यसवर्ष करिब ६० हजार जना डेंगी रोगबाट संक्रमित हुनसक्ने अनुमान

काठमाडौँ । इपिडियमोलोजी तथा रोग नियन्त्रण महाशाखाले अबका ४ महिना डेंगी संक्रमणको सर्वाधिक जोखिमयुक्त समय भएकोले सतर्क रहन आग्रह गरेको छ । यसवर्ष करिब ६० हजार जना डेंगी रोगबाट संक्रमित हुनसक्ने अनुमान महाशाखाको छ । महाशाखाद्वारा आयोजित अन्तक्रिर्यामा विज्ञहरूले डेंगीबाट हुने मानवीय क्षति रोक्न लामुखुट्टेको प्रजनन प्रणाली नष्ट गर्ने सर्वाधिक सरल र प्रभावकारी उपाय भएको बताए ।

कीटजन्य रोग शाखाका प्रमुख डा.गोकर्ण दाहालले डेंगी सार्ने प्रजातिको लामखुट्टे नष्ट गर्नका लागि ४ महिनाभन्दा बढी समय लामखुट्टेको लार्भा र फुल समेतलाई नष्ट गर्ने अभियान चलाउनुपर्ने जानकारी दिए । ‘झुल, धुप वा लामखुट्टे भगाउने अन्य औषधिले घरभित्र काम गरे पनि घर बाहिर निस्किेको बेला भाइरसयुक्त लामुखेट्टले टोकेर सारिदिन सक्छ । त्यसैले स्थानीय पालिकाहरूको समयन्वयमा त्यस्ता लामखुट्टेको फुलसहित सबै चक्र नष्ट गरिदिनुपर्छ’, उनको भनाइ छ ।

यद्यपि नगरपालिकाको स्वास्थ्यसम्बन्धी कर्मचारीको धेरैथरी काम हुने हुँदा लगातार ४ महिनासम्म नष्ट गर्ने काममा लागिरहन उनीहरूलाई अप्ठ्यारो भएको पनि उनले बताए । महाशाखाले १७ जिल्लाका १४७ पालिकासँग डेंगी रोगबारे सहकार्य गरिएको जानकारी पनि कार्यक्रममा दिइयो । ‘डेंगी रोगलाई स्वास्थ्य क्षेत्रको प्रयास मात्रैले नियन्त्रण गर्न सकिँदैन त्यसका लागि सबै निकायले हातेमालो गर्नुपर्छ,’ महाशाखा निर्देशक डा.चन्द्रभाल झाले भने । कतिपय देशमा लामखुट्टे नियन्त्रण वातावरण मन्त्रालयले जिम्मा लिएर गरेको पनि देखिएको समेत उनले बताए । शहरमा वर्षायामसँगै जताततै खाडल, ससाना भाँडा र जथाभावी फालिएका टायर पानी जम्ने भएकोले डेंगीको जोखिम अनुमान गरेभन्दा बढ्ने पनि निर्देशक झाले बताए । उनले भने, ‘त्यसबाहेक घरघरमा फ्रिज र एसीको पानीले पनि लामखुटेलाई फुल पार्न र बच्चा हुर्कन सजिलो भएको छ ।’

यसवर्ष सरकारले लामखुट्टे खोजी र नष्ट गर्ने कार्यका लागि आगामी आर्थिक वर्षका लागि १० करोड रुपैयाँ छुट्याएको जानकारी पनि कार्यक्रममा दिइयो । एडिस जातको संक्रमित पोथी लामखुट्टेको टोकाइबाट मानिसमा सर्ने यो रोग, सामान्यतया शीतोष्ण र समशीतोष्ण क्षेत्रमा फैलिने गरेको छ ।

यद्यपि जलवायु परिवर्तनको प्रभावस्वरूप गएको दशकयता मुलुकका पहाडी भूभागमा समेत विस्तार भएको छ । डेंगीका बिरामीलाई सो लामखुट्टेले टोकेमा उक्त लामखुट्टे संक्रमित भई स्वस्थ व्यक्तिमा सार्न सक्छ । यो लामखुट्टेको आयु १ देखि ३ महिनासम्म हुन्छ ।

डेंगी रोग लाग्दा उच्च ज्वरो, कडा खालको टाउको दुःखाइ हुने, आँखाको गेडी पछाडि दुख्ने र मांसपेसीको समेत दुःखाइ अत्यन्त पीडादायी हुन्छ । साथै केहीलाई वाकवाक लाग्ने र वान्ता हुनेसमेत हुन्छ । सरकारले डेंगीसँगै कोभिड र हैजाको जोखिम नफैलियोस भनेर विशेष तयारी गरेको जानकारी पनि उनले दिए ।

प्रतिक्रिया