एसिसी मेन्स यु–१६ इस्ट जोन कप क्रिकेट, नेपालको जितमा कीर्तिमानको ओइरो

काठमाडौँ । प्रसिद्ध जैसी र विपिन शर्माको सानदार प्रदर्शनपछि नेपाल एसिसी मेन्स यु–१६ इस्ट जोन कप क्रिकेटको सेमिफाइनल प्रवेश गरेको छ । मलेसियामा जारी प्रतियोगितामा आइतबार इन्डोनेसियालाई ३७० रनको ठुलो अन्तरले हराउँदै नेपालले सेमिफाइनल यात्रा तय गरेको हो ।

नेपालको यो लगातार तेस्रो जित हो । यसअघि नेपालले समूह चरणको खेलमा सिंगापुर र जापानलाई हराएको थियो । समूह चरणको अन्तिम खेलमा नेपालले भुटानको सामना गर्नेछ । आइतबारको सफलता नेपालले अहिलेसम्म अन्तर्राष्ट्रिय क्रिकेटमा पाएको सबैभन्दा फराकिलो अन्तरको हो भने नेपालको कुनै पनि टोलीले अन्तर्राष्ट्रिय खेलमा बनाएको सबैभन्दा ठुलो स्कोरसमेत हो ।

आइतबारको खेलमा नेपाललाई जित दिलाउने क्रममा प्रसिद्ध जैसीले १३२ रनको सानदार पारी खेले भने विपिन शर्माले ६ विकेट लिए । नेपालले प्रस्तुत गरेको ४२१ रनको विशाल लक्ष्य पछ्याएको इन्डोनेसिया २४.३ ओभरमा अलआउट हुँदै ५० रनमै सीमित भयो । नेपालका लागि विपिनले ७.३ ओभर बलिङ गर्दै २ मेडन ओभर फाल्दै १२ रन खर्चिए ।

पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा ५ विकेट गुमाएर ४२० रनको स्कोर खडा गरेको हो । नेपालका लागि सानदार पारी खेलेका प्रसिद्धले ११४ बलको सामाना गर्दै १५ चौका र १ छक्काको मद्दतले सो रन खडा गरेका थिए । नेपालको विशाल योगफलमा रौनक श्रीवास्तवले ८८ र परिमार्जन यादवले बनाएको ७१ रन पनि त्यत्तिकै महत्वपूर्ण रह्यो । जोय थापाले ५७ रन बनाए ।

रौनकले २८ बलमा ७१ रन बनाए । उनले ४ चौका र ८ छक्का प्रहार गरे । कुनै खेलाडीको स्ट्राइक रेट २५३ भन्दा बढी हुनु आफैँमा दुर्लभ हो । प्रसिद्धको स्कोर कुनै पनि अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपालले बनाएको व्यक्तिगत तेस्रो ठुलो योगफल हो । यसअघि सन् २०२३ मा अर्जुन कुमालले साउदी अरेबियासँग भएको एसिसी प्रिमियर कपमा १४२ रन बनाएका थिए । यसैगरी, चीनको ह्वाङजाउमा भएको १९औँ एसियाली खेलकुदमा नेपालका कुशल मल्लले मंगोलियासँग १३७ रन बनाएका थिए ।

प्रतिक्रिया