माओवादीले माग्यो राज्य व्यवस्था समितिका सभापति खतिवडाको राजीनामा

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रले राज्य व्यवस्था समितिका सभापति रामहरि खतिवडाको राजीनामा मागेको छ । माओवादी केन्द्रका सांसद माधव सापकोटाले निजामती विधेयकमा गरिएको ‘छेडखानी’ संसदमाथिको गम्भीर अपराध भएकाले सामान्य रूपमा लिन नसकिने बताए । सभामुखसँग छलफलपछि बाहिरिने क्रममा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले यसमा जानाजानी राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडा पनि संलग्न भएर कीर्ते जालसाजी भएको बताए ।

उनले भने, ‘उहाँको संलग्नता छ भने कानुनी हिसाबले पनि गम्भीर कुरा हो। उहाँको संलग्नता छैन भने नैतिक रूपमा उहाँले हस्ताक्षर गरेको भन्दा बाहिरको कुरा कहाँबाट आउँछ ? त्यसैले समितिको सभापति र सचिवले राजीनामा दिनुपर्छ ।’ समितिको कांग्रेस सांसद रामहरि खतिवडाले नेतृत्व गरिरहेका छन् । सभापति खतिवडाको राजीनामापछि उच्चस्तरीय तथा संसदीय छानबिन समिति बनाउनु पर्ने भन्दै संलग्नलाई कारवाही गर्नुपर्ने उनले बताएका छन् ।

प्रतिक्रिया