भयावह बन्दै डेंगु संक्रमण : ७३ जिल्लामा फैलियो, संसद्मा चासो

काठमाडौँ । डेंगु यति बेला भयावह बन्दै गएको छ । सोमबारसम्म देशको ७३ जिल्लामा फैलिएसँगै यसमा सबै तिरबाट चासो व्यक्त गरिएको छ ।
डेंगु संक्रमण ७३ जिल्लाका फैलिएको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार सोमबार सम्ममा ७३ जिल्लाका १ हजार ३६० जनामा डेंगु देखिएको छ ।

गत पुसदेखि बढ्दै गएको डेंगु बागमती प्रदेशमा सबैभन्दा बढी देखिएको छ । महाशाखाका अनुसार बागमती, कोसी र गण्डकी प्रदेशमा सबैभन्दा बढी डेंगु संक्रमण पुष्टि भएको छ ।

तथ्यांकअनुसार बागमतीमा प्रदेशमा ३४८, कोसी प्रदेशमा २८२, गण्डकी प्रदेशमा २३५ जनामा डेंगु पुष्टि भएको छ । लुम्बिनी प्रदेशमा २१५, सुदूरपश्चिम प्रदेशमा १७४, कर्णाली प्रदेशमा ३२ र मधेस प्रदेशमा १८ जनामा डेंगु पुष्टि भएको छ ।

जिल्लाअन्तर्गत काठमाडौँमा सबैभन्दा बढी १४० जनामा डेंगु पुष्टि भएको छ । कास्कीमा ९२, सुनसरीमा ८७, झापामा ८०, चितवनमा ६२, पाल्पामा ६० जनामा डेंगु पुष्टि भएको छ । त्यसैगरी, रुपन्देहीमा ५१, कञ्चनपुरमा ३७, दाङमा ३६, भक्तपुरमा ३० जनामा डेंगु देखिएको छ ।

महाशाखाले दिएको जानकारीअनुसार मनसुन सुरु भएसँगै डेंगु बढ्न थालेको हो । साउनको अन्तिमदेखि कात्तिकसम्म बढी देखिँदै आएको डेंगु संक्रमण प्रत्येक वर्ष बढ्दै गएको छ ।

पानी परेपछि ठाउँठाउँमा पानी जम्ने र डेंगु फैलाउने लामखुट्टे बढ्ने गरेको छ । पानी जमेको ठाउँमा डेंगु फैलाउने लामखुट्टेले लार्भा पार्छ र डेंगु संक्रमण दर बढ्दै जाने भएकाले सचेत रहनु पर्ने महाशाखाको भनाइ छ । समयमै सचेत हुने र जनचेतना फैलाउने हो भने डेंगु नियन्त्रण गर्न सकिने बताइएको छ ।

गत वर्ष ४६ हजारमा डेंगु संक्रमण देखिएको थियो भने १५ जनाको मृत्यु भएको थियो । डेंगु एडिस जातको पोथी लामखुट्टेको टोकाइबाट सर्छ । उच्च ज्वरो आउने, कडा खालको टाउको दुःखाइ हुने, आँखाको गेडी पछाडि दुख्ने, मांसपेसीको दुःखाइ, वाकवाकी लाग्ने र वान्ता आउनेजस्ता लक्षण देखिन्छ ।

डेंगु सुरुवा रोग नभए पनि यो लामखुट्टेको टोकाइबाट सर्ने र फैलने गर्छ । डेंगु सार्ने लामखुट्टेले प्रायः दिउँसो मात्र टोक्छ । अस्पतालमा भर्ना भएका सबै बिरामीलाई एकै ठाउँमा राख्दा लामखुट्टेमार्फत् डेंगु सर्ने खतरा हुन्छ । त्यसैले, बेडमा भर्ना भएका बिरामीहरूलाई झुलभित्र राखेर उपचार गर्ने गरिन्छ ।

खासगरी एडिज प्रजातिको लामखुट्टे डेंगुका लागि जोखिमपूर्ण हुन्छ । गर्मी एवं वर्षाको समयमा यस्तो लामखुट्टे फैलने भय बढी हुन्छ । त्यसैले डेंगुबाट बच्नु भनेको यस्ता लामखुट्टेको टोकाइबाट बच्नु भएको चिकित्सक बताउँछन् । यसको टोकाइ एवं संक्रमण निकै घातक हुन सक्छ ।

एडिज लामखुट्टे जमेको पानीमा जन्मने र हुर्कने गर्छ । जस्तो कि, कुवाको पानी, खाल्डाखुल्डीमा जम्मा भएको पानी, नालाको पानी आदि । त्यसैले घर आसपासमा पानी जम्ने ठाउँ हुनुहुँदैन ।

डेंगु नियन्त्रण गर्न सांसदमा चासो

राष्ट्रिय सभाको सोमबारको बैठकमा सांसदहरूले डेंगु रोग नियन्त्रण गर्नका लागि सरकारको ध्यानाकर्षण गराएका छन् । डेंगुको संक्रमण ७३ जिल्लामा फैलिएसँगै यो विषय सांसदमा चासो बनेको हो ।

सोमबारको शून्य समयमा बोल्दै सांसदहरू गोमादेवी तिमिल्सिना, कृष्णप्रसाद पौडेल र उदयबहादुर बोहराले देशभर डेंगु नियन्त्रणका लागि सरकारको पहल कमजोर देखिएको धारणा राखे । उनीहरूले यो विषयमा सरकार जति गम्भीर हुनुपर्ने हो त्यो नदेखिएको बताएका थिए ।

संसद्मा बोल्ने सांसदहरूले यस विषयमा सरकार गम्भीर हुनुपर्ने बताएका थिए । यति बेला देशको ७३ जिल्लामा डेंगु रोग फैलिएको र १ हजार ४०० भन्दा बढी व्यक्ति संक्रमित भइसकेको विषय संसद्मा उठाउँदै सांसदहरूले यसको नियन्त्रणका लागि पहल गर्न संसद्मार्फत सरकारको ध्यानाकर्षण गरेका थिए ।

प्रतिक्रिया