माओवादीसहित पाँच कम्युनिष्ट पार्टीले काठमाडौंमा बृहत् प्रदर्शन गर्ने

काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रसहितका पाँच कम्युनिष्ट पार्टीले केन्द्रीय राजधानी काठमाडौंमा बृहत् प्रदर्शन गर्ने भएका छन् । पाँच कम्युनिष्ट पार्टीले ‘साम्राज्यवादी युद्ध र आक्रमणका विरुद्ध’छिट्टै काठमाडौंमा बृहत् प्रदर्शन गर्ने भएका हुन् ।

शनिबार माओवादी केन्द्रको कार्यालय पेरिसडाँडामा बसेको बैठकले यस्तो निर्णय गरेको हो । उक्त बैठकमा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, नेकपा (विप्लव) नेकपा मसाल र नेकपा क्रान्तिकारी माओवादीको बैठकले यस्तो निर्णय गरेको नेकपाका प्रवक्ता खड्गबहादुर विश्वकर्मा (प्रकाण्ड) ले जानकारी दिए ।

प्रवक्ता विश्वकर्माका अनुसार प्रदर्शनका लागि ठोस कार्यक्रम बनाउन सबै पार्टीबाट दुई–दुई जना रहनेगरि कार्यदल समेत बनाइएको छ । बैठकमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल, नेकपा (विप्लव) का प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’, नेकपा (मसाल) का महासचिव मोहनविक्रम सिंह, र नेकपा (क्रान्तिकारी माओवादी) का कार्यवाहक महासचिव सीपी गजुरेललगायत शीर्ष नेताहरू सहभागी थिए ।

विश्वकर्माले भने, ‘साम्राज्यवादी युद्ध र आक्रमणका विरुद्धमा छिट्टै काठमाडौंमा ठूलो प्रदर्शन गर्ने भन्नेमा पुगेका छौँ, त्यसका निम्ति सबै पार्टीबाट दुई–दुई जना रहनेगरि कार्यदल गठन भएको छ, कार्यदलको पर्सि बैठक बस्छ र ठोस कार्यक्रम बनाउँछ ।’

कार्यदलमा माओवादी केन्द्रबाट देव गुरुङ र लिलामणि पोखरेल, नेकपा एकीकृत समाजवादीबाट बलराम बास्कोटा र अर्को एक जना पछि थप हुने, क्रान्तकारी माओवादीबाट परि थापा र अर्को एक जना पछि थप हुने उनको भनाई छ । त्यस्तै नेकपाबाट खड्गबहादुर विश्वकर्मा र चिरण सी रहेका छन् भने नेकपा मसालबाट भैरव रेग्मी र अर्को एक जना पछि थपिने बताइएको छ ।

प्रतिक्रिया