काठमाडौं । नेकपा एकीकृत समाजवादीले पार्टी अध्यक्ष माधवकुमार नेपालको विशेष अदालतमा चलेको मुद्दाबारे पार्टी नीति विपरित नबोल्न आफ्ना नेता तथा कार्यकर्तालाई निर्देशन दिएको छ ।
आइतबार पार्टीका महासचिव घनश्याम भूसालले प्रेस नोट जारी गर्दै अध्यक्ष नेपालमाथिको मुद्दामा पार्टीको धारणाभन्दा फरक नबोल्न निर्देशन दिइएको हो ।
पार्टीको आधिकारिक धारणासँग बाझ्ने कुनै पनि कुरा सार्वजनिक रुपले नबोल्न, नलेख्न पार्टी केन्द्रीय कार्यालय सबै कमरेडहरुको ध्यानाकर्षण गर्दछ’ बक्तव्यमा भनिएको छ, ‘साथै, पार्टीमा आफ्ना धारणा राख्ने विधि र स्थानहरु छन् भन्ने कुरामा हेक्का राख्न र कुनैपनि बाहनामा सार्वजनिक वाद–प्रतिवादमा नउत्रिन समेत सबैलाई आग्रह गर्दछ ।’
पूर्वमन्त्री एवं पार्टी नेता रामकुमारी झाँक्रीले अध्यक्ष नेपालको मुद्दाबारे सार्वजनिक अभिव्यक्ति दिएकी थिइन् । उनले अध्यक्ष नेपालले मुद्दामामिला गर्नुपरिरहेकाले अर्लि महाधिवेशन मार्फत् पार्टी पुनर्गठन गर्नुपर्ने धारणा राखेकी थिइन् ।
अध्यक्ष नेपाल पतञ्जली योगपीठको जग्गा प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेपछि केही दिनअघि ३५ लाख रुपैयाँ धरौटीमा रिहा भएका थिए । हाल उनीविरुद्धको मुद्दा अदालतमा विचाराधिन रहेको छ ।
प्रतिक्रिया