काठमाडौं । उपेन्द्र यादव नेतृत्वको जसपा नेपालबाट फुटेर बनेको अशोककुमार राई नेतृत्वको जसपामा मन्त्रीको विषयले भाँडभैलो मच्चिएको छ । ७ सांसद भएको पार्टीबाट २ जना संघीय मन्त्री छन् । जसपाबाट नवलकिशोर साह सुडी महिला, बालबालिकामन्त्री छन् भने प्रदीप यादव खानेपानीमन्त्री छन् । तर, उनीहरूले पार्टीलाई चिनाउने गरी काम गर्न नसकेको भन्दै अन्य सांसदहरू उनीहरूलाई फिर्ता बोलाएर आफूलाई मन्त्री बनाउन अध्यक्ष राईलाई दबाब दिइरहेका छन् ।
अध्यक्ष राईले पार्टी फुटाउने बेला सांसद संख्या पु¥याउन सबैलाई पालैपालो मन्त्री बनाउने बाचा गरेकाले पनि उनीहरू मन्त्री हुनै नपाई गठबन्धन तलमाथि हुने हो कि भन्ने चिन्तामा छन् । सरकार बनेको १ वर्ष पुग्न लाग्दा पनि मन्त्री फेर्ने सुर नगरेपछि उनीहरूले मन्त्रीको कार्यशैलीमाथि प्रश्न उठाउँदै अध्यक्षमाथि दबाब बढाएका हुन् ।
अध्यक्ष उपेन्द्र यादव विदेशमा रहेको बेला १२ सांसदसहित प्रतिनिधिसभामा छैटौँ ठुलो दल रहेको जसपा नेपालबाट राईले ७ जना सांसद लिएर जसपा बनाएका थिए । यादवसँग असन्तुष्ट सांसदहरूलाई फकाएर मन्त्री बनाउने आश्वासनसहित राईले पार्टी फुटाएपछि तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नै पार्टी फुटाउन सक्रिय रहेको भन्दै यादव नेतृत्वको जसपा नेपालले सरकार छाडेको थियो । जसपा भने सरकारमै बस्यो ।
फेरि असार अन्तिममा सरकार फेरिएर केपी शर्मा ओली प्रधानमन्त्री भएपछि पनि जसपाले २ मन्त्री पठाउँदै सरकारमा निरन्तर रह्यो । त्यतिबेला कम्तीमा ९ महिनामा फिर्ता बोलाउने र अरू सांसदको पालो पु¥याउने आश्वासन राईले दिएका थिए । तर, १ वर्ष पुग्न लाग्दा पनि आफ्नो पालो नआएपछि सांसदहरूको छटपटी बढेको हो । यो छटपटी भित्रभित्रै पार्टी फुटाउने अवस्थासम्म पुगिसकेको बताइएको छ ।
सौर्य दैनिकसँग कुरा गर्दै पार्टीका एक पदाधिकारीले पार्टीका नेता तथा सांसदहरूले मन्त्री फेर्न माग गरिरहेको बताए । मन्त्रीहरूको कार्यसम्पादन चित्तबुझ्दो नभएको र प्रधानमन्त्री पनि उनीहरूसँग असन्तुष्ट रहेको भन्दै फिर्ता बोलाउन माग भएको उनी बताउँछन् । सांसदहरू रञ्जुकुमारी झा, वीरेन्द्रप्रसाद महतो र सुशीला श्रेष्ठ मन्त्रीको दौडमा छन् । श्रेष्ठ अध्यक्ष राईकी पत्नी हुन् । महतो यसअघि पनि मन्त्री बनिसकेका छन् । अबको पालो आफ्नो हुनुपर्ने सांसद झाको दबाब छ ।
तर, पार्टीभित्र मन्त्री परिवर्तनको छलफल नै नभएको जसपाका संघीय परिषद् अध्यक्ष राजेन्द्रप्रसाद श्रेष्ठको दाबी छ । मन्त्री फेर्ने प्रधानमन्त्रीको क्षेत्राधिकारको विषय रहेको उनी बताउँछन् । ‘अहिले मन्त्री परिवर्तन गर्ने कुरा छैन । प्रसंग पनि छैन । यो प्रधानमन्त्रीको क्षेत्राधिकारको कुरा हो,’ उनले भने ।
पार्टीका सांसदहरू मात्रै होइन, प्रधानमन्त्री ओली पनि जसपाका मन्त्रीले काम र गफ दुइटै नजानेको भन्दै असन्तुष्टि व्यक्त गर्ने गरेका छन् । ओलीले उनीहरूलाई हटाउन चाहे पनि अध्यक्ष अशोक राईकै जोडबलका कारण उनीहरू टिकिरहेको स्रोतको दाबी छ ।
जे गरे पनि पार्टी फुट्ने त्रासमा अध्यक्ष राई !
पछिल्लो समय जसपा अध्यक्ष राई दोहोरो चेपुवामा परेका छन् । मन्त्री फेर्दा हट्नेहरूले र नफेर्दा मन्त्री नपाउनेहरूले पार्टी फुटाउने चिन्ता उनलाई छ । त्यसैले ठोस निर्णय नगरी थामथुम पार्ने प्रयासमा उनी लागेका छन् । ‘मन्त्रीबाट हट्नेहरूले पार्टी फुटाउने भय अध्यक्षज्यूमा छ । अर्कातिर नफेर्दा मन्त्री हुन नपाउनेहरूले पनि पार्टी फुटाउने हुन् कि ! भन्ने चिन्ता देखिन्छ,’ उनले भने ।
यता, जसपा नेपालले जसपा विभाजनलाई मान्यता नदिन माग गर्दै सर्वोच्च अदालतमा दायर गरेको मुद्दा विचाराधीन छ । अदालतले गर्ने फैसलाले पार्टीको भविष्य निर्धारण हुने चिन्तामा रहेका राईलाई नेताहरू व्यवस्थापनको अर्को चुनौती थपिएको हो ।
प्रतिक्रिया