफ्नो ठाउँमा छ ।

आजका एमाले, माओवादी, एसका बरिष्ठ नेतृत्ववर्ग के साँच्चै देशमा उहिले त जनवादी क्रान्ति गरेर साम्यवाद ल्याउन र अहिलेको अवस्थामा समाजवाद ल्याउन भनेर लागेका, लागिरहेका हुन् अथवा छन् त ? यस विषयमा जानकारहरूले चिरफार गरेर जनतालाई बताउनु पर्दछ ।

एमाले अध्यक्ष केपी ओलीबाट सुरु गरौँ । उहाँले आफूलाई सर्वहारा वर्गबाट आएको एक कट्टर कम्युनिस्ट नेता भन्न मन पराउनुहुन्छ । उहाँको विगतको आर्थिक अवस्थालाई हेर्दा उहाँलाई वर्गबाट उठेको नेता भनेर मान्नैपर्छ । देशमा बहुदलीय व्यवस्थाको पुनस्र्थापना भएपछिको यो अवधिभित्र उहाँ ४ पटक देशको प्रधानमन्त्री नै बनिसक्नुभएको छ । आजको बहालवाला प्रधानमन्त्री केपी शर्मा ओली हो । मन्त्री पनि धेरैपटक बन्नु भएकै हो । तर उहाँले आफू आएको वर्गलाई माथि उठाउन, उनीहरूको जीवनमा परिवर्तन ल्याउन, गरिबी हटाउन, न्याय स्थापना गर्न, समानता ल्याउन र देशलाई आर्थिक सामाजिक तथा राजनीतिक हिसाबबाट समाजवादको बाटोमा लैजान के कस्ता अग्रगामी, जनमुखी र सुधारवादी कामहरू असल नियतकासाथ गरिरहनुभएको छ त ? भनेर हेर्दा उहाँ त्यसरी हिँडिरहनुभएको छैन भनेर भन्न सकिन्छ । आफूले कुन अवस्थामा रहेर प्रारम्भिक शिक्षा हासिल गरेको ? अन्य गरिब मजदुर र किसान परिवारका सदस्यहरूलाई शिक्षा प्राप्त गर्न के कति कठिनाइहरू छन् भन्ने कुराको ज्ञान वर्गबाट उठेको व्यक्तिलाई जत्तिको अरू कसलाई हुनसक्ला ? तर वैचारिक कसिमा राखेर मूल्यांकन गर्दा शिक्षाप्रतिको उहाँको दृष्टिकोण नितान्त गरिबविरोधी रहेको छ । स्वास्थ्य र पूर्वाधार विकासप्रतिको उहाँको दृष्टिकोण पनि शिक्षाको जस्तै गरिबविरोधी नै रहेको देखिन्छ ।

निजी विद्यालयका सञ्चालकहरलाई, प्राइभेट अस्पतालका सञ्चालकहरूलाई थप निजी स्कुल र अस्पतालहरू खोल्न उक्साउने काम उहाँबाट निरन्तर भइरहेको देखिन्छ । सरकारी स्कुल, कलेज तथा युनिभर्सिटीहरूको शैक्षिक स्तरोन्नति गर्नेतिर, सरकारी अस्पतालहरूको पूर्वाधारहरू खडा गर्नेतर्फ उहाँमा कुनै रुचि देखिँदैन । पूर्वाधार विकासको नाममा उहाँले अघि सार्नुभएको ‘भ्यु टावर ढाँचा’ले त पूर्वाधार विकासको धज्जी नै उडाउने काम गरिरहेको छ । अत्यन्तै गरिब परिवारबाट आएको नेताको नाताले पनि उहाँमा वर्गपक्षधरता हुनुपर्ने हो तर त्यो देखिन्न । प्रचण्ड, माधव, झलनाथहरूको पनि चरित्र यही नै हो । उहाँहरूले पनि वर्गीय दृष्टिकोणबाट मजदुर, किसान र गरिबको हितमा, उत्थान र विकास गर्ने हिसाबले एउटा माखो मारेको देखिन्न । परिवारको वर्गउत्थान नै उहाँहरूको पनि वर्गीय चिन्ता हो । जनयुद्ध लडेकाहरू अरबका खाडीमा संघर्ष गरिरहेका छन् । अनि नेताका परिवारका सबै सदस्यहरू राजकीय पदमा आसिन छन् । एकजना अध्यक्षले ‘भाइलाई नियुक्त नगरेर घरमा झगडा मच्चाउने त मैले ?’ भनेर भनेको समेत भनेको सुनियो ।

हाम्रा कम्युनिस्ट नेताहरूमा अस्वभाविक किसिमका अनेक प्रकारका कुण्ठाहरू पनि रहेका छन् । कुनै नेतामा कलाकारहरूलाई आफ्नो निवासमै बोलाएर आफूलाई मनपरेका गीत संगीतहरू सुन्ने, नाचगान गर्ने, बाजाहरू बजाउने, टिकटकर र युट्युबरहरूसित समय काट्ने सोख देखिन्छ । कोही महँगो होटल÷रिसोर्टतिर गएर सोमरस पान गर्ने, रमाइलो गरेर रात काट्ने सोख राख्छन् । निरोको बाँसुरीभन्दा यो चर्को सुनिन्छ । लगभग सबै नेताहरूमा आलिशान बंगलामा बस्ने रुचि रहेको पाइन्छ । सबैका घरका तस्बिरहरू सार्वजनिक नै छन् । कांग्रेसी नेताहरूमा त्यसप्रकारको कुनै रुचि छैन, सोख छैन, बंगलामा बस्दैनन्, सादगी जीवन चरित्र छ भनेर भन्न खोजिएको होइन । हाम्रोतिर पटकपटक नचाहिने काम गरिरहनेलाई जनाउन प¥यो भने ‘ए ! त्यो त जातै जम्दार हो’ भनेर भन्ने चलन छ, कांग्रेस जातै जम्दार हो, उनीहरू त बस्ने नै भए । ब्रान्डेड कम्पनीका जुत्ता, घडी, चस्मा, पेन, मफलर, स्वेटर पहिरनु कम्युनिस्ट नेताहरूको ‘हवी’ जस्तै देखिन्छ । सम्पत्तिप्रतिको लोभको त कुरा नै नगरौँ, उहाँहरूका अगाडि महादेवका त्रिनेत्र फेल हुन्छन् । देशका विभिन्न ठाउँहरू जग्गाजमिन र जायजेथाहरू जोडेका छन् । सर्वहारावर्गीय नेताका यसखाले शोख, रुची र यो विधि श्रीसम्पत्ति जोड्ने लालसा कम्युनिस्ट चरित्रसित मेल खान्न । के गर्ने यो कुरा जनतासित भने मेल खानुपर्छ । बेलाबखत ‘रक्सी खान पाइन्न’ भनेर मञ्चबाट कार्यकर्तालाई धम्क्याउन पनि पछि पर्दैनन् । कि पार्टीको काम गर्नु, कि रमाइलो मात्रै गर्नु भनेर घोचपेच पनि गरिरहेका सुनिन्छन् ।

विभिन्न किसिमका तस्करी, भ्रष्टाचार, घुसखोरीमा जस्ता काण्डहरूमा पनि कम्युनिस्ट पार्टीका नेताहरूको नाम अगाडि आएको छ । कति त जेलमा पनि पुगेका छन् । कतिपय नेताका परिवारका सदस्यहरूसमेत छानबिनको दायरामा वा निगरानीमा परेका छन् । यस कुराको सार, सुकुम्बासी भएको नाताले राज्यबाट जग्गा लिएको एउटा सर्वहारा वर्गको नेता आज यो देशको एउटा असाध्यै धनी मान्छेमा गनिन पुगेको कुराले को के हो वा होइन भन्ने कुरालाई देखाउँछ ।

यस्सो गम्दा, पुराना कुराहरूको सम्झना गर्दा, र आफूले खोजेको, परिकल्पना गरेको, बनेको देख्न चाहेको समाज, देश कस्तो थियो भनेर मनन गर्दा उत्साह होइन कि निराशा मात्रै हात लाग्छ । गरिबी घटेको छैन बरु बढिरहेको छ । रोजगारी बढेको छैन बरु घटिरहेको छ । हुन त बाटो लामो बनेको छ, सबैले जुत्ता लाउन सकेका छन्, २ छाक भात खानसक्ने बनेका छन् भनेर तर्क गर्ने गरेको देखिन्छ । आर्थिक वृद्धि स्टेग्नेसन (गतिहीन)मा छ । देश कसरी चलिरहेको छ भनेर बुझ्ने आँखिझ्याल हो गभर्नर नियुक्ति प्रकरण । देउवा र ओलीले थोपरेका जस्तै झोलेहरूलाई पनि हामीले गभर्नर, कुलपति, उपकुलपति, रजिस्ट्रार, राजदूत र सभासद स्वीकार्नुपर्ने विडम्बनापूर्ण अवस्थामा हामी छौँ । गाली नै गर्नु त असभ्यता हुनेछ, ओली र प्रचण्डले जसरी, योगेश र सूर्य थापाले जसरी, रुघुजी पन्तले जसरी गाली नै गर्न त खासमा हुँदैन पनि तर ‘हु द हेल आर दे’ के ? । तर यस्ता कुराहरूले समाजलाई कुनै असर पारेको देखिन्न । मजदुरहरू शान्त छन्, किसान शान्त छन् । विद्यार्थी शान्त छन् । व्यापारी, उद्योगी, समाजसेवी, महिला, पुरुष र समग्रमा गरिब, निमुखा र न्यायप्रेमीहरू सबै नै शान्त छन् र देशका आमनागरिक नै शान्त छन् । चोरलाई लिस्नोजस्तो भनेजस्तो पो छ त ।

मान्छेको सम्झना पदमा पुग्दैमा हुँदैन रहेछ भन्ने कुरा एउटा, बिन्दा पाण्डेको भुइँमान्छे पढ्दा थाहा हुन्छ । वर्गबाट उठेको, १४ वर्षको कठोर कारबासको सजाय भोगेको, नेकपा(एमाले)को दोस्रोपटकको अध्यक्ष र चौथो पटकसहित देशको बहालवाला प्रधानमन्त्रीको झापा विद्रोहदेखि आजको मितिसम्म आइपुग्दाको संघर्षको गाथा, आन्दोलनमा उहाँको योगदान आदिको बारेमा कसैले पनि दुई शब्द खर्चेको पढ्न पाइन्न । अर्को, उनी पनि हामीसँग जेलमै थिए र भन्नेसम्मको अवस्था रहेछ । एउटै समय उही जेलभित्र रहेको ओलीलाई रामशरण महतले हैन केपी भन्ने मान्छे पनि हामीसँगै जेलमा थियोे र भनी आरकेसँग सोधेको प्रश्नबाट थाहा हुन्छ । सपथग्रहणमा सोफामा बसेर होइन, जनताको झुपडीमा गएर गुन्द्रीमा बसेर उनीहरूको कुरा सुन्ने गरेमा मात्र अरूको स्मृतिमा रहन सकिन्छ, इतिहासले पनि संझना गर्नेछ अन्यथा रामशरण महतले जस्तै प्रश्न अरूले पनि गरिरहने छन् ।

जान्नेलाई श्रीखण्ड, नजान्नेलाई खुर्पाको बिँड !

प्रतिक्रिया