फिफा क्लब विश्वकप : पिएसजीसँग मियामीको फराकिलो हार

वासिंगटन । लियोनल मेसीको क्लब इन्टर मियामीविरुद्ध पेरिस सेन्ट जर्मन (पिएसजी)ले शानदार जित निकालेको छ । पिएसजीले ४ गोल गर्दा मेसीको क्लब मियामीले १ गोलसमेत गर्न सकेन ।

जाओ नेभासले गरेको २ गोलसँगै इन्टर मियामीलाई ४–० ले पराजित गरेको पिएसजी फिफा क्लब विश्वकप फुटबल प्रतियोगिताको क्वार्टर फाइनलमा प्रवेश गरेको छ । एटलान्टामा भएको खेलको छैटौँ मिनेटमा नै भिटिन्हाको फ्रिकिकलाई उपयोग गर्दै नेभासले गोल गरेका हुन् । पोर्चुगलका मिडफिल्डर नेभासले ३९औँ ब्रोडी बाकुलाको सहयोगमा गोल गरेका हुन् ।

पहिलो हाफमा पिएसजी थप २ गोल गर्न सफल भयो । डिजाइर डोउको क्रसलाई रोक्ने प्रयासमा टोकास एभिलेसले आत्मघाती गोल गरे । अस्राफ हाकिमीले अन्तिम गोल गरे । पराजित मियामी मेसीको उपस्थितिपछि पहिलोपटक क्लब विश्वकपमा पहिलो चरण पार गर्न सफल भएको थियो । क्वार्टरफाइनलमा पिएसजीले वायरन म्युनिखसँग खेल्ने छ ।

फ्लेमिंगोलाई ४–२ ले हराउँदै वायरन म्युनिख फिफा क्लब विश्वकपको क्वार्टर फाइनलमा प्रवेश गरेको छ । वायरनलाई जित दिलाउने क्रममा हेरी केनले २ गोल गरे । लगातार ११ खेलको अपराजित यात्रा गरेको ब्राजिलियन क्लब फ्लेमिंगो छैटौँ मिनेटमै खेलमा पछि परेको थियो । जोसुआ किमिचको कर्नर बचाउने क्रममा एरिक पुलगारले आफ्नै पोस्टमा बल प्रहार गरेका थिए ।
त्यसको ३ मिनेटपछि नै केनले गोल गरेका हुन् । पहिलो हाफ सकिन १२ मिनेट बाँकी रहँदा गेर्सनले फ्लेमिंगोका लागि गोल गरे । ४१औँ मिनेटमा लियोन गोयट्जकाले गोल गरे । माइकल ओलिसेले ह्यान्ड गरेपछि पाएको पेनाल्टीलाई जर्जिन्होले गोल गर्दै फेरि अन्तर घटाएका थिए । खेल सकिन १८ मिनेट बाँकी रहँदा केनले क्लिनिकल फिनिसिङ गरे ।

प्रतिक्रिया