मानसिक स्वास्थ्यमा पनौतीको उदाहरणीय सफलता

नियमित जीवनमा फर्किंदैछन् बिरामी, आत्महत्या दर घट्दो

काभ्रे । तनाव, असफलता, पारिवारिक टकराव, नसा, बेरोजगारी, सम्बन्धविच्छेद जस्ता अनेकौँ कारणले पछिल्लो समय डिप्रेसन र अन्य मानसिक समस्या दिनहुँ बढ्दो छ । ५ वर्षअघि आत्महत्या दर उच्च रहेको पनौती नगरपालिका अहिले मानसिक स्वास्थ्यमा देशैभरका स्थानीय तहका लागि उदाहरणीय बनेको छ ।

पनौती स्वास्थ्य चौकीका अनुसार आर्थिक वर्ष २०८१/८२ मा २८४ जना बिरामी दर्ता भई २ हजार ७५० पटक मानसिक परामर्श तथा निःशुल्क औषधि सेवा लिएका थिए । मानसिक रोग नियन्त्रण तथा उपचारको यो कार्यक्रम पनौती नगरपालिकाले २०७७ फागुनदेखि सुरु गरेको हो । सुरुमा जनचासो कम देखिए पनि पछिल्लो समय यो सेवा लोकप्रिय बन्दै गएको छ । उपचार सेवा लिएकाहरूमध्ये ९० प्रतिशत नियमित जीवनमा फर्किएको तथ्यांक छ ।

डिप्रेसन मुख्य समस्या, महिला बढी प्रभावित

परामर्श तथा औषधि सेवा लिनेमध्ये डिप्रेसनका बिरामी सबैभन्दा बढी छन् । हाल ७६ जना बिरामी नियमित रूपमा डिप्रेसनबारे परामर्श लिइरहेका छन् । यो संख्या बढ्दो छ । नयाँ बिरामीमध्ये महिलाको संख्या बढ्दो छ । २८४ मध्ये १७१ जना महिला छन् । विशेष गरी ३० देखि ६९ वर्ष उमेर समूहका बिरामी बढी छन् ।

‘बढ्दो तनाव, बदलिँदो जीवनशैली, बेरोजगारी र सामाजिक दबाबका कारण महिला बिरामी बढी छन्,’ मनोरोग विशेषज्ञ डा. प्रिया श्रेष्ठ भन्छिन्, ‘तर, सेवा सुरु गरेपछि धेरैको जीवनमा सुधार आएको छ ।’

आत्महत्या दरमा गिरावट

५ वर्षअघि पनौतीमा मानसिक समस्याका कारण आत्महत्या दर उच्च थियो । तर, अहिले आत्महत्या दर घट्दो छ । मानसिक अस्पताल लगनखेलका पूर्वनिर्देशक तथा वरिष्ठ मनोचिकित्सक डा. अनन्त अधिकारी भन्छन्, ‘औषधि र परामर्शको सही संयोजनले १० वर्षभित्र डिप्रेसनजस्ता रोग निको हुन सक्ने सम्भावना बलियो छ । गाउँटोलमै सेवा पु¥याउनु आजको आवश्यकता हो ।’

पनौती नगर अस्पतालको सेवाले नजिकका पालिकाहरूलाई पनि आकर्षित गरेको छ । कुल सेवाग्राहीमध्ये १० प्रतिशत धुलिखेल, बेथानचोक, बनेपा, महालक्ष्मी, भक्तपुर, पाँचखालबाट आएका हुन् । ‘यो सेवा क्लिनिककै रूपमा नगरपालिकाको वडा–३ कुशादेवी र ७ नम्बरमा महिनामा २ पटक सञ्चालन हुन्छ,’ पनौती–७ की स्वास्थ्य चौकी प्रमुख हेमलता मश्रांगीले भनिन् । यो खालको कार्यक्रमले जनमानसमा राम्रो प्रभाव छाडेको अनुभूति उनले गरेकी छिन् । यस्ता कार्यक्रमलाई नगरले निरन्तरता दिनुपर्ने उनले बताइन् ।

एकै क्लिनिकमा २१० जनासम्म बिरामी आउने गरेको बताउँदै क्लिनिकका सिनियर अहेव पुरुषोत्तम तिमल्सिनाले गरिब तथा विपन्न परिवारका लागि यो कार्यक्रम आशाको किरण नै बनेको दाबी गरे । मानसिक स्वास्थ्य सेवाका लागि पनौती नगरपालिकाले छुट्टै बजेट छुट्याउँदै आएको छ । चालु आर्थिक वर्षमा २० लाख र गत वर्ष २६ लाख रुपैयाँ बजेट यस कार्यक्रमका लागि छुट्याइएको थियो । पनौती नगरपालिकाका जनस्वास्थ्य अधिकृत जनक केसी भन्छन्, ‘मानसिक स्वास्थ्यमा १ रूपैयाँ बराबरको लगानीले ४ रुपैयाँ बराबरको प्रतिफल दिएको छ ।’

औषधि सेवनपछि नियमित दैनिकीमा फर्किन्छन् बिरामी

उमेश सापकोटा (परिवर्तित नाम) १७ वर्षदेखि मानसिक समस्याबाट ग्रसित छन् । २ वर्षदेखि नियमित औषधि सेवन गर्दै आइरहेका उनी अहिले आफ्नै दिनचर्यामा फर्किएका छन् । ‘सुरुमा म काम गर्न सक्दैनथेँ । अहिले व्यवसाय गरिरहेको छु,’ सापकोटा भन्छन्, ‘यो सेवा नपाएको भए म कहिल्यै ठिक हुने थिइनँ होला । आज म अन्य मानिससरह सामान्य जीवनमा फर्किसकेको महसुस भएको छ । विगतमा मेरो परिवारले मेरो स्वास्थ्यका लागि धेरै खर्च गर्नुपरेको थियो, अहिले घर नजिकै क्लिनिकमार्फत् सेवा लिन पाउँदा खुसी छु ।’

सामाजिक सञ्जालको दुरुपयोग ठुलो खतरा

अहिलेको युवा पुस्तामा गाँजा, मद्यपान जस्ता नसा र सामाजिक सञ्जालको अत्यधिक प्रयोग नै मानसिक समस्याको प्रमुख कारण बन्न थालेको वरिष्ठ मनोचिकित्सक डा. अनन्त अधिकारीको तर्क छ । ‘ब्राउन सुगरको लतभन्दा गम्भीर छ सामाजिक सञ्जालको गलत प्रयोग,’ डा. अधिकारी भन्छन्, ‘त्यस्ता युवा पनि सेवा लिन आउँछन्, औषधि र परामर्शपछि धेरैजना सुध्रिएका छन् ।’

पनौती नगरपालिकाकी उपप्रमुख गीता बन्जरा यस्तो कार्यक्रम विद्यालयदेखि समुदायसम्म विस्तार गर्न जरुरी रहेको बताउँछिन् । मानसिक स्वास्थ्य सेवा कार्यक्रमले समुदायमा आफ्नो समस्या लुकाउने सोच परिवर्तन भएर अब खुलेर समस्या राख्न सक्ने वातावरण बनेको छ । यो कार्यक्रमले आममानिसमा मनोसमस्या दबाएर राख्न हुन्न भन्ने सोच पलाएको छ । बिरामीको जीवन सहज बनाएको छ ।

प्रतिक्रिया