नेपाल महिला विश्वकप छनोटमा २ चरण टाढा

काठमाडौँ । नेपाल आइसिसी महिला टी–२० विश्वकप एसिया छनोटको सुपर–३ मा प्रवेश गरेको छ । थाइल्यान्डमा जारी छनोटअन्तर्गत हङकङ र बहराइनबीचको खेल वर्षाले रद्द भएसँगै नेपाल सुपर–३ मा प्रवेश गरेको हो । हङकङसँग समान ५ अंक भए पनि नेपाल बढी जितका आधारमा अघि सुपर–३ मा पुगेको हो । थाइल्यान्डको बैंककमा भएको छनोट चरणको खेलमा सहमागी ९ टोलीलाई ३ समूहमा विभाजन गरिएको थियो । समूह ‘ए’मा कुबेत, भुटान र थाइल्यान्ड थिए । समूह ‘बी’मा मलेसिया र कतार थिए । यसैगरी समूह ‘सी’मा नेपाल हङकङ, चीन र संयुक्त अरब इमिरेट्स थिए ।

सन् २०२६ मा इंग्ल्यान्डमा आयोजना हुने टी–२० महिला विश्वकपमा १२ टोलीको सहभागिता रहने छ । यी मध्ये ८ टोलीको टुंगो लागिसकेको छ । इंग्ल्यान्ड आयोजकको रूपमा सहभागी छ । गत सिजनको परिणामको आधारमा भारत, अस्ट्रेलिया, न्युजिल्यान्ड, दक्षिण अफ्रिका र वेस्ट इन्डिज छनोट भएका छन् । यसैगरी, पाकिस्तान र श्रीलंका वरीयताको आधारमा छनोट भइसकेका छन् । नेपालको हकमा सुपर थ्रीमा सफलता पाउने मध्ये २ देश ग्लोबल क्वालिफायरलमा छनोट हुनेछन् । त्यसमा सफलता पाए नेपाल विश्वकपमा छनोट हुने छ ।

प्रतिक्रिया