काठमाडौँ । नेपाली महिला राष्ट्रिय फुटबल टोली एसियन कप छनोटको तयारीमा छ । उज्बेकिस्तानमा हुने एएफसी महिला एसियन कप छनोटअन्तर्गत आइतबार नेपालले लाओससँग खेल्ने छ । त्यसपछि २ जुलाईमा श्रीलंका र ५ जुलाईमा घरेलु टोली उज्बेकिस्तानसँग भिड्ने छ । समूहको शीर्ष स्थान हात पार्ने टोली अर्को वर्ष अस्ट्रेलियामा हुने महिला एसियन कपमा छनोट हुनेछ । नेपालले यसअघि सन् १९८६, १९८९ र १९९९ मा गरी ३ पटक एसियन कप खेलिसकेको छ ।
कप्तान अञ्जिला तुम्बापो सुब्बा यो छनोटलाई भ्रमण मात्रै होइन मिसन नै मान्छिन् । उनी भन्छिन्, ‘अबको ४ वर्षमा के हुन्छ थाहा छैन ।, अहिलेको यो मौका खेर फाल्न हुँदैन ।’ एसियाली फुटबल महासंघ (एएफसी)ले गरेको समूह विभाजनमा हेर्दा नेपाललाई इतिहास कोर्ने मौका खुला छ ।
नेपाल रहेको समूह ‘एफ’ मा घरेलु टोली उज्बेकिस्तानसँगै श्रीलंका र लाओस छन् । फुटबलको सर्वोच्च निकाय फिफाको वरीयतामा हेर्ने हो भने ५५औँ स्थानमा रहेको उज्बेकिस्तान नेपालको सबैभन्दा कठिन प्रतिद्वन्द्वी हुनेछ । अन्य टोलीको विगत हेर्दा नेपाल अल्मलिनुपर्ने अवस्था छैन । घरेलु टोलीले इतिहास गर्विलो छ । उज्बेकिस्तानले सन् १९९५, १९९७, १९९९, २००१ र २००३ मा गरी ५ पटक एसियन कप खेलिसकेको छ ।
सन् १९९९ को एसिया कपमा नेपाल र उज्बेकिस्तान आमुन्नेसामुन्ने नै भएका थिए । फिलिपिन्समा भएको त्यो खेलमा नेपालले उज्बेकिस्तानलाई ६–१ को नतिजा सुम्पिएको थियो ।
१६ नोभेम्बर १९९९ मा भएको समूह चरणको अन्तिम खेल हारे पनि नेपाली टोलीले एक बिर्सिनै नसक्ने इतिहास लेखेको थियो । त्यसै खेलमा गोल गर्दै पेमा लामा पहिलो अन्तर्राष्ट्रिय गोल गर्ने नेपाली खेलाडी बनेकी थिइन् । सो गोल नै नेपालले एसियन कपमा गरेको अन्तिम गोल हो । त्यसयता नेपालले ३ पटक छनोट चरण खेले पनि खुड्किलो भने पार गर्न सकेको छैन ।
यस छनोट खेलभन्दा अघि नेपाल वाफ महिला च्याम्पियनसिप, फोर नेसन्स कप र साफ महिला च्याम्पियनसिपमा उपविजेता भएको थियो । यी सबै प्रतियोगितामा टोलीका मुख्य प्रशिक्षक रहेका राजेन्द्र तामाङ अहिले सहायक प्रशिक्षक छन् । मुख्य प्रशिक्षकको जिम्मेवारी बेल्जियमका प्याट्रिक डे विल्डेले सम्हालेका छन् ।
प्रतियोगिताअघि थाइल्यान्डसँग २ खेल खेलेको थियो । विश्व वरीयतामा ४७औँ स्थानमा रहेको थाइल्यान्डमाथि नेपालले जुझारु प्रदर्शन गरे पनि दुवै खेलमा पराजित भएको थियो ।
प्रतिक्रिया