मादल हाम्रो मौलिक कला र संस्कृतिको पहिचान हो : मन्त्री शर्मा

काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले मादल हाम्रो मौलिक कला र संस्कृतिको पहिचान भएकाले यसको संरक्षण गर्नु सबैको दायित्व भएको बताएकी छन् ।

उनले बिहीबार कर्णाली कलाकार प्रतिष्ठानको आयोजना र नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानको सहआयोजनामा भएको ‘राष्ट्रिय महिला मादल वादन’ प्रतियोगिताको कार्यक्रममा यस्तो बताएकी हुन् ।

‘हामीले धेरै पटक भाषण गर्दा पनि बुझाउन नसकिने कुरा कलाकार साथीहरुले मादल बाजाएरै बुझाउन सक्नुहुन्थ्यो’, उनले भनिन्, ‘मादल हाम्रो मौलिक कला र संस्कृतिको पहिचान पनि हो र यसको संरक्षण गर्नु सबैको दायित्व हो ।’

साथै मन्त्री शर्माले लोकतान्त्रिक गणतन्त्रात्मक संविधान जारी गर्दाको समयमा जस्तै संविधान कार्यान्वयनमा पनि सबै एकजुट हुन समेत आवश्यक रहेको बताइन् ।

आज आयोजित ‘राष्ट्रिय महिला मादल बादन’ प्रतियोगिताको अवसरमा मन्त्री शर्माले संविधानमा भएको व्यवस्थालाई कार्यान्वयनमा ल्याएपछि मात्रै वास्तविक लोकतन्त्र आएको महसुस गर्न सकिने बताइन् । यसका लागि राजनीतिकदेखि सांस्कृतिक क्षेत्रको उत्तिकै जिम्मेवारी रहेको उनको भनाइ थियो ।

जनयुद्धको समयमा मादलको भूमिका र महत्व स्मरण गर्दै मन्त्री शर्माले सो अवसरमा प्रतियोगितामा मादल बजाउने महिला सहभागीलाई हौसला दिइन् । कर्णाली कलाकार प्रतिष्ठानले आयोजना गरेको कार्यक्रममा तवला वादक सुमित्रा श्रेष्ठ, समाजसेवी सावित्री अधिकारी र लोक दोहोरी गायिका खगिसरा थापालाई ‘राष्ट्रिय नारी सम्मान–२०८१’ ले सम्मान गरिएको थियो ।

सांस्कृतिक संस्थान राष्ट्रिय नाचघर जमलमा भएको कार्यक्रमको संयोजन नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानकी परिषद् सदस्य एवं लोकदोहोरी गायिका टिका पुनले गरेकी थिइन् । गायिका पुनले अहिलेसम्म देशमा महिलाहरु वाद्यवादनमा पछि परेको भन्दै महिलाहरुले पनि यस क्षेत्रमा रहेर जीविकोपार्जन गर्न सकुन् भन्ने उद्देश्यले यस प्रतियोगिताको आयोजना गरिएको बताइन् ।

प्रतिक्रिया