काठमाडौं । पूर्वमन्त्री एवम् नेपाली कांग्रेसका नेता मोहनबहादुर बस्नेतलाई २५ लाख रुपैयाँ धरौटीमा छाड्न आदेश भएको छ । आइतबार विशेष अदालतले टेरामक्स खरिद प्रकरणमा बस्नेतलाई धरौटीमा छोड्न आदेश गरेको हो ।
आइतबार विशेष अदालतका सदस्यहरू तेजनारायण सिंह राई, रामबहादुर थापा र विदुर कोइरालाको इजलासले थुनछेक बहसपछि आदेश जारी गरेको हो ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल दूरसञ्चार प्राधिकरणको ‘टेलिकम्युनिकेसन ट्राफिक मनिटरिङ एन्ड फ्रड कन्ट्रोल सिस्टम’ (टेरामक्स) खरिद प्रकरणमा बस्नेतलाई जेठ १ गते विपक्षी बनाएर भ्रष्टाचार मुद्दा दायर गरेको थियो ।
दूरसञ्चार प्राधिकरणका तत्कालीन अध्यक्ष दिगम्बर झासमेत १६ जना र कम्पनी उपर तीन अर्ब २१ करोड ८३ लाख ७७ हजार १८२ रुपैयाँ बिगो कायम गरी सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरी भ्रष्टाचार गरेकोसम्बन्धी आरोपपत्र दायर भएको थियो ।
प्रतिक्रिया