‘मिसेस नेपाल वल्र्ड’ को आवेदन खुला

काठमाडौँ । विवाहित महिलाहरूको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वल्र्ड’ को चौथो संस्करणको आवेदन खुला भएको छ । आयोजक संस्था रिबन इन्टरटेन्मेन्ट प्रालिले मिसेस नेपाल वल्र्ड २०२५ को आवेदन खुला गरिएको घोषणा गरेको हो ।

प्रतियोगीताको अडिसन र ग्रान्ड फिनालेको मितिसमेत सार्वजनिक गरिएको छ । आयोजक संस्था रिवन इन्टरटेन्मेन्ट प्रालिका अध्यक्ष निशुकान्त झाले प्रतियोगिताको पहिलो चरणको अडिसन १७ साउनमा नयाँबानेश्वरस्थित अर्याल इन्टरनेसनल होटलमा हुने र ग्रान्ड फिनाले २८ असोजमा नेपाल प्रज्ञा प्रतिष्ठान कमलादीमा हुने जानकारी गराए ।

यस वर्ष मिसेस नेपाल वल्र्डमा लोकप्रिय हास्य अभिनेता केदार घिमिरे (माग्ने बुढा) र अभिनेत्री दीपिका प्रसाईं पनि जोडिएका छन् । पत्रकार सम्मेलनमा केदार प्रमुख अतिथि र दीपिका गुडविल एम्बेस्डरका रूपमा सहभागी भए । केदारले चौथो स्टेजको क्यान्सरसँग जुधिरहेकी एमएस नेपाल २०२३ सीता सुवेदीको उपचारका लागि ५१ हजार रुपैयाँ सहयोग प्रदान गर्ने घोषणा गर्दै अन्य व्यक्तिलाई समेत उनलाई सहयोग गर्न आह्वान गरे ।

घिमिरलेले मिसेस नेपाल विवाहित महिलाका लागि निकै राम्रो अवसर रहेको चर्चा गर्दै यसमा भाग लिनका लागि घरपरिवारको सहयोगका साथै प्रतियोगी आफैँमा विभिन्न कुरामा पोख्त हुनुपर्ने बताए । गुडविल एम्बेस्डर तथा अभिनेत्री प्रसाईंले मिसेस नेपाल वल्र्ड केवल सौन्दर्य प्रतियोगीता मात्र नभई महिलालाई आत्मविश्वाशका साथ अगाडि बढ्न हौसला दिने साझा मञ्च रहेको चर्चा गर्दै त्यसका लागि महिला स्वयंले आत्मविश्वासका साथ अघि बढनुपर्ने बताइन् ।

मिसेस नेपाल वल्र्ड २०२४ डेनिला कार्कीले मिसेस नेपाल वल्र्डमा भाग लिएर विजेता बनेपछि आफूले धेरैलाई केही न केही ढंगले सकरात्मक रूपमा प्रभावित पार्न सकेको जनाउँदै विवाहपछि पनि आफूलाई अगाडि बढाउन चाहने महिलाका लागि यो निकै राम्रो अवसर रहेकाले अँगाल्न आग्रह गरिन् ।

आयोजक निशुकान्त झाका अनुसार प्रतियोगितामा सहभागी हुनको लागि उचाइ र तौलको मापदण्ड राखिएको छैन, तर इच्छुक प्रतियोगी न्यूनतम एसएलसी उत्तीर्ण भने हुनुपर्नेछ । प्रतियोगितामा एकल महिलाले पनि सहभागिता जनाउन सक्नेछन् । आवेदन खल्ती एप वा रिबन इन्टरटेनमेन्टको आधिकारिक वेबसाइटमार्फत भर्न सकिनेछ ।

प्रतियोगिता अवधिभर विभिन्न क्षेत्रका विज्ञ प्रशिक्षकद्वारा व्यक्तित्व विकास, प्रस्तुति कला, आत्मविश्वास अभिवृद्धि, सञ्चार सीप लगायतका विषयमा विशेष प्रशिक्षण प्रदान गरिनेछ ।


प्रतियोगितामा कोरियोग्राफर आश्विनीकान्त झा रहनेछन् भने नृत्य कोरियोग्राफी सन्दीप भुजेल, सहायक कोरियोग्राफर आइना गजुरेल रहनेछन् । प्रतियोगिताको समन्वय सम्राट शाह र गंगा महर्जनले गर्नेछन् । मिसेस नेपाल वल्र्डसँगै मिसेस नेपाल इन्टरनेसनल र एमएस इन्टरनेसनल उपाधिका विजेता पनि सोही मञ्चबाट घोषणा गरिनेछ । विजेता मिसेस नेपाल वल्र्डले आगामी वर्ष अमेरिकामा हुने मिसेस वल्र्ड २०२५ मा नेपालको प्रतिनिधित्व गर्ने अवसर प्राप्त गर्नेछिन् ।

प्रतिक्रिया