कांग्रेस–एमाले आमनेसामने

मनियारी चौरमा विश्वविद्यालय निर्माण विवाद

जनकपुरधाम । राजर्षि जनक विश्वविद्यालयको भवन निमार्णका लागि अवरोध सृजना भएको भन्दै जनकपुरधामका २ सांसद एकअर्काबीच आरोप प्रत्यारोपमा उत्रिएका छन् । विश्वविद्यालयको भवन निर्माणस्थललाई लिएर एमाले नेता रघुवीर महासेठ र कांग्रेस नेता विमलेन्द्र निधिबीचको वाकयुद्ध अन्ततः नेपाली कांग्रेसविरुद्ध नेकपा एमालेको ‘लडाईं’मा परिणत भएको छ ।

विश्वविद्यालय निर्माणका लागि तोकिएको क्षेत्र नगराइन नगरपालिकास्थित मनियारी कुटीको जग्गामा सांसद जुली महासेठले बाधा पु¥याएको भन्दै सांसद विमलेन्द्र निधिले सार्वजनिक वक्तव्य दिएको भोलिपल्ट नै सांसद रघुवीर महासेठले खुरापाती कुरा नगर्न सांसद निधिलाई चेतावनी दिए । निधि र महासेठको यो जुहारी अहिले जनकपुरधाममा चर्चाको विषय त बनेको छ नै, एकअर्का दलका समर्थकहरूबीच सामाजिक सञ्जाल रंगाउने मेलो बनेको छ ।

के भनेका थिए निधिले ?

नेपाली कांग्रेसका पूर्वउपसभापति तथा प्रतिनिधिसभा सदस्य निधिले राजर्षिजनक विश्वविद्यालयको भवन निर्माणमा नेकपा एमाले बाधक रहेको आरोप लगाएका छन् । जनकपुरधाममा शनिबार आयोजना गरिएको पत्रकार सम्मेलनमा पूर्वउपप्रधानमन्त्रीसमेत रहेका नेता निधिले नेकपा एमाले धनुषा निर्वाचन क्षेत्र नम्बर ३ र क्षेत्र नम्बर ४ बाट निर्वाचित प्रतिनिधिसभा सदस्यहरूले विश्वविद्यालयको भवन निर्माणमा अवरोध गरिरहेको आरोप लगाए । धनुषा क्षेत्र नम्बर ३ बाट एमालेकी जुलीकुमारी महतो र क्षेत्र नम्बर ४ बाट रघुवीर महासेठ प्रतिनिधिसभा सदस्य छन् ।

कांग्रेसका तत्कालीन मन्त्री महन्थ ठाकुरको नेतृत्वमा विश्वविद्यालय स्थापनार्थ कार्यदल गठन भएको स्मरण गर्दै उनले नेता निधिले संसद् विघटन भएको अवस्थामा आफू शिक्षामन्त्री छँदा अध्यादेशमार्फत राजर्षिजनक विश्वविद्यालय स्थापनाका लागि कानुन बनाएको उल्लेख गरे । सुरूमा मुजेलियामै विश्वविद्यालयको मुख्य कार्यालय स्थापना गर्ने प्रयास गरिए पनि त्यहाँ विभिन्न कार्यालयहरू रहेकाले सम्भव हुन नसकेको उनले बताए । मुजेलियामा सम्भव नभएपछि विश्वविद्यालय भवन निर्माणका लागि हाल नगराइन नगरपालिकाको फुलगामास्थित मनिहारीमा गुठी अधिनस्थ जग्गा छुट्याइएको उनले जानकारी दिए ।

मुजेलियामा रहेको स्थानीय प्रशिक्षण केन्द्र र सडक विभागको जग्गामा विश्वविद्यालयको केन्द्रीय कार्यालय राख्ने स्थापनाकालमै निर्णय भएको थियो । तर नेता निधि भौतिक पूर्वाधार विकास मन्त्री भएको बेला त्यसबाट ४ बिघा जग्गा सशस्त्र सीमा सुरक्षा बलको कार्यालय निर्माणका लागि उपलब्ध गराएका थिए । विश्वविद्यालयको केन्द्रीय कार्यालयलाई त्यहाँ बनाउन नदिने उद्देश्यले निधिले सो जग्गा सशस्त्र प्रहरीलाई उपलब्ध गराएको आरोप छ ।

महासेठको जबाफ

निधिले पत्रकार सम्मेलन गरेको भोलिपल्टै नेकपा एमालेका केन्द्रीय सचिव रघुवीर महासेठले नेपाली कांग्रेसका पूर्वउपसभापति निधिकै कारण जनकपुरधामको विकास हुन नसकेको आरोप लगाए । जनकपुरधाममा आइतबार आयोजित प्रेस मिटमा पूर्वउपप्रधानमन्त्रीसमेत रहेका सचिव महासेठले राजर्षि जनक विश्वविद्यालयको प्रशासनिक भवन नबन्नुमा नेता निधिकै विकासविरोधी हर्कत कारक रहेको आरोप लगाए ।

‘प्रशासनिक भवन फुलगामाको मनिहारीमा बनोस् वा अन्य ठाउँमा बनोस्’, उनले भने, मुजेलियामै विश्वविद्यालयको भौतिक संरचना निर्माण भएमा यहाँका वासिन्दालाई सहज हुने छ । उनले घुमाउरो पारामा फुलगामामा निर्माण हुने कुरा नदोहो¥याए पनि मुजेलियामै निर्माण गर्नुपर्ने सुझाएका थिए । नेता निधिमाथि आरोप लगाउँदै सचिव महासेठले पटकपटक विकास विरोधी काम गर्ने र अरूमाथि आरोप लगाउनु लज्जास्पद रहेको टिप्पणी गरेका थिए ।

समानुपातिकबाट छानिएका प्रतिनिधिसभा सदस्य निधिले विश्वविद्यालय स्थापनामा कुनै पनि भूमिका नरहेको जिकिर गर्दै उनले झुटो बोलेको महासेठको आरोप थियो । नेता निधिले शनिबार आयोजना गरेको पत्रकार सम्मेलनमा धनुषा निर्वाचन क्षेत्र नम्बर ३ र ४ बाट निर्वाचित प्रतिनिधिसभा सदस्यहरू राजर्षि जनक विश्वविद्यालयको प्रशासनिक भवन मनिहारीबाट सारेर अन्यत्र लग्न लागेको आरोप लगाएका थिए । उनले भने, ‘विमलेन्द्र निधिजी मेरो मित्र हो, म उहाँलाई सम्मान गर्छु, तर उनको पछिल्लो समय आएको अभिव्यक्ति गैरराजनीतिक र पूर्वाग्रहले परिपूर्ण रहेको छ ।’ कार्यक्रममा नेतृ जुली महासेठले आफूलाई महिला सांसद भनेर निधिले अपमान गरेको आरोप लगाइन् ।

के हो विवाद ?

राजर्षिजनक विश्वविद्यालयको भवन निर्माणका लागि जनकपुरधामको छिमेकी नगराइन नगरपालिकाको फुलगामास्थित मनिहारी भन्ने ठाउँमा गुठी अधिनस्त जग्गा लिजमा लिने सम्झौता भइसके पनि निर्माण कार्य अगाडि बढ्न सकेको छैन ।

विश्वविद्यालयका उपकुलपति डा.अमरप्रसाद यादव केही राजनीतिक दलका नेताहरूको दबाब र प्रभावमा परी निर्माण कार्य अगाडि बढ्न नसकेको बताउँछन् । विश्वविद्यालय स्रोतका अनुसार कांग्रेसका सहमहामन्त्री महेन्द्र यादव आफ्नो निर्वाचन क्षेत्र नम्बर ४ मा पर्ने मुजेलियामा भवन निर्माणका लागि उपकुलपति यादवमाथि दबाब दिइरहेका छन् ।

केही दिनअघि कांग्रेस धनुषाका सभापति योगेन्द्र पंजियारको नेतृत्वमा ध्यानाकर्षणपत्र बुझाउन गएका जिल्ला नेताहरूसमक्ष उपकुलपति यादवले राजनीतिक दबाबका कारण विश्वविद्यालय भवन निर्माण प्रक्रिया अगाडि बढ्न नसकेको बताएका थिए । यद्यपि उनले कुनै राजनीतिक दल र नेताको नाम भने लिएनन् ।

हाल जनकपुरधाम–८ मा भाडाको घरमा सञ्चालन भइरहेको विश्वविद्यालयको आफ्नै भवन बनाउन केहीअघि गुठी संस्थानसँग सम्झौता भएको थियो । वार्षिक ५ लाख रुपैयाँ केन्द्रीय गुठी संस्थानलाई तिर्नेगरी विश्वविद्यालय भवन निर्माणका लागि मनिहारीमा ९ बिघा १४ कठ्ठा १३ धुर जग्गा प्राप्त गर्ने सम्झौता छ । विश्वविद्यालय भवन निर्माणका लागि बजेटको समेत अभाव नरहे पनि उपकुलपति यादव राजनीतिक दबाबमा परेर निर्माण कार्य अगाडि बढाउन नचाहेको नेता निधिको आरोप छ ।

यता सहमहामन्त्री महेन्द्र यादव निकट रहेका कांग्रेस मधेस प्रदेश समिति सदस्य बजरंग यादवले शुक्रबार प्रेस विज्ञप्ति निकालेर मुजेलियामै विश्वविद्यालय भवन निर्माण गर्न माग गरेका छन् । प्रदेश समिति सदस्य यादवले १ विज्ञप्ति जारी गर्दै राजर्षि जनक विश्वविद्यालय जनकपुरधाममै हुनुपर्ने माग गरे । विश्वविद्यालयको विधानमा पनि जनकपुरधाममै विश्वविद्यालय हुनुपर्ने उल्लेख गरिएकाले यसलाई ग्रामीण क्षेत्रमा नसार्नका लागि उनले आग्रह गरे । फुलगामामा सार्दा विश्वविद्यालयको अस्तित्व नै जोखिममा पर्ने भएकाले जनकपुरधाममै जग्गाको व्यवस्थापन गर्नुपर्ने माग सदस्य यादवले गरे ।

पटकपटक झगडाको कारक मनियारी चौरी

नगराइन नगरपालिकाको फुलगामा र घोडघासबीचमा छ मनियारी चौरी । बीच चौरीमा रहेको सुनसान ठाउँ मनियारी चौरीमा विश्वविद्यालय निर्माणका लागि जग्गा पर्याप्त रहे पनि वर्तमान अवस्थामा उक्त ठाउँमा विश्वविद्यालय निर्माण गरिए विद्यार्थीको पहँुच अलि कम हुने अनुमान गरिएको छ । नेपाल– भारत सीमा नजिकै रहेको उक्त स्थान आसपास तस्करीजस्ता अबैध काम हुने गरेकोले सुरक्षाको दृष्टिकोणले पनि विश्वविद्यालय निमार्णका लागि उपयुक्त नरहेको जानकारहरूको भनाइ छ ।

अर्कोतर्फ एसियाली विकास बैंक (एडिबी)ले जनकपुरधाम पुनःनिमार्णको क्रममा फोहोर डम्पिङ साइट बनाउनका लागि उक्त जग्गाको माटो परीक्षण गरेका थिए । त्यतिबेला अन्य ठाउँभन्दा मनियारी चौरी उत्कृष्ट भएको भन्दै डम्पिङ साइट निमार्णका लागि कानुनी रूपमा अगाडि बढ्ने प्रयास गरिएको थियो । तर सांसद विमलेन्द्र निधिले नै उक्त जग्गा विश्वविद्यालय निमार्णका लागि छुटयाइएको भन्दै रोक लगाएका थिए । यसका बाबजुद त्यो जमिनमा ल्यान्डफिल बनाउनका लागि प्रक्रिया अगाडि बढाएपछि नेता निधिले स्थानीयवासीलाई उचालेर आन्दोलन नै गराएका थिए । उक्त आन्दोलनपश्चात् ल्यान्डफिल साइट बनाउँदा गाउँ दुर्गन्धित बन्ने हल्ला पनि फिजाइयो जसको कारण अहिलेसम्म ल्यान्डफिल साइट बन्न सकेको छैन ।

एमाले नेता महासेठका अनुसार मुजेलियामा रहेको स्थानीय प्रशिक्षण केन्द्र र सडक विभागको जग्गामा केन्द्रीय कार्यालय राख्ने विश्वविद्यालयको स्थापनाकालमै निर्णय भएको हो । तर नेता निधि भौतिक पूर्वाधार विकास मन्त्री भएको बेला त्यसबाट ४ बिघा जग्गा सशस्त्र सीमा सुरक्षा बलको कार्यालय निर्माणका लागि उपलब्ध गराएका थिए । विश्वविद्यालयको केन्द्रीय कार्यालयलाई त्यहाँ बनाउन नदिने उद्देश्यले सो जग्गा सशस्त्र प्रहरीलाई दिएको एमाले कार्यकर्ताहरूको आरोप लगाउँदै जटही बोर्डरमा हुनुपर्ने सशस्त्र प्रहरीको कार्यालयलाई जनकपुरधामको पनि उत्तरतर्फ राख्ने निधिले निर्णय गराएको बताउँछन् ।

जटहीमा ६ लेन सडक र भन्सार कार्यालयसमेत स्थापना हुने क्रममा रहेको छ । २०७३ फागुन १८ देखि सञ्चालनमा आएको राजर्षि जनक विश्वविद्यालय विभिन्न कारणले पटकपटक विवादित बन्दै आएको छ । पठनपाठनको समस्यादेखि लिएर नेतृत्व विवाद र जग्गा विवादले विश्वविद्यालय नै धाराशायी बनाउने षड्यन्त्र हुँदै आएको जनकपुरधामवासीको आरोप छ ।

प्रतिक्रिया