क्यापिटल क्विनको उपाधि करुणालाई

काठमाडौँ । राजधानी निवासी महिलाहरूको सौन्दर्य प्रतियोगिता ‘क्यापिटल क्विन नेपाल २०२५’ को ताज करुणा भुजेल श्रेष्ठले जितेकी छन् । शनिबार ललितपुरस्थित ज्यापु प्रज्ञा एकेडेमीमा सम्पन्न प्रतियोगिता जोरपाटीकी फेसन डिजाइनर श्रेष्ठले विजेताको ताज पहिरिन सफल भएकी हुन् ।

योसँगै उनले ‘फेसन एन्ड इन्टरटेन्मेन्ट इन्टरनेसनल अवार्ड २०२६’ को लागि लन्डनमा हुने कार्यक्रममा सहभागी अवसर प्राप्त गरेकी छन् । त्यसैगरी, फस्ट रनरअपमा अनिता लामा तथा सीता राई सेकेन्ड अनरअप हुन सफल भएका छन् । हिमालय मुभिजद्वारा आयोजित सो कार्यक्रम, कार्यक्रमको नवौँ संस्करण हो ।
कार्यक्रममा विविध पेसामा आबद्ध दर्जन बढी प्रतियोगीहरूको सहभागिता रहेको थियो । प्रतियोगीहरूले करिब ३ सातासम्म व्यक्तित्व विकास, बोलीचाली अभ्यास, स्टेजको प्रस्तुति, क्याटवाक, क्षमता अभिवृद्धि, फोटोसुट, भिडियोसुट लगायतका विषयहरूमा सरिक भई तालिम लिएका थिए ।

सम्पूर्ण प्रतियोगीहरूको ग्रुमिङ गराउने जिम्मेवारी चर्चित फेसन कोरियोग्राफर हिमानी सुब्बाको थियो भने सुब्बा आफैँले प्रतियोगीहरूलाई ओपनिङ पर्फमेन्सको रूपमा आकर्षक नृत्यमा प्रस्तुति गराएकी थिइन् ।

प्रतियोगितामा परिचयात्मक चरण, बेस्ट ड्रेस, प्रश्नोत्तर चरण हुँदै प्रतियोगीहरू क्राउनिङ चरणमा पुगेका थिए । फेसन डिजाइनर तथा सौन्दर्यकर्मीहरूको बाक्लो उपस्थिति रहेको सो कार्यक्रम निकै ग्लामरस तथा सटिक देखिन्थ्यो ।

कोरियोग्राफर हिमानी सुब्बाको सोलो पर्फमेन्स, कलाकारहरूको आकर्षक नृत्य प्रस्तुती रहेको कार्यक्रममा विविध सबटाइटल अवार्डसमेत वितरण गरिएको थियो । बेस्ट ट्यालेन्ट रन्जना सिंह, बेस्ट पर्सनालिटी माया तामाङ, बेस्ट फोटोजेनिक करुणा भुजेल श्रेष्ठ र बेस्ट ड्रेस करूणा भुजेल श्रेष्ठ घोषित भए ।

मोस्ट डाइनामिक मन्दिरा श्रेष्ठ, मोस्ट स्मार्ट अनिता लामा, मोस्ट डिलीजेन्ट सिता राई, मोस्ट डिलाइटफुल मिना श्रेष्ठ, मोस्ट डिसेन्ट दिना राई र मोस्ट एयाक्टिभको अवार्ड अन्जना राईले जिते । मोस्ट चार्मिङ सन्चिता खत्री, मोस्ट प्यासोनेट सजिना तामाङ, मोस्ट डेडिकेटेड गीता राजवंशी, मोस्ट ग्रेसफुल सिताश्री बस्नेत, मोस्ट पपुलर सिताश्री बस्नेत, पब्लिक च्वाइस भिडियो सन्चिता खत्री र बेस्ट मल्टिमिडियातर्फ रन्जना सिंहले हात पार्न सफल भए ।

निर्णायक मण्डलतर्फ अभिनेत्री तथा मोडल सुष्मा अधिकारी, फेसन डिजाइनर सुक्निता चौलागाईं, मिस्टर ह्यान्डसम नेपाल २०१९ तथा मोडल अभिषेक खड्का, क्यापिटल क्विन नेपाल २०१६ लिला राई तथा मिसेस डिभा नेपाल २०२५ संगीता अधिकारी रहेका थिए । महिलाहरूको क्षमता पहिचान गरी सो को प्रस्फुटन गराई पहिचान बनाउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको आयोजक पक्षले जानकारी दिएको छ ।

प्रतिक्रिया