खस सभ्यता, राजकुमार अक्षय र विनायक पञ्चदेवल

नेपाली भाषा, कला र संस्कृतिको उद्गम स्थल भए पनि खस सभ्यताले इतिहासमा यथोचित स्थान पाएन । भनिन्छ, इतिहास जित्नेहरूको नै लेखिन्छ, शक्तिको आधारमा बनेको सत्ताको इतिहास शासकहरूको पटाङ्गनीबाट लेख्ने प्रचलन छ ।

खडकबहादुर बिष्ट

‘ॐ स्वस्ती अक्षय मल्लदेव परिवार,

चिर जयतु आत्मनिमितार्थे एकोतार ।।

सत्पुरुष निमितार्थे जै राजप्रसाद करायो,

शाके १२०२ सूत्रधार नागदेव नाम कमायो ।’

अछाम जिल्लाको विनायकस्थित पञ्चदेवलमा कुँदिएको माथिको शिलालेख ७४५ वर्ष पुरानो हो । कर्णाली प्रदेशका राजकुमार अक्षय मल्लले विक्रम सम्वत् १३३७ मा यसको निर्माण गरेका हुन् । कर्णाली प्रदेशका पञ्चदेवलहरूमध्ये यो सबैभन्दा पुरानो हो । ऐतिहासिक पुरातत्विक र वास्तुकलाको दृष्टिले यसको असाधारण महत्व छ ।

खस साम्राज्यका भावी उत्तराधिकारीको रूपमा रहेका अक्षय मल्लको अछाम विनायक बसाईंमा राजकुमारको हैसियतले कला संस्कृति र विकास निर्माणमा पुर्याएको अतुलनीय योगदान र कर्णाली सभ्यताको उद्भव वैभव आरोह अवरोह र पतनबारे विवेचना आज पनि सान्दर्भिक छ ।

अछाम जिल्लाको पूर्वी भेग र कर्णाली नदीको पश्चिम किनारामा अवस्थित विनायक कर्णाली प्रदेश प्रवेशको मूलद्वार नै थियो । भारतीय महाद्वीपमा भइरहेको मुसलमान शासकहरूको आक्रमणबाट धर्म र आत्मरक्षाका लागि ठुलो संख्यामा मानिसहरू दक्षिण र पश्चिमी भेगबाट अछाम हुँदै कर्णाली प्रदेशतिर आप्रवासन भइरहेका थिए । सामरिक दृष्टिकोणले महत्वपूर्ण रहेको यो अछाम क्षेत्रको जिम्मेवारी उनले तत्कालीन राजा बुवा जितारी मल्लबाट प्राप्त गरेका थिए ।

राजकुमार अक्षय मल्लको अछाम विनायक मुकाममा मुख्य ऐतिहासिक कृति पञ्चदेवलको निर्माण हो । यसका साथै यहाँ गणपति विनायकको मन्दिरसँगै कुच्चीमा कुच बिहारको निर्माण गरेकाले यी ठाउँहरूका नाम विनायक र कुच्ची रहन गएका हुन् । अछाम जिल्लाभर गाउँ बस्तीमा छरिएर रहेका उन्नत स्तरको सीप र शिल्प प्रयोग भएका भग्न भइसकेका र भग्नावस्थामा रहेका उच्चकलाका ऐतिहासिक सांस्कृतिक र पुरातात्विक धरोहरहरू जस्तै मठ मन्दिर, देवल, विहार, नाउला, मुग्रा, धर्मशाला, शिलालेख, वीरखम्भ, सीमास्तम्भ तथा ताम्रपत्रहरू अक्षय मल्लको अछाम बसाईंको समयमा भएका हुन् ।

युद्धकलालाई संस्कृतिसँग जोड्दै दमाहाको लयसँगै ढाल र तरबार लिएर खेलिने ‘सरौँ’ र ‘भूओ’को निरन्तरताका लागि माडु र पटकानीको निर्माण गरिएका थिए । यो आज पनि खसान भेगमा पर्वको रूपमा निरन्तरता पाइरहेको छ । कपासलाई चर्खाबाट धागो बनाई सूतीका कपडामा आत्मनिर्भर भएको त्यो समय जडान भेगबाट भोटको नुन र हिमाली जडीबुटी भेडा र च्याङ्ग्राको लस्करले अछामबाट खाद्यान्नसँग साट्ने जडान र अछामको अन्योन्याश्रित सम्बन्ध स्थापित भएको पाइन्छ ।

अछाम विनायक क्षेत्रमा रहेका पञ्चदेवल, ओखल दुई देवल र छरिएर रहेका उन्नत स्तरका प्रस्तर कलाका साथै मस्टामाण्डु डुडे देउलमाथिको मुहानबाट आगोमा पकाएर बनाइएका माटोका सानासाना पाइप जोडेर जमिनमुनिबाट पानी ल्याउने वैज्ञानिक व्यवस्था गरेको प्रमाण त्यहाँ बारी जोत्दा र बाटो खन्दा भेटिएका माटोका नल्कीहरूले पुष्टि गर्दछ । सिंजा र दुल्लुले नगरको रूप ग्रहण गरेको त्यो बेला राजकुमार अक्षय मल्लले विनायकलाई महत्वकांक्षी योजनाका साथ अघि बढाएको पाइन्छ । उनका महान कार्यले गर्दा यो ठाउँको नाम अक्षय मल्लभूमिबाट अक्षयम हुँदै अछाम नामकरण रहन गएको जनविश्वास छ ।

सभ्यताको मध्यभागमा उदाएका कला संस्कृति र विकास निर्माणका पारखी प्रजावत्सल धर्मात्मा राजकुमार अक्षय मल्ल अछाम विनायकको बसाईंपछि परिदृश्यबाट अलप हुन्छन् । उनको अनायस अलपताले अछाम भेगलाई मात्र नभएर सिंगो कर्णाली सभ्यतालाई नै दूरगामी असर पुर्याएको आभास हुन्छ । के भो ? कहाँ गए ? अनेक आशंका उब्जन्छन् । उनको असामयिक निधन भयो अथवा दिक्क भएर शान्तमय जीवनयापनका लागि बौद्ध भिक्षु भएर तिब्बततिर लागे वा बराम लिएर कटकको लागि जाँदा रणमा परे यथार्थ जानकारी इतिहासमा पाइँदैन ।

पराक्रमी राजा जितारी मल्लको निधनपश्चात खस साम्राज्यको रोल क्रममा केही असहज परिस्थितिको सिर्जना भयो । अक्षय मल्ल परिदृश्यबाट बाहिरिएका र उनका भाइ आदित्य मल्ल भोट शाक्यमठमा बौद्धदर्शन अध्ययन गरिरहेकाले जितारी मल्लका भाइ आनन्द मल्लका छोरा रिपु मल्ल खस साम्राज्यको राजा हुन्छन् । निकै महत्वकांक्षी राजा रिपु मल्ल छोरा संग्राम मल्लसहित लुम्बिनी कपिलवस्तुका साथै नेपाल उपत्यकाको धार्मिक राजनीतिक र सद्भावना भ्रमण गर्दछन् । स्वयम्भूनाथ र पशुपतिनाथलगायत शक्तिपीठको पूजागरी नेपालमण्डलका जनताहरूलाई भोज खुवाएर सिंजा फर्कन्छन् । यसको केही समयपछि भोटबाट बौद्ध दर्शन अध्ययन गरेर फर्किएका आदित्य मल्लको सत्तारोहण र रिपु मल्लको सत्ता बहिर्गमन हुन्छ । सत्तामा पकड जमाइसकेका रिपु मल्लको बहिर्गमनले यी शक्तिशाली २ राजाहरूबीच तुस पलाएको देखिन्छ । यसपछि रिपु मल्लको बारेमा थप जानकारी पाइँदैन ।

आदित्य मल्लका छोरा कल्याण मल्लको राजा नहुँदै मृत्यु हुनु र नाती प्रताप मल्लले राजा हुनुभन्दा बौद्ध भिक्षु हुन नै रुचाउनुले आदित्य मल्लले छोरी शकुन मालाका पति पालवंशी पूण्य मल्ललाई जात र गोत्र दिएर खस साम्राज्यमा भित्र्याए । पूण्य मल्लको विद्वता र क्षमताले यो साम्राज्यको विकास र विस्तारमा उल्लेखनीय प्रगति भयो ।

उनका छोरा पृथ्वी मल्लको शासनकालको उत्तराद्र्धमा विक्रम सम्वत १४०७ मा पश्चिमी तिब्बत स्वतन्त्र नै भयो र विक्रम सम्बत १४०९ को निरयदेवको डोटी विद्रोहले यो साम्राज्यलाई विभाजन मात्र गरेन अपितु समानान्तर डोटेली सभ्यताको प्रादुर्भाव नै भयो ।

पृथ्वी मल्लपछि राजा भएका सूर्य मल्लले डोटी विद्रोह दबाउन अछाम डोटी सीमा नजिक श्रीकोटमा दरबार बनाएर शासन गरेका थिए । यहाँस्थित कृतिखाममा कृति स्तम्भ बनाएर आफ्ना कृतिहरूको उल्लेख गरेका छन् । विक्रम सम्वत १४२४ मा स्थानीय जुठा जोशीलाई भूमिदान गर्दा दिएको ताम्र पत्रले नै उनलाई कर्णाली प्रदेशमा राजा भएको प्रमाणित गर्दछ । सूर्यकोटबाट अपभंश भएर श्रीकोट भएको यो ठाउँ प्राचीन ऐतिहासिक धरोहर हो । ४ वर्ष पहिले श्रीकोट क्याम्पसको भवन निर्माणको लागि जमिन उत्खनन गर्दा मजदुर र स्थानीयले १ किलो सुनका गहना र टुक्राहरू ७ किलो चाँदी र प्राचीन मुद्राहरू फेला पारेका थिए । मध्यकालीन महत्वका यी पुरातात्विक बहुमूल्य वस्तुहरू जिल्ला प्रशासन स्थानीय साँफेबगर नगरपालिका र पुरातात्विक विभागको रोहवरमा राष्ट्रिय संग्रहालयमा राखिएका छन् ।

जाल्पा देवीको प्राचीन शक्तिपीठ रहेको यो ठाउँमा महिस्मर्दिनी भगवतीको मूर्तिलाई स्थानीय सामन्त मदनसेनले जीर्णोद्वार गरेको शिलालेख छ । प्राचीनकालमा मठ मन्दिर, देवल र किल्लामा प्रयोग भएका उन्नत स्तरका कलात्मक प्रस्तरकला र आमलक ठड्याउन बनाएको आकर्षक चक्रशिला यत्रतत्र छरिएका छन् । यी ऐतिहासिक पुरातात्विक सामग्रीहरूले यसको महत्व उजागर गर्दछ । यसको संरक्षण र सम्बद्र्धनमा सरकार र पुरातात्विक विभागको ध्यान जानु जरूरी छ ।

खस सभ्यताका अन्तिम राजा अभय मल्ल राजकुमार हुँदै उधुम्बरी विद्रोह दबाउन सफल एक कुशल घोडचडी र योद्धा थिए । सर्वाधिक आकर्षक बिरूदावली ग्रहण गरेका राजा अभय मल्लको जीवनको अन्तिम समय गुमनाम भएर अस्ताए । बौद्ध दर्शनको मूल्य–मान्यतामा अघि बढेको खस साम्राज्यमा यतिबेला हिन्दू धर्मको पूर्ण प्रभाव परिसकेको थियो । यशोवर्माले बनाएको पृष्ठभूमिलाई उपयोग गर्दै बर्मा परिवार शक्तिशाली भइसकेको थियो । मलय बर्माले अभय मल्लको अधिकांश भू–भागमा कब्जा गरी महाराजधिराजको स्थानमा पुगिसकेका थिए । उनीपछि उनका महत्वाकांक्षी छोराहरू र ज्वाइँ प्रभावशाली सामन्तहरूमा राज्य विभाजन हुँदा २२ र २४ राज्यको स्थापना भएको थियो । यसरी पूर्व मध्यकालको विराट खस सभ्यताको विघटन भएको थियो ।

नागराजद्वारा स्थापना भएको खस सभ्यता राजा अशोक चल्लको शासनकालसम्म आइपुग्दा विराट स्वरूप ग्रहण गरिसकेको थियो । उनको शक्तिशाली सर्वगामिनी बाहिनीले कर्णाली प्रदेश, गण्डकी प्रदेश, कैलाश मानसरोवरसहितको पश्चिमी तिब्बत कुमाउ, गढवाल र लद्दाखसम्म आधिपत्य कायम गरिसकेको थियो । कुमाउँ गढवाल, दुल्लु, बोधगयाजस्ता बृहत्तर ठाउँबाट अशोक चल्लको सम्मानमा भेटिएका अभिलेखहरूले पुष्टि गर्दछ । जितारी मल्लदेखि पूण्य मल्लको पालासम्म ७ पटक उपत्यकामाथि चढाइ गरी विजय प्राप्त गरे पनि स्थायी अधिकार भने गरेन । कर उठाएर सिंजा फर्कनुको मुख्य कारण पश्चिमी तिब्बतमाथि शासनको पकड बलियो बनाउनु नै थियो । खसहरूले यारी भन्ज्याङ, उरै भन्ज्याङ र टिंकर भन्ज्याङका अप्ठ्यारा हिमघाटीहरू छिचोलेर पश्चिमी तिब्बतमाथि अधिकार गरेका थिए । त्यतिबेला विभिन्न ठाउँबाट कर र सिर्तो प्रशस्त उठ्थ्यो । भारत र रेशम मार्गको सीमा व्यापार हेर्नका लागि मन्त्रीमण्डलमा उच्चस्तरको दरबन्दी कायम गरी विश्वासपात्रको नियुक्ति गरिएको उदाहरण पृथ्वी मल्लका चर्चित मन्त्री जक्ति सिंहबारे उल्लेख भएको पाइन्छ । त्यो युग कर्णाली सभ्यताका लागि स्वर्ण युग नै थियो । सिंजा, दुल्लु, सुर्खेत, विनायक, श्रीकोट, अजमेरकोट, उकु र कालिकोटको मान्म खाँडाचक्र गाउँमा निर्माण गरिएका ऐतिहासिक धरोहरले राज्य विस्तार मात्र होइन कला संस्कृति र निर्माणको क्षेत्रमा पनि प्रशस्त उन्नति भएको थियो । प्रान्तीय संघीयताको अभ्यास भएको ऐतिहासिक कर्णाली सभ्यताको अवहेलना हुने गरी बाँके र बर्दियालाई कर्णालीबाट अलग राख्नु संघीयताकै मर्म विरुद्ध हो ।

एक से एक पराक्रमी राजाहरूले शासन गरेको भौगोलिक विकटतालाई पनि अवसरमा रूपान्तरण गर्ने खस सभ्यताले राष्ट्रको स्वरूप ग्रहण गरेको भए के हुन्थ्यो होला, कल्पना मात्र गर्न सकिन्छ । काली र कर्णाली नदीद्वारा समनलकृत सुदूर र कर्णाली निःसन्देह अपार जलस्रोत र प्राकृतिक स्रोत साधनको उच्चतम सदुपयोग गरी सम्पन्न बनिसक्थ्यो होला ।

नेपाली भाषा, कला र संस्कृतिको उद्गमस्थल भए पनि खस सभ्यताले इतिहासमा यथोचित स्थान पाएन । भनिन्छ, इतिहास जित्नेहरूको नै लेखिन्छ, शक्तिको आधारमा बनेको सत्ताको इतिहास शासकहरूको पटांगनीबाट लेख्ने प्रचलन छ । चेतनाको स्तर कमजोर भएको समाजमा इतिहास लोप हुने सम्भावना हुन्छ । कतिपय पुरातात्विक र ऐतिहासिक सामग्रीहरू चेतनाको अभावले घरका पर्खाल र ओखलमा प्रयोग भए । खस सभ्यतामा निर्माण भएका प्राचीन धरोहरहरूलाई ५ पाण्डवद्वारा निर्माण गरिएको जनविश्वास छ । खस सभ्यताका मल्ल शासकहरू नै काठमाडौँ उपत्यकाका मल्ल शासक भएको कतिपयको बुझाइ छ ।

स–साना राज्यमा विभाजित सुदूर र कर्णाली गरिबी अन्धविश्वास र छुवाछुतमा जकडिँदै गयो । यो सभ्यता विघटन भएको ४०० वर्षपछि पृथ्वीनारायण शाहले सुरु गरेको नेपाल एकीकरणले पनि प्रताडित नै बनायो । त्यतिबेला जुम्ला, अछाम र डोटीको सशक्त प्रतिरोध र विद्रोहले नेपाल दरबारको कोपभाजनमा पर्र्याे । राणाशासकहरूले झनै शोषण र दमन गरिरहे । देशमा भएका पछिल्ला परिवर्तनहरूले पनि यसलाई आत्मसात गर्न सकेनन् । सिंहदरबारले सुदूरलाई टाढा र कर्णालीलाई विकट भएको बहाना बनायो ।

कर्णाली एउटा सभ्यता हो । यसले आफ्नो काखमा नेपाली भाषा, कला र संस्कृति जन्मायो । मानसरोवरको दक्षिणपट्टि माप्चा खम्बाब पहाडबाट निस्केर तिब्बत नेपाल र भारतको गंगा नदीसम्म पुग्दा ३ वटा सभ्यता आत्मसात गरेको छ । यो नेपालको अनेकौँ सम्भावना र प्रचुर क्षमता भएको नदी हो । यो शान्त र सौम्य हुनाका साथै तटीय इलाकालाई क्षति र हानि गरेको छैन ।

भारतीय महाद्वीपमा बग्ने नदीहरूको बारेमा अनेकौँ धार्मिक मिथ बनाइएका छन् । तर, कर्णालीको हकमा भने यसलाई हुँदै नभएको राक्षस तालसँग साइनो जोडी यसको पवित्रतामाथि नै शंका गर्ने काम भयो । यसको पवित्र जललाई यज्ञ पूजा अर्चना र शक्तिपीठमा नचढ्ने अन्धविश्वास प्रचलनमा आयो ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालको संसद्मा सम्बोधन गर्दै पानी र जवानी पहाडमा टिक्न सक्दैन भनेका थिए । यो कर्णाली नदीप्रति परिलक्षित भएको आभास हुन्छ । हुन पनि अपर कर्णाली र पश्चिम सेती जलविद्युत् आयोजनाबारे चर्चा चलेको दशकौँ भए पनि यसको निर्माण सुरू र सम्पन्न भएको हेर्न कति पुस्ताले कुर्नुपर्ने हो निश्चित छैन । हिजोका सुन्दर गाउँबस्तीहरू उजाड हुँदै छन् । कर्णालीसँगै यहाँको जवानी बग्दै भारतका विभिन्न सहरहरूमा जीविकोपार्जनका लागि गइरहेका छन् । रूपडिया, गौरीफन्टा र गड्डाचौकीको सिमानामा देखिने निर्दोष अनुहारहरूको भिडले पुष्टि गर्दछ । व्यवस्था परिवर्तनसँगै अवस्था पनि परिवर्तन हुनुपथ्र्यो । त्यसो हुन सकेन । पछाडि परेको वा पारिएको क्षेत्रलाई मूलधारमा ल्याउनु राज्यको प्रमुख दायित्व हो । सरकार संवेदनशील भएर शासक होइन सेवकको रूपमा जिम्मेवारी बहन गर्नु आजको प्रमुख आवश्यकता हो ।

सुदूर र कर्णालीको विकासका लागि राज्यले मुख्य २ वटा विषयलाई उच्च प्राथमिकताका साथ ध्यान दिनु आवश्यक छ । देशले ऊर्जा समस्या खेपिरहेको बेला युगाँैदेखि खेर गइरहेको सुदूर र कर्णालीको अपार जलसम्पदाको सदुपयोग गर्न ढिलो गर्नुहुँदैन । यसले यो क्षेत्र मात्र नभएर राष्ट्रको ऊर्जा विकासमा महत्वपूर्ण योगदान दिन सक्छ ।

इतिहासमा कर्णाली सम्पन्न हुनुको कारण यसका पारम्परिक उत्तरी सीमानाकाहरू हुन् । कर्णालीको सम्पन्नताले तिब्बतलाई समेत आकर्षित गथ्र्यो । यारी भञ्ज्याङ उरै भञ्ज्याङ र टिंकर भञ्ज्याङसम्म सडक सञ्जालको पहुँच पुर्याउनु आवश्यक छ ।

प्रतिक्रिया