मुगुम कामारोङ गाउँपालिकाको शैक्षिक सुधारका लागि १६ बुँदे साझा प्रतिवद्धता

मुगु । मुगु जिल्लाको पूर्वी करान भेगमा पर्ने मुगुम कामारोङ गाउँपालिकाको गुणस्तरीय शैक्षिक सुधारका लागि १६ बुँदे साझा प्रतिबद्धता गरिएको छ । मंगलबार गाउँपालिकाको आयोजन तथा करानी समुदाय संस्था केसीडिसीको सहकार्यमा आयोजना गरिएको एक दिने गुणस्तरिय शैक्षिक सुधारका लागि भएको अन्तरक्रिया कार्यक्रममा गाउँपालिका र विद्यालयको तर्फबाट १६ बुँदे साझा प्रतिबद्धता गरिएको हो ।

पालिकाको शैक्षिक अवस्था खस्किँदै गएको अवस्थामा दुई पक्षीय भएको साझा प्रतिबद्धताले मुगुम कामारोङ गाउँपालिकाको शैक्षिक सुधारमा सहयोग पुग्ने अपेक्षा गरिएको सहभागीहरुले बताएका थिए ।

अन्तरक्रिया कार्यक्रममा मुगुम कामारोङ गाउँपालिकाको शैक्षिक अवस्था र भावी कार्ययोजनासहित छलफल गरिएको थियो । छलफलमा विगतका तुलानामा स्थानीय सरकार आइसकेपछि शैक्षिक स्तरको अवस्थामा सुधार भए पनि सोचे अनुरुप नभएकाले मुगुम कामारोङ गाउँपालिकाको शैक्षिक सुधारका लागि गाउँपालिका, शिक्षक, विद्यार्थी, व्यवस्थापन समितिका अध्यक्ष, अविभावक संघ, वडा पालिका सबैले हातोमालो गर्नुपर्ने सहभागीहरुकोहरुको तर्क थियो ।

मुगुम कामारोङ गाउँपालिकामा १७ वटा सामुदायिक विद्यालय छन् । सबै विद्यालयको शैक्षिक स्थिती एकैनासको नभएकाले शैक्षिक अवस्था सुधार्न विद्यालय र गाउँपालिका स्तरबाट के गर्न सकिन्छ हालको अवस्थामा विद्यालयहरुको शैक्षिक अवस्था के छ र आगामी दिनमा मुगुम कामारोङ गाउँपालिकाको शैक्षिक सुधारका लागि के गर्न सकिन्छ भन्ने उदेश्यसहित कार्यक्रमको आयोजना गरिएको मुगुम कामारोङ गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत सुवासचन्द्र रावलले बताए ।

मुगुम कामारोङ गाउँपालिकाका अध्यक्ष छिरिङ क्याप्ने लामाले शैक्षिक सुधारका लागि आफू निरन्तर रचनात्मक कार्यमा लागेको बताए । मुगुम कामारोङ गाउँपालिकाको शैक्षिक सुधारका लागि विद्यालयको अनुगमनलाई प्रभावकारी बनाई विद्यालयको कार्यसम्पादनका आधारमा दण्डित र पुरस्कृत गर्ने वातावरणको सृजना गरी समुदायिमा आधारित मागका आधारमा शैक्षिक कार्यक्रम तर्जुमा गर्ने बताए ।

अन्तरक्रिया कार्यक्रममा मुगुम कामारोङ गाउँपालिकाका अध्यक्ष छिरिङ क्याप्ने लामा उपाध्यक्ष, छिरिङ पुटिक लामा, प्रमुख प्रशासकिय अधिकृत सुवासचन्द्र रावल, शिक्षा शाखा प्रमुख देवी सेन लगायत १७ वटै विद्यालयका शिक्षक, विद्यार्थी, व्यवस्थापन समितिका अध्यक्ष अविभावक संघको उपस्थिती रहेको थियो भने कार्यक्रमको सहजिकरण पत्रकार जीवन सेजुवालले गरेका थिए ।

प्रतिक्रिया