जनकपुर । मधेस प्रदेश सरकारको आयोजनामा शुक्रबारदेखि जनकपुरधाममा मुख्यमन्त्री अन्तर–प्रदेश राष्ट्रिय कबड्डी प्रतियोगिता सुरु भएको छ । प्रतियोगितामा ७ प्रदेशका खेलाडी सहभागी छन् । प्रतियोगिता १४ असारसम्म चल्ने मधेस प्रदेशका खेलकुद परिषद्का सदस्य–सचिव शिवजीप्रसाद कानूले बताए ।
कबड्डी प्रतियोगिताको हब मानिने मधेस प्रदेशमा प्रदेश सरकारको खेलकुद तथा समाज कल्याण मन्त्रालयको पहिलोपटक यो प्रतियोगिता भएको हो । प्रतियोगितामा विजयी टोलीलाई २५ हजार रुपैयाँ पुरस्कार प्रदान गरिने छ । दोस्रो हुने टोलीलाई २० हजार तथा तेस्रोेलाई १५ हजार रुपैयाँ पुरस्कार प्रदान गरिने छ ।
उद्घाटन कार्यक्रममा बोल्दै मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले खेलाडीले मिहिनेत गरेर अन्तर्राष्ट्रिय स्तरमा पाउने सफलताले देशको गौरव बढाउने भएकाले प्रदेश सरकार खेलकुदको विकासका लागि प्रतिबद्ध रहेको बताए ।
मुख्यमन्त्री सिंहले पछिल्लो केही समय यता मधेसका खेलाडीहरूले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा प्राप्त गरिरहेको सफलताले प्रदेशको गौरव बढाउने काम गरेको बताए ।
मधेसको लोकप्रिय खेलको रूपमा रहेको कबड्डी, क्रिकेटसहित अन्य खेलकुदको विकासका लागि पूर्वाधारको निर्माणका साथै खेलाडीलाई प्रशिक्षणसहितको सुविधा प्रदान गर्न बजेट विनियोजन गरिएको उनले बताए ।
मधेस प्रदेशका खेलकुद तथा समाज कल्याणमन्त्री प्रमोद जयसवालले मधेसमा खेलकुदको वातावरण बन्दै गएकामा खुसी व्यक्त गरे । प्रदेश सरकारले अगामी आर्थिक वर्षमा ‘खेलौँ मधेस, जितौँ मधेस’ जस्ता कार्यक्रमहरू ल्याएको उल्लेख गरे । प्रतियोगितामा मधेस प्रदेशका साथै कोशी प्रदेश, बागमती प्रदेश, लुम्बिनी प्रदेश, गण्डकी प्रदेश, कर्णाली र सुदूर पश्चिम प्रदेशको मात्र सहभागिता रहेको छ ।
मधेस प्रदेश सरकारले कबड्डी खेलका लागि लागि चालु आर्थिक वर्षमा ५० लाख रुपैयाँ विनियोजन गरेको छ ।
प्रतिक्रिया