रोड रेसमा आर्मी हाबी

काठमाडौँ । प्रथम लुम्बिनी रोड रेसमा त्रिभुवन आर्मी क्लब हावी भएको छ । लुम्बिनी खेलकुद परिषद्ले दाङको घोराहीमा गरेको १० किलोमिटर रोड रेसमा पुरूष महिला दुवैतर्फ त्रिभुवन आर्मी क्लबका खेलाडी पहिलो भए । पुरूषतर्फ निर्धारित दुरी ३१ मिनेट ३० सेकेन्ड ४८ मिलिसेकेन्डमा पार गर्दै आर्मीका सञ्जय श्रेष्ठ पहिलो भए ।

३१ मिनेट ३९ सेकेन्ड १४ मिलिसेकेन्डका साथ आर्मीकै नरेन्द्र रावत दोस्रो भए भने नेपाल पुलिस क्लबका नागेश्वर यादवले ३१ मिनेट ४५ सेकेन्ड १९ मिलिसेकेन्डमा निर्धारित दुरी पार गर्दै तेस्रो भए ।

महिलातर्फ निर्धारित दुरी ३७ मिनेट ४० सेकेन्ड ४७ मिलिसेकेन्डमा पार गर्दै आर्मीकी निशा सार्की प्रथम भइन् । एपिएफकी पुष्पा भण्डारीले ३८ मिनेट १९ सेकेन्ड ६३ मिलिसेकेन्डमा निर्धारित दुरी पूरा गर्दै दोस्रो बनिन् भने एपिएफकै दीपा परियार ३९ मिनेट २१ सेकेन्ड ९८ मिलिसेकेन्डको समयका साथ तेस्रो भइन् ।
पहिलो, दोस्रो र तेस्रो हुनेले क्रमशः ५० हजार, ३० हजार र २० हजार रुपैयाँ पुरस्कार पाएका छन् । लुम्बिनी रोड रेसलाई आगामी वर्षमा पनि निरन्तरता दिइने लुम्बिनी खेलकुद परिषद्का सदस्यसचिव तिरनदाज गौतमले जानकारी दिए ।

यसैगरी, शनिबार भएको पाँचौँ वीर गणेशमान सिंह १० किलोमिटर सडक दौडको उपाधि पुरुषतर्फ नेपाली सेनाका राजन रोकाया र महिलातर्फ धादिङकी सन्तोषी श्रेष्ठले जितेका छन् ।

गणेशमान सिंह फाउन्डेसन र वीर गणेशमान सिंह स्पोट्र्स कमिटीको आयोजनामा शनिबार बिहान सम्पन्न प्रतिस्पर्धामा रोकायाले ३१ मिनेट २२ सेकेन्ड र श्रेष्ठले ३८ मिनेट ३ सेकेन्डमा दौड पूरा गरेका थिए ।

प्रतियोगितामा पुरूषतर्फ सेनाकै खडकबहादुर खड्काले (३१ मिनेट ३५ सेकेन्ड) दोस्रो र मुकेशबहादुर पाल (३२ मिनेट १२ सेकेन्ड) तेस्रो भए । केन्याका जुलियस मुरिओकीले सान्त्वना स्थान हासिल गरे ।

यस्तै, महिलातर्फ नेपाली सेनाकी पूर्णलक्ष्मी न्यौपाने दोस्रो (३९ मिनेट १९ सेकेन्ड), सशस्त्र प्रहरीकी आशा रावत तेस्रो (४० मिनेट २७ सेकेन्ड) र फूलमती रानाले सान्त्वना स्थान हासिल गरिन् ।

दरबारमार्गबाट सुरु भएको दौड भद्रकाली, रत्नपार्क, जमल, दरबारमार्ग, केशर महल, लैनचौर, लाजिम्पाट, महाराजगन्ज, बालुवाटार, नक्साल, जय नेपाल हल हुँदै पुनः दरबारमार्गमा पुगेर टुग्एिको थियो ।

प्रतियोगितामा ३ वटा विभागीय टोली, विभिन्न संघ संस्था, स्कुल, कलेज, केही विदेशी खेलाडी गरि झन्डै ५०० खेलाडीको सहभागिता थियो ।
प्रतियोगितामा १० किलोमिटर दौडमा महिला तथा पुरुष विजेताले समान ६० हजार, दोस्रोले ३० हजार, तेस्रोले १५ हजार, चौथोले १० हजार र पाँचौँले ५ हजार रुपैयाँ प्राप्त गरेका छन् ।

उपप्रधानमन्त्री एवं सहरी विकास मन्त्री प्रकाशमान सिंह र कर्णाली प्रदेशका अर्थमन्त्री राजिवविक्रम शाह, मंगलादेवी फाउन्डेसनकी अध्यक्ष सिर्जना सिंहसहितले विजेता खेलाडीलाई प्रमाणपत्र र मेडल हस्तान्तरण गरेका थिए ।

प्रतिक्रिया