बार्सिलोनालाई वर्षमा ३ उपाधि

म्याड्रिड । लामिन यमालले उत्कृष्ट प्रदर्शन गरेको खेलमा इस्पानियोललाई २–० ले हराउँदै बार्सिलोनाले २८औँ स्पेनिस ला–लिगाको उपाधि जितेको छ । बिहीबार भएको खेलको ५३औँ मिनेटमा १७ वर्षीय यमालले लामो दुरीबाट गरेको घुमाउरो प्रहार गोलमा परिणत भएपछि बार्सिलोनाले सुरुआती अग्रता लिएको थियो । खेलको इन्जुरी समयमा यमालकै पासमा फरमिन लोपेजले अर्को गोल गर्दै उपाधि रक्षा गरेका हुन् । २ खेल बाँकी हुँदा बार्सिलोनाले दोस्रो स्थानमा रहेको रियल म्याड्रिडलाई ७ अंकले पछि छाडेको छ । अहिलेको विश्वका सबैभन्दा रोमाञ्चक युवा खेलाडी यमालले गरेको गोल भने साँच्चै उत्कृष्ट थियो ।

प्रशिक्षक हान्सी फ्लिकको निगरानीमा पहिलो सिजन खेलिरहेको बार्सिलोनाले ३ वटा घरेलु उपाधि जितेको छ । यसअघि कोपा डेल रे कप र स्पेनिस सुपर कपको उपाधि पनि बार्सिलोनाले जितिसकेको छ । बार्सिलोनाको यो सफलतामा राफिन्हा र लामिन यमाले सिजन भरी छाए । बार्सिलोनालाई २८औँ स्पेनिस ला–लिगा उपाधि दिलाउने निर्णायक खेलमा पनि यमालले गोल गरे । त्यो साँच्चै अविश्वसनीय गोल थियो ।

दाँतमा ब्रेसेस लगाउने १७ वर्षे यमलले बिहीबार स्पेनको दोस्रो ठुलो डर्बी खेलमा एस्पान्योलविरुद्ध २–० को जितमा पहिलो गोल गरे । २ डिफेन्डरलाई बाहिरैबाट ‘ड्रिबल’ गर्दै उनले आफ्नो ‘ट्रेडमार्क’ बायाँ खुट्टाको प्रहारमा गोल गरेका हुन् । पछिल्लो १० महिनाको लिगको उत्कृष्ट समापन यसै गोलमार्फत भयो । गत वर्ष स्पेनलाई युरोपियन च्याम्पियन बनाउने महत्वपूर्ण भूमिका खेलेका यमलले यस सिजन बार्सिलोनाका लागि गोल, ‘ड्रिब्लिङ र प्लेमेकिङ’मा अद्भुत प्रदर्शन गर्दै आफूलाई विश्व फुटबलको नयाँ सुपरस्टारको रूपमा प्रमाणित गरेका छन् । राफिन्हा, पेड्री र अरू सहकर्मीहरूसँग मिलेर उनले बार्सिलोनालाई अपराजित बनाएका छन् ।

‘म सधैँ गोल गर्ने प्रयास गर्छु । आज मेरो प्रहार सफल भयो । टोलीलाई सहयोग गर्न पाउँदा निकै खुसी छु’, उनले भने । खेलको अन्त्यतिर अर्थात ८०औँ मिनेटमा एस्पान्योलका लिआन्द्रो काब्रेराले यमालको पेटमा लात प्रहार गरे । योसँगै उनले रातो कार्ड पाए । त्यसपछि फेर्मिन लोपेजले इन्जुरी समयमा दोस्रो गोल गर्दै जित सुनिश्चित गरे । बार्सिलोना च्याम्पियन्स लिगको सेमिफाइनलसम्म पुगेको थियो । इन्टरमिलानसँग नजिकै पुगेर अन्तिम खेल गुमाएको थियो ।

फ्लिकको टोलीले यस सिजन १५ खेल जितेको छ । २ खेल बराबरी खेलेको छ । रियल मड्रिडलाई यस सिजन ४ वटै ‘क्लासिको’मा हराउँदै बार्सिलोनाले उपाधि यात्रालाई झन् मजबुत बनाएको थियो । बार्सिलोना खेलाडीले मैदानमै पानीको फोहरासँगै नाचेर उपाधि जितेको खुसियाली मनाए । पेड्रीले २२ वर्षको उमेरमै २०० खेल पूरा गरे । उनी भन्छन्, ‘हरेक दिन लिग जितिँदैन, यसको मूल्य बुझ्नुपर्छ ।’

लिओनल मेसीले इन्स्टाग्राममार्फत आफ्नो पुरानो क्लबलाई बधाई पठाए । रियल मड्रिडले पनि ‘एक्स’ (ट्विटर) मा आफ्नो कट्टर प्रतिद्वन्द्वीलाई बधाई दिएको छ । हजारौँ समर्थकले बार्सिलोनाको जितलाई सहरमै उल्लासमय बनाए । यमल यसको श्रेय मुख्य प्रशिक्षक फ्लिकलाई दिन्छन् ।

‘हामीले जाभीसँग पनि धेरै कुरा सिक्यौँ । तर, फ्लिकले हामीलाई नयाँ ऊर्जा दिएका दिनुभएको छ’, उनी भन्छन् । ३ उपाधि जित्नु आफैँमा अद्भुत सफलता हो । फ्लिक पनि यही मान्छन् । ‘बार्सिलोनाले उपाधि जित्नै पर्छ । ३ उपाधि जित्नु अद्भुत हो । मिलानको खेलपछि केही दुःख लागेको थियो । तर, अहिले क्लब र म दुवै खुसी छौँ’, उनी भन्छन् ।

खेलको पहिलो हाफमा एस्पान्योलले राम्रो प्रदर्शन ग¥यो । उर्को गोन्जालेजले अवसर गुमाए । तर, ५३औँ मिनेटमा यमलको गोलसँगै खेल बार्सिलोनाको नियन्त्रणमा गयो । एस्पान्योलका गोलरक्षक जोआन गार्सिया (जसलाई यही समरमा बार्सिलोनाले नै अनुबन्ध गर्ने चर्चा छ) ले पूरा ‘डाइभ’ गरे पनि यमलको प्रहार रोक्न सकेनन् । ‘यमालले आज प्रशिक्षणमै २ यस्तै गोल हानेका थिए । उसलाई हामीसँग हुँदा भाग्यमानी ठान्छौँ’, पेड्री भन्छन् ।

एस्पान्योल १६औँ स्थानमै रहँदा रेलिगेसन क्षेत्रभन्दा ५ अंकमाथि छ । क्लबलाई ‘सिटी डर्बी’बाट राम्रो नतिजा आवश्यक थियो । खेल सुरु भएपछिका केही मिनेटमै स्टेडियम बाहिर भिडन्त हुँदा केही दर्शक घाइते भए । प्रहरीका अनुसार यो दुर्घटना खेलसँग असम्बन्धित थियो ।

प्रतिक्रिया