सरकारी कार्यालय बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म मात्र सञ्चालन हुनुपर्ने कानुनी व्यवस्था छ । अधिकांश निजी कार्यालयहरू पनि सोही समयसम्मै सञ्चालन हुन्छन् । यद्यपि, शनिबार र सार्वजनिक बिदाका दिन सरकारी होस् या निजी कार्यालय बन्द गरिनुपर्छ ।
अहिले बजारमा धेरै मानिसहरूको गुनासो सुनिन्छ, ‘बैंक, वित्तीय संस्थाले राति १२ बजेसमेत फोन गरेर टर्चर दियो । सार्वजनिक बिदाका दिनसमेत फोन गरेर धम्की दिन्छ ।’ नेपाल राष्ट्र बैंकको नीतिअनुसार सरकारी होस् या निजी बैंक, वित्तीय संस्था बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म खुल्न पाउँछन् ।
सार्वजनिक बिदाका दिन यी संस्था बन्द हुन्छन् । तर, बैंक, वित्तीय संस्थाका कर्मचारीहरूले कार्यालय समयबाहेक वा बिहान, राति जुनसुकै बेला पनि ऋणीलाई फोन गरेर कर्जा तिर्न दबाब दिइरहेका छन् ।
‘साँवाब्याज चुक्ता गर्नुस् कि थप धितो ल्याउनुस् । नभए हामी धितो लिलाम गर्छौं’ भनेर धम्क्याउने गरेको उनीहरूको भनाइ छ । अहिले बैंक, वित्तीय संस्थाबाट ऋण खाएका लाखौँ सर्वसाधारणको निद्रा र भोक नै हराएको छ । बिहान उठ्न नपाउँदै बैंकबाट फोन आउँछ त राति १२ बजेसमेत फोन गरेर टर्चर दिइन्छ ।
पीडितहरू भन्छन्, ‘मोबाइल खोल्नै हुँदैन । फोन आइहाल्छ । फेरि फोन नउठाए घरमै आइपुग्छन् ।’ बैंक, वित्तीय संस्थाहरूले हिजो फर्काइफर्काइ ऋण दिए । घरजग्गा, गाडी, सेयर र सुन धितो राखेर । कर्जा दिने बेला ऋणीसँग लाखौँ रकम घुस खाए । चर्को ब्याज असुले । यसरी ऋण दिएर जीवनस्तर उकास्ने नाममा आमनागरिकलाई तहसनहस बनाइयो ।
बैंक, वित्तीय संस्थाको चर्को ब्याजदरका कारण ऋणीहरू घर न घाटको अवस्थामा पुगेका छन् । गाडी स्ट्राट गरेपछि ब्रेक नलागेमा त्यो कहाँ गएर रोकिन्छ ? कसैलाई थाहा हुँदैन । त्यसरी नै घरजग्गा, गाडी र सेयरको निरन्तर मूल्य बढेपछि जनताले यी वस्तु धितो राखेर विभिन्न बैंक, वित्तीय संस्थाबाट लोन लिए ।
तर, जसरी गाडीको ब्रेक नलागेपछि दुर्घटना हुन पुग्छ, त्यसरी नै घरजग्गा, गाडी र सेयरको मूल्य वृद्धिमा ब्रेक नलाग्दा जनता डुबे । जनता होस् या बैंक, वित्तीय संस्थाले सोचेका थिए कि घरजग्गा, गाडी र सेयरबाट थुप्रै आम्दानी गरौँला । यसको मूल्य निरन्तर बढी मात्र रहने उनीहरूको सोचाइ थियो । अनि अचानक आएको हावाहुरीले उनीहरूको सपना चकनाचुर बनायो ।
कोरोना महामारीयता बजार व्यापक मन्दीमा छ । बेरोजगारी बढ्दो छ । व्यापार व्यवसाय ठप्प । मानिससँग पैसा छैन । बिहान बेलुकाको छाक टार्नसमेत धौधौ परेको छ । यस्तो अवस्थामा कसले घरजग्गा, गाडी र सेयर किन्छ त ? केही वर्षयता मालपोत, यातायात कार्यालय सुनसान छ । कुनै बेला खुट्टा टेक्नेसमेत ठाउँ नहुने व्यस्त यी २ सरकारी कार्यालयका कर्मचारी अचेल काम नभएपछि झिंगा धपाएर बसिरहेका छन् । सेवाग्राही नआएपछि घुस खान नपाउँदा कर्मचारीहरू तनावमा देखिन्छन् ।
१ लाखमा जमिन किनेर डोजर चलाई टुक्राटुक्रा बनाएर भूमाफिया, दलालहरूले आनाकै ६०–७० लाखमा बेचे । त्यसले नपुगेपछि देशभरको सरकारी, सार्वजनिक जग्गासमेत दर्ता गरे । बैंकले १०० रुपैयाँ कित्तामा निष्काशन गरेको सेयर दलालहरूले ३ हजार ५०० देखि ५ हजारसम्ममा बेचे ।
फेरि यस्ता जोखिमपूर्ण वस्तु धितो राखेर बैंकले धमाधम कर्जा प्रवाह गरे । अहिले त्यसको परिमाण भोग्दैछन् । कर्जा दिँदा बैंकका सञ्चालक, अध्यक्ष वा कर्जा अधिकृतले १० प्रतिशत घुस खान्थे । ऋणको ३ प्रतिशत सेवाशुल्क र १२ प्रतिशत ब्याज भनेर ८० प्रतिशत असुल्थे । र, धितोको बिमा गराउँथे । यसरी बिमा गराउँदासमेत बैंकले कमिसन बुझ्थे । बैंक, वित्तीय संस्थाको सम्पूर्ण कर्जा लगानी घरजग्गा, गाडी र सेयरमा रहेको छर्लंग छ ।
जनसंख्याको ९५ प्रतिशतले बैंक, वित्तीय संस्थाबाट ऋण लिएका छन् । यही वस्तु धितो राखेर । तर, पछिल्लो समय बजारमा यी तीनै क्षेत्र सुस्ताएको छ । अहिले यो बेच्न खोज्ने छ्यापछ्याप्ती भेटिन्छन्, किन्नेचाहिँ कोही छैन । बैंक संकटमा परिसक्यो । सहकारीजसरी बैंक पनि छिट्टै भाग्ने चर्चा बजारमा व्यापक छ ।
रुषा थापा
भक्तपुर
०००
किन सार्ने गण्डकी प्रदेशको राजधानी ?
सौर्य दैनिकको यही १२ असारको अंकमा प्रकाशित सूर्यभक्त अधिकारीको ‘पर्यटकीय सुन्दरता समाप्त हुने पर्खाइमा पोखरा’ शीर्षकको लेख निकै गम्भीर छ । लेखक अधिकारीले ‘पोखरालाई कंक्रिट र फोहोरी सहरमा परिणत हुने खतराबाट जोगाउने हो भने प्रदेशको राजधानीका लागि पोखराको विकल्प खोज्न कति पनि ढिलाइ गर्नुहुन्न । तर, यो विकल्प पोखराबाट टाढाको दुरीमा भने हुनु हुन्न । पोखराबाट कार्यालय भ्याउने गरी १ देखि डेढ घन्टाको ड्राइभिङ दुरीमा प्रदेश राजधानी स्थापना गर्नुपर्छ’ भन्नुभएको छ । बास्तवमा यथार्थता यही हो ।
गण्डकी प्रदेशको राजधानी पोखरा तोकिए पनि प्रदेश सरकार तथा संसद्का लागि भौतिक संरचना निर्माणको काम अझै बाँकी रहेका कारण गल्ती सच्याउने अवसर गुमेको छैन । प्रदेश राजधानीका लागि उपयुक्त संभावित स्थानका सन्दर्भमा लेखक अधिकारीले तनहुँ जिल्ला सदरमुकाम दमौली, लमजुङको मध्यनेपाल नगरपालिका तथा कास्कीको रुपा गाउँपालिका क्षेत्रको मादी उपत्यकालाई इंगित गर्नुभएको छ । जुन कुरा सबै दृष्टिले उपयुक्त छ ।
पृथ्वीराजमार्गको आँबुखैरेनी–पोखरा खण्ड ४ लेन चौडाइको बनिसकेको अवस्था एकातिर छ भने अर्कातिर आवश्यक अन्य पूर्वाधारसमेत रहेका कारण सबैभन्दा उपयुक्त दमौली (व्यास नगरपालिका) क्षेत्र हुन सक्छ । भूगोल र जनसंख्याको दृष्टिले पनि व्यास जन्मभूमि दमौली पायक पर्छ । गण्डकी प्रदेशको आधा जनसंख्या १ घण्टाको बस यात्रामा दमौली पुग्न सक्ने अवस्था छ ।
त्यसो त गण्डकी प्रदेशका आधा जनसंख्याको बसोबास राजधानी काठमाडौँ तथा चितवनमा छ । बुद्धसिंह राजमार्ग सुचारु हुनासाथ चितवनबाट दमौली बसमा चढेर १ घण्टामा पुग्न सकिन्छ । यसैगरी पृथ्वीराजमार्ग बिस्तारको काम सम्पन्न हुनासाथ काठमाडौँबाट बस चढेर अढाई घण्टामा दमौली पुग्न सकिन्छ ।
विक्रम नहर्की
व्यास नगरपालिका–४
प्रतिक्रिया