काठमाडौं । उपभोक्ता अदालतले चिकित्सकीय अभ्याससम्बन्धी मुद्दामा गरेको कारबाहीको निर्णयप्रति गम्भीर असहमति जनाउँदै नेपाल चिकित्सक संघले आज देशभरका अस्पताल तथा स्वास्थ्य संस्थामा आकस्मिकबाहेकका सम्पूर्ण सेवा बन्द गरेका छन् ।
देशकै जेठो वीर अस्पतालमा अहिले फलोअपका बिरामीबाहेक अरूले सेवा पाउन सकेका छन् । आकस्मिक र अत्यावश्यक सेवाबाहेकको सेवा दिन नसकिएको अस्पतालका निर्देशक डा दिलीप शर्माले बताए । उनले भने, ‘संघको आह्वानमा सेवा बन्द भएको हो, आंशिक सेवा मात्र दिन सकेका छौँ, आकस्मिक सेवा भने दिइरहेका छौँ, आशा छ छिट्टै निकास मिल्ला ।’
संघले देशभरका चिकित्सक तथा स्वास्थ्यकर्मीहरूलाई यही असार १७ गतेदेखि कालोपट्टी बाँधेर सेवा दिन आह्वान गरेकामा आजदेखि आज आकस्मिकबाहेकका सेवा ठप्प पारेको हो । बिरामीको उपचारमा लापरबाही गरेको भन्दै उपभोक्ता अदालतले पछिल्लो समय केही ग्रान्डी अस्पताल र चिकित्सकमाथि रु ५७ लाख १९ हजार क्षतिपूर्तिसहित कारबाहीको फैसला गरेको थियो ।
यसैगरी, हिमाल अस्पताल र त्यहाँ कार्यरत चिकित्सकलाई रु एक करोड ४५ लाख क्षतिपूर्ति तिराउने उपभोक्ता अदालतले फैसला गरेको थियो भने ओम अस्पताललाई रु ५० लाख ७० हजार तिर्नुपर्ने फैसाला गरेको थियो ।
चिकित्सक संघका महासचिव डा सञ्जीव तिवारीले चिकित्सा पेसालाई अत्यन्त संवेदनशील, वैज्ञानिक र नैतिक सेवा भएको बताउँदै यसलाई अन्य व्यवसायजस्तो मूल्यांकन गरी निर्णय गर्नु अस्वीकार्य हुने बताए । उनले भने, ‘नेपाल मेडिकल काउन्सिलजस्ता नियामक निकायलाई बेवास्ता गरी उपभोक्ता अदालतले गरेको कानुनी हस्तक्षेपले चिकित्सा क्षेत्रमा अन्योल सृजना गरेको र यस्ता विषयमा नेपाल मेडिकल काउन्सिलबाट मात्र मूल्यांकन हुनुपर्छ ।’
संघले उपभोक्ता अदालतलाई उक्त निर्णय पुनरावलोकन गर्न र स्वास्थ्य मन्त्रालयलगायत सरोकारवाला निकायलाई तत्काल ध्यान दिन आग्रह गरेको छ । चिकित्सकहरूलाई सुरक्षित वातावरणमा काम गर्ने अधिकार सुनिश्चित गर्नुपर्नेमा जोड दिँदै संघले यस्तो वातावरण नभएमा स्वास्थ्य सेवामा गम्भीर असर पर्न सक्ने बताएको छ भने संघले नेपाल सरकारले उचित कदम नचाले सशक्त आन्दोलनमा उत्रने चेतावनीसमेत दिएको छ ।
प्रतिक्रिया