जेठ ३ गते नेपालको कम्युनिस्ट आन्दोलनको इतिहासमा एउटा दुःखद् दिन हो । यही दिन प्रतिक्रियावादीहरूले नेपालका दुई लोकप्रिय कम्युनिस्ट नेता कमरेड मदनकुमार भण्डारी र कमरेड जीवराज आश्रितको कायरतापूर्वक हत्या गरेका थिए । त्यो हत्याकाण्ड थियो भन्ने कुरा विभिन्न तथ्यहरूले पुष्टि गर्दछ । उहाँहरू त्यसबेला पोखराबाट मुंग्लिन हुँदै चितवनतिर गाडीमा गइरहनुभएको थियो ।
प्रथमतः त्यो गाडी मुंग्लिनबाट चितवनतिर जाँदा बाटोको देब्रे किनारा अथवा भित्तातिरबाट गइरहेको थियो । भित्ताबाट गुडिरहेको गाडी कस्तै परिस्थितिमा पनि दाहिने छेउतिर गएर खोलामा खस्ने कुनै सम्भावना हुँदैन । त्यसैले त्यो योजनाबद्ध हत्या हो ।
दोस्रो कुरा, यो दासढुंगानेर जहाँबाट जिप खसाइएको थियो, ठिक अगाडि खरानीका थुप्रा र भुसका थुप्राहरू थिए । ती गाडी खसाल्नका लागि राखिएका चिह्न थिए भन्ने कुरा प्रष्ट छ । त्यसैले उहाँहरूको योजनाबद्ध हत्या नै हो भन्ने कुरा छर्लंग हुन्छ ।
तेस्रो, त्यसरी जिप दुर्घटना हुँदा उहाँहरू मात्र खोलामा खसाइने र ड्राइभरचाहिँ सामान्य चोटपटक पनि नलागी जस्ताको तस्तै रहने कसरी हुन सक्छ । हत्यारा गिरोहसँग त्यो गाडीको ड्राइभर सबै प्रकारले मिलोमतोमा थियो भन्ने कुरा प्रष्ट छ । त्यसैले त्यो योजनाबद्ध हत्या हो । त्यो हत्यालाई कार्यान्वयन गरेको स्वयं ड्राइभरले हो भन्ने कुरा पनि प्रष्ट छ ।
चौथो, त्यो दुई जना कमरेडहरू खसेको गाडीको देब्रे दाहिने ढोकाहरू लक (नखुल्ने गरी बन्द गरेका) गरिएका रहेछन् । त्यति तल गाडी खस्दा पनि दुवै ढोका लक नै छन् । त्यो लक गरेको अरू कसैले होइन त्यो गाडीको ड्राइभरले नै हो । यसले पनि त्यही कुरा पुष्टि गर्छन् त्यो योजनाबद्ध हत्या नै हो ।
पाँचौँ, त्यो गाडीमा दुई नेताहरू हुनुहुन्थ्यो । गाडी लक नै छ । तर मदन कमरेडको लास गाडी खसेको भन्दा धेरै तल बगरमा फेला पर्यो । त्यसले के पुष्टि गर्छ भने मदन कमरेडलाई त्यो गाडीमा खसाएर होइन त्यो भन्दा पहिले नै मारेको थियो र त्यही ठाउँमा लगेर जिप दुर्घटना भएको बहाना मात्र गरिएको देखिन्छ । नत्र लक गाडीबाट लास कसरी बाहिर आउन सक्छ । यसले पनि उहाँहरूलाई योजनाबद्ध रूपले मारिएको हो, त्यो दुर्घटना देखाउने कुरा मात्र हो भन्ने कुरा प्रष्ट छ ।
छैटौँ, कमरेड मदनकुमार भण्डारीको लास खोलाले बगाएर त्यति तल पुर्याएको थियो तर उहाँको लासलाई पोस्ट मार्टम गर्दाको रिपोर्टले भन्छ उहाँहरूको फोक्सो सुक्खा थियो । त्यसमा पानी बिल्कुलै पसेको थिएन । यो तथ्यले त झन् के प्रष्ट पार्छ भने उहाँलाई पहिले नै मारेर खोलामा जिपसँगै खसाएको मात्र हो भन्ने कुरा पुष्टि हुन्छ ।
सातौँ, कमरेड मदनकुमार भण्डारीको अनुहार टाउको सग्लै थियो । त्यो फुटेको वा क्षतविक्षत केही भएको देखिएन । तर कमरेड जीवराज आश्रितको अनुहार र टाउको समेत क्षतविक्षत भएको थियो । किनभने कमरेड जीवराज आश्रितलाई गाडीमै राखेर खसाइएको हुनुपर्छ । तर मदन कमरेडलाई अन्तै मारेर लास मात्र पानीमा खसाइएको हुनाले सग्लै रहेको हुनुपर्छ । यो तथ्यले पनि त्यो योजनाबद्ध हत्याकाण्ड नै थियो भन्ने नै पुष्टि गर्छ ।
आठौँ, पछि उहाँहरूको लासको पोस्टमार्टम गर्दा उहाँको भिसेरा बाहिर लगेर परीक्षणसमेत गरिएको थियो । त्यसको रिपोर्टका बारेमा स्वयं डाक्टरले टेलिभिजनलाई बताउँदा विषको प्रभावसमेत देखिएको कुरा आएको थियो । यो तथ्यले पनि उहाँहरूलाई एउटा जल्लाद गिरोहकै योजनामा हत्या गरिएको पुष्टि हुन्छ ।
नवौँ, यी सबै तथ्यहरूभन्दा माथि सबैभन्दा अकाट्य तथ्यचाहिँ यो जिपको स्वयं ड्राइभर नै थियो । त्यहाँभन्दा ठूलो तथ्य केही थिएन । त्यसलाई समातेर सोधेको भए सम्पूर्ण कुरा जस्ताको तस्तै थाहा हुने थियो । त्यो हत्यालाई कसैले ‘रहस्यमय’ भन्नुपर्ने थिएन । त्यसबेलाको सरकारले पनि यो कुरालाई बिल्कुलै बेवास्ता गर्यो । हाम्रो पार्टीकै नेतृत्वले पनि जाँचबुझ समिति बनायो । तर त्यसले पनि सत्य तथ्यको छानबिन गर्न सकेन । आखिर दुई जना लोकप्रिय नेतृत्वको निर्ममतापूर्वक र कायरतापूर्वक हत्या भयो । त्यसलाई आज हामीहरू ‘रहस्यमय’ भन्न बाध्य भएका छौँ ।
यसरी उहाँहरूको हत्या भएको अहिले ३२ वर्ष पुगेको छ । तर अहिलेसम्म कम्युनिस्ट आन्दोलनको नेतृत्वले न त त्यो हत्याकाण्डको खोजी नीति गर्न र हत्यारा पत्ता लगाउन कुनै प्रयत्न गरेको छ । न कमरेड मदन भण्डारी र कमरेड जीवराज आश्रितले दिनुभएका योगदानहरूको मूल्यांकन नै गर्न सकेको छ । तर केही नेताहरू ‘मदन भण्डारीको योगदान भनेको जबज हो’ र ‘जबज भनेको माक्र्सवाद–लेनिनवादको सिर्जनात्मक प्रयोग र विकास’ हो भन्छन् । उनीहरू वैज्ञानिक समाजवादमा पनि ‘बहुदलीय जनवाद’ हुन्छ भनेर मदन कमरेडका विचारलाई बढाइचढाइ गर्छन्, त्यो ‘माक्र्सवादकै विकास हो’ भनी ठान्छन् र समाजवादमा पनि ‘बहुदलीय प्रतिस्पर्धा हुन्छ’ भनेर माक्र्सवाद–लेनिनवादका आधारभूत सिद्धान्तलाई नै संशोधन गर्न खोज्छन् । त्यस्तो भनेर उनीहरू नेपाली समाजवादी क्रान्तिका कार्यदिशा, नीति, सिद्धान्त र लक्ष्यमा ‘संशोधनवाद’ घुसाउन खोज्छन् । यतिबेला कमरेड मदन भण्डारीको पक्षपोषण गर्ने नाममा उहाँको माक्र्सवादी द्वन्द्ववादी मूल्यांकन गर्नुको सट्टा उहाँका केही विचारको प्रशस्ती गाउँने, उहाँलाई देवत्वकरण गर्ने र वास्तवमा कमरेड मदन भण्डारीलाई नै अपमान गर्दै नेपाली समाजवादी क्रान्तिको लक्ष्य – वैज्ञानिक समाजवादलाई नै विकृत बनाउने प्रयत्न भइरहेको छ । त्यसकारण नेपालका कम्युनिस्टहरू माक्र्सवादी दृष्टिकोणका आधारमा खडा भएर कमरेड मदन भण्डारी र कमरेड जीवराज आश्रितका योगदानहरूको तथ्यसम्मत ढंगले मूल्यांकन गर्न अत्यन्त जरुरी भएको छ । त्यसो नगर्ने हो भने नेपाली कम्युनिस्ट आन्दोलनमा संशोधनवादको दुषित हावा चल्ने खतरा देखिएकाले कमरेड मदन भण्डारी र उहाँका योगदानहरूका बारेमा यो सार संक्षेप मूल्यांकन प्रस्तुत गरिएको छ ।
(१) उहाँले सधैँ माक्र्सवाद–लेनिनवादलाई मार्गदर्शक सिद्धान्तका रूपमा लिनुभयो र त्यसलाई नेपाली क्रान्तिको व्यवहारमा उतार्न दृढ प्रयत्न गर्नुभयो ।
(२) उहाँले सामन्तवाद, दलाल पुँजीवाद र साम्राज्यवाद तथा विस्तारवादको विरोधमा जीवनभरि संघर्ष गर्नुभयो ।
(३) उहाँले जीवनको ९८ प्रतिशतभन्दा बढी समय नयाँ जनवादको पक्षमा लड्नुभयो ।
(४) उहाँ नेपाली नयाँ जनवादी क्रान्ति र रूपान्तरणको काममा निरन्तर लागि रहनुभयो ।
(५) उहाँले सधैँ सर्वहारा श्रमिक वर्गका प्रतिनिधिका रूपमा संघर्ष गर्नुभयो र त्यसको अग्रदूतका रूपमा नेपाली जनतालाई राष्ट्रिय स्वतन्त्रता र सामाजिक मुक्तिको संघर्षमा अगुवाई गर्ने प्रयत्न गर्नुभयो ।
(६) उहाँले नेपाली कम्युनिस्ट आन्दोलनलाई अघि बढाउन वैचारिक र संगठनात्मक रूपले योगदान दिनुभयो ।
(७) उहाँले जनताको जनवादी, प्रगतिशील र देशभक्त कला साहित्य र संस्कृतिको विकासमा पनि योगदान गर्नुभयो ।
(८) उहाँले विभिन्न वर्ग, तह र समुदायका जनताका विविधतापूर्ण संघर्षलाई अघि बढाउन योगदान गर्नुभयो ।
(९) उहाँले नेपाली जनताको साम्राज्यवाद र प्रभुत्ववाद विरोधी देशभक्तिपूर्ण आन्दोलनलाई सधैँ समर्थन गर्नुभयो, देशभक्तिपूर्ण संघर्षको पक्षमा आवाज उठाउनुभयो र त्यही संघर्षलाई अघि बढाउने क्रममा उहाँले भारतसँग गरिएको असमान र अपमानपूर्ण टनकपुर सम्झौताको विरुद्धको आन्दोलनमा संसद्भित्रको संघर्षमा अगुवाइ गर्नुभयो र हामीले संसद्मा ८ घण्टा उभिएर नारासमेत लगाएका थियौँ । उहाँ एउटा दृढ देशभक्त पनि हुनुहुन्थ्यो । यदि उहाँ रहिरहेको भए महाकाली सन्धिजस्तो असमान र अपमानपूर्ण सन्धि सायद हुने नै थिएन ।
(१०) उहाँ एउटा लोकप्रिय वक्ता पनि हुनुहुन्थ्यो । उहाँले आफ्ना भाषणहरूमार्फत राष्ट्रियता, जनजीविका र लोकतन्त्रका बारेमा दिनुभएका दर्जनौँ भाषणहरूले नेपाली जनतालाई सामन्तवाद, निरंकुश राजतन्त्र, दलाल नोकरशाही पुँजीवाद र साम्राज्यवादका विरुद्ध जागृत, संगठित र आन्दोलित हुन महत्वपूर्ण मद्दत पनि गर्नुभयो ।
(११) त्यही सिलसिलामा उहाँले पार्टी र क्रान्तिलाई अघि बढाउने काममा दृढतापूर्वक लागिरहेकै बेलामा प्रतिक्रियावादीहरूले रहस्यमय षड्यन्त्रको ब्यूह रचना गरेर उहाँको कायरतापूर्ण ढंगले दासढुंगामा हत्या गरे । यसरी उहाँले नेपाली क्रान्ति र पार्टीका निम्ति आफ्नो जीवनलाई समेत बलिदान गर्नुभयो र शहादत प्राप्त गर्नुभयो ।
(१२) त्यसका साथसाथै उहाँले नेपाली समाज र राष्ट्रलाई लोकतान्त्रीकरण गर्ने नाममा सर्वहारा श्रमजीवी वर्गको नेतृत्वमा मजदुर किसान एकतामा आधारित निम्न पुँजीपति वर्ग, राष्ट्रिय पुँजीपति वर्ग र सम्पूर्ण देशभक्त तथा जनवादी व्यक्तिहरूको समेत सामन्तवाद दलाल नोकरशाही पुँजीवाद र सामन्तवाद विरोधी व्यापक जनताको लोकतन्त्रका रूपमा रहेको नयाँ जनवादमा बहुदलीय जनवादजस्तो पुँजीवादी जनवादलाई जोड्न पुग्नुभयो । यो भने गम्भीर दक्षिणपन्थी गल्ती थियो । त्यसले बिस्तारै पार्टीलाई नयाँ जनवादबाट टाढा पुर्यायो र पार्टीलाई नै पुँजीवादी जनवादतिर लग्यो । त्यसको परिणाम स्वरूप हामीले २०६२–०६३ सालमा आएर पुँजीवादी जनवादी क्रान्ति गर्यौँ तर नयाँ जनवादी क्रान्ति सम्पन्न गर्न सकेनौँ । त्यसले गर्दा अहिले देश पुँजीवादी गणतन्त्र, पुँजीवादी संसदीय व्यवस्था, पुँजीवादी अर्थ व्यवस्था र पुँजीवादी संस्कृतिको एउटा अनिश्चित अवस्थामा गुज्रिन बाध्य भएको छ ।
(१३) उपरोक्त कमजोरीहरू क.मदन भण्डारीले गर्नुभएका अन्य महत्वपूर्ण योगदानको तुलनामा गौण पक्षहरू हुन् ।
समग्रतामा मूल्यांकन गर्दा उहाँको योगदानहरू धेरै नै महत्वपूर्ण र प्रभावशाली पक्षहरू छन् । उहाँको यो पक्ष नै आधारभूत, प्रमुख र निर्णायक पक्ष हो । समग्र रूपले मूल्यांकन गर्दा उहाँका अशल र प्रभुत्वशाली पक्ष ८० प्रतिशतभन्दा बढी रहेको छ र उहाँको कमजोर पक्ष भने २० प्रतिशतभन्दा कम रहेको छ ।
त्यसैकारण हामीले अन्य सबै नेताहरूलाई जस्तै कमरेड मदन भण्डारीका योगदानहरूको पनि यथार्थ र वस्तुवादी ढंगले मूल्यांकन गर्नुपर्छ । उहाँको योगदानका दुवै पक्षलाई देख्नु र विश्लेषण गर्नुपर्छ । सबैका सबल र निर्बल पक्षहरू हुन्छन् र उहाँका पनि थिए । एकथरी मानिसहरू ‘बहुदलीय जनवाद’लाई नै उहाँको सम्पूर्ण योगदानहरू हो भने जस्तो ढंगले मूल्यांकन गर्छन् र मदन भण्डारी – बहुदलीय जनवाद जस्तो देख्छन् । अझ ‘बहुदलीय जनवाद’लाई नै ‘माक्र्सवाद–लेनिनवादमा सिर्जनात्मक विकास’ समेत ठान्न पुग्छन ।
यो बिल्कुलै एक पाखे, अधिभौतिकवादी र गलत मूल्यांकन हो । हामीले हर व्यक्ति, नेता, कमिटी, पार्टी र आन्दोलनलाई समेत द्वन्द्वात्मक भौतिकवादी दृष्टिकोणका आधारमा तथ्य सम्मत ढंगले मूल्यांकन गर्नुपर्छ । त्यसो नगरेर उहाँको कमजोरीलाईचाहिँ ‘माक्र्सवादमा सिर्जनात्मक प्रयोग’ ठान्ने, कमजोर पक्षलाई अझ बढाइचडाइ गर्ने, त्यसैलाई ‘महान योगदान’ भनेर देवत्वकरण गर्ने जस्ता प्रवृत्तिले कमरेड मदन भण्डारीका वास्तविक योगदानहरूलाई ओझेलमा पार्नेछ, उहाँप्रति अपमानित गर्नेछ र पार्टी तथा क्रान्तिलाई नोक्सान गर्नेछ ।
हामीले यस्ता एक पाखे र अद्वन्द्ववादी मूल्यांकन गर्ने प्रवृत्तिबाट सर्तक हुनुपर्छ । उहाँका योगदान र कमजोरीहरूका बारेमा तथ्यहरूका आधारमा मूल्यांकन गर्नुपर्छ । उहाँले दिनुभएका उपरोक्त योगदानहरूको दृढतापूर्वक रक्षा गर्नुपर्छ, ती योगदानहरूलाई आजको समाजवादी क्रान्ति र रूपान्तरणको प्रक्रिया अघि बढिरहेको अवस्थामा उपयोग गर्नुपर्छ र आजको ठोस परिस्थिति अनुरूप समाजवादी क्रान्तिलाई दृढतापूर्वक अघि बढाउँदै वैज्ञानिक समाजवाद प्राप्तिको दिशामा सम्पूर्ण क्रान्तिकारी शक्तिहरूलाई गोलबद्ध गर्दै अघि बढ्नुपर्छ । यो नै क.मदन भण्डारी र क.जिवराज आश्रितप्रतिको सच्चा मूल्यांकन हुनेछ र उहाँहरूप्रतिको सच्चा श्रद्धाञ्जली पनि हुनेछ ।
प्रतिक्रिया