झापामा भेटिए कोभिडका आठ जना संक्रमित

झापा । झापामा कोभिडविरुद्धको १५ हजार मात्रा खोप आएको छ । नयाँ खोप तालिकासहित जिल्लामा कोभिडविरुद्धको १५ हजार मात्रा फाइजर खोप आएको स्वास्थ्य कार्यालयका प्रमुख रमेश बाराकोटीले जानकारी दिए ।

‘झापाका पालिकाहरुसँग समन्वय गरेर खोप वितरण गर्छौँ’, उनले भने, ‘अब नयाँ तालिका अनुसार खोप कार्यक्रम अघि बढ्छ ।’ नयाँ खोप तालिका अनुसार पाँच प्रकारका जनसंख्यालाई लक्षित गरिएको छ । रोगप्रतिरोध क्षमता कम भएका पाँच वर्षभन्दा माथिका बालबालिका, वयस्क र ज्येष्ठ नागरिकलाई प्राथमिकतामा राखिएको प्रमुख बाराकोटीले बताए ।

यसैगरी, स्वास्थ्यकर्मी र बिरामीको प्रत्यक्ष सम्पर्कमा आउने व्यक्ति, गर्भवती महिला, १२ वर्ष वा सोभन्दा माथि उमेरका अन्य व्यक्ति र पाँच वर्षदेखि ११ वर्षसम्मका अन्य बालबालिकालाई खोपको प्राथमिकतामा राखिएको छ । जिल्लामा आठ जना कोभिड संक्रमित फेला परेका छन् । तीमध्ये पाँच जना झापाका छन्भने मोरङ, इलाम र दोलखाका एक–एक जना रहेको बाराकोटीले जानकारी दिए ।

झापामा कोभिडको संक्रमण देखिन थालेपछि मेचीनगर नगरपालिकास्थित काँकरभिट्टा नाकामा शंकास्पद मानिसको कोभिड परीक्षण हुन थालेको छ । ‘काँकरभिट्टा नाकामा कोभिड परीक्षणका लागि ती नजना खटिएका छन्,’ उनले भने, ‘जटिल प्रकृतिका बिरामीलाई कुन अस्पतालमा राख्ने भन्ने अन्योल छ ।’

प्रतिक्रिया