काठमाडौँ । नेपालले आइसिसी महिला टी–२० विश्वकप एसिया छनोटको बिहीबार भएको खेलमा बहराइनलाई हराएको छ । थाइल्यान्डको बैंककस्थित टेर्डथाई क्रिकेट मैदानमा सम्पन्न खेलमा नेपाल डर्क वर्थ लुइस नियममार्फत ६ विकेटले विजयी भएको हो । जितसँगै नेपालले सुपर थ्रीको सम्भावना कायमै राखेको छ ।
योसँगै समूह ‘सी’ को खेल सक्काएको नेपालले ४ खेलबाट ५ अंक पु¥याएको छ । १ खेल कम खेलेको हङकङको ४ अंक छ । बराइनसँगको अन्तिम खेल रद्द भए पनि हङकङ सुपर थ्रीमा स्वतः पुग्नेछ ।
बहराइनले दिएको ७७ रनको लक्ष्य पछ्याइरहेको नेपालले ५ दशमलव ४ ओभरमा ४ विकेट गुमाउँदै ५६ रन बनाएको थियो । वर्षाको कारण खेल अगाडि बढ्न नसकेपछि नेपाल ६ विकेटले विजयी भएको हो ।
नेपालकी कप्तान इन्दु बर्माले सर्वाधिक २४ रन बनाइन् । अविजित रहेकी उनले ७ बलमा ४ चौका र १ छक्का प्रहार गरिन् । उपकप्तान पूजा महतो १३ रनमा आउट भइन् । बहराइनकी प्रवित्रा सेठ्ठीले सर्वाधिक ३ विकेट लिइन् ।
प्रतिक्रिया