रारामा कर्णाली प्रदेशको कबड्डी प्रतियोगिता

मुगु । कर्णाली प्रदेशको सुर्खेतमा हुन लागेको १०औँ राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारीका लागि रारामा कबड्डी प्रतियोगिता सुरु भएको छ ।

कर्णाली प्रदेश खेलकुद विकास परिषद्को आर्थिक सहयोग तथा जिल्ला खेलकुद विकास समितिको आयोजनामा कर्णाली प्रदेशको हुम्लाबाहेक ९ जिल्लाका महिला तथा पुरुष खेलाडीहरुको सहभागितामा बुधबारदेखि शुक्रबारसम्म १०औँ राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारीका लागि कबड्डी प्रतियोगिता आयोजना गरिएको हो ।

उक्त प्रतियोगितामा हुम्लाबाहेक ९ जिल्लाका पुरुष ९ र महिला ७ टिम गरी १६० खेलाडीले भाग लिएका छन् । कर्णाली प्रदेश खेलकुद विकास परिषद्का आर्थिक सहयोग र जिल्लास्थित चारै स्थानीय तहलेसमेत उक्त प्रतियोगितामा आर्थिक सहयोग गर्ने प्रतिबद्धता गरेपछि राराको प्रर्यटन प्रवर्द्धनलाई खेलकुदसँग जोड्नका लागि रारामा यो प्रतियोगिता आयोजना गरिएको खेलकुद विकास समिति मुगुका अध्यक्ष बिरेन्द्रबहादुर मल्लले बताए ।

२०८१ मंसिर २ गतेबाट कर्णाली प्रदेशको सुर्खेतमा हुन लागेको १०औँ राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारीका लागि कर्णाली प्रदेश खेलकुद परिषद्ले कर्णालीका १० वटै जिल्लामा एक–एक खेलको आयोजन गर्ने परिषद्को निर्णय अनुसार मुगुको रारामा यो खेलको आयोजना गरिएको हो ।

रारामा हुने कुनै पनि खेलकुद प्रतियोगिताहरु राराको पर्यटनलाई खेलमार्फत प्रचारप्रसार गरी आगामी दिनमा रारामा मात्र नभई कर्णालीमा अन्य साहसिक खेलकुद समेत आयोजना हुने कर्णाली प्रदेश खेलकुद परिषद्का सदस्य सचिव विश्वमित्र सञ्ज्यालले बताए । जिल्लामा कुनै पनि खेलकुद तथा अन्य कार्यक्रम आयोजना गर्ने खेलमैदान छैन ।

खेलमैदान अभावका कारण प्रतियोगिता सञ्चालन गर्न ठूलो समस्या भइरहेका बेला रारामा कर्णाली प्रदेश खेलकुद विकास समितिले आयोजना गरेको यो प्रतियोगिता सञ्चालन गर्न ठूूलो पहल भएको र कुनै पनि प्रतियोगिताले राराको संरक्षण र प्रर्वद्धनमा ठूलो सहयोग मिल्ने कर्णाली प्रदेशसभा सदस्य जितबहादुर मल्लले बताए । उनले रारा जस्तो ठाँउमा प्रतियोगिता हुनु गर्वको विषय भएको बताएए ।

रारा पुग्न सडकमार्फत आउँदा सारै गाह्रो भएको खेलाडीहरुले बताएका छन् । बाटोको थकानले हैरान भएका खेलाडीहरु रारा पुग्दा बाटो सबै दुःख बिर्सेको बताए । रारा मुगुमा पर्ने भनेको सुनेको प्रतियोगितामा आउने खेलाडीहरुले रारा पुग्दा बाटोमा पाएको दुःख सबै बिर्सेको बताउँदै सरकारले अन्य खेलकुद पनि रारामा सञ्चालन गर्न सके खेलकुद पर्यट क्षेत्रको विकासमा ठूलो अवसर मिल्ने बताएका छन् ।

प्रतिक्रिया