आन्तरिक उडानका जहाज दुर्घटनाको क्षतिपूर्ति ५ गुणाले बढाउने तयारी

काठमाडौँ । लामो समयको प्रयासपछि आन्तरिक उडानका क्रममा हवाईजहाज दुर्घटना हुँदा मृतकका परिवारले पाउँदै आएको क्षतिपूर्ति रकम ५ गुणाले बढाउने तयारी गरिएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले आन्तरिक उडानका जहाज दुर्घटनामा मृतकका परिवारले पाउने क्षतिपूर्ति रकम २० हजार डलरबाट १ लाख डलर पु¥याउने विधेयकको मस्यौदा सार्वजनिक गरेको हो ।

यो विधेयकले लामो समयसम्म प्राथमिकता पाउन नसक्दा ढिला गरी ल्याइएको हो । २०८० सालमै मन्त्रिपरिषद्ले विधेयक तर्जुमा गर्न मन्त्रालयलाई सैद्धान्तिक सहमति प्रदान गरे पनि मन्त्रालय सफल हुन सकेको थिएन । मन्त्रालयले सार्वजनिक गरेको आन्तरिक वायुसेवाको दायित्व तथा बिमासम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकको मस्यौदामा दुर्घटना, चोटपटक, अंगभंग, मृत्यु र मालसामानको क्षतिपूर्ति व्यवस्था समेटेको छ । विधेयकमा यात्रु, मालसामान र उडान रद्द वा स्थगनको व्यवस्थासमेत समेटिएको छ । विधेयकमा असार २७ सम्म आइपुग्ने गरी लिखित रूपमा रायसुझाव पठाउन सर्वसाधारणलाई पर्यटन मन्त्रालयले आह्वान गरेको छ ।

मृत्यु भएको ६० दिनभित्र दाबी गर्नुपर्ने

मस्यौदामा उल्लेख भएअनुसार टिकट, ब्यागेज ट्याग वा रसिद यात्रुको प्रमाण हुने भएको छ । दुर्घटनामा घाइते वा अंगभंग भएमा सम्बन्धित वायुसेवा कम्पनीले नै उपचार गरिदिनुपर्ने प्रावधानसमेत विधेयकमा राखिएको छ । यात्रुको मृत्यु भएको ६० दिनभित्र विवरण खुलाएर सम्बन्धित वायुसेवा कम्पनीमा क्षतिपूर्ति दाबी गर्नुपर्ने मस्यौदामा उल्लेख छ ।

मालसामानको क्षतिपूर्ति

मस्यौदामा मालसामानउपर समेत क्षतिपूर्ति दाबी गर्न सकिने व्यवस्था गरिएको छ । यात्रारत यात्रुको ब्यागेजमा कुनै क्षति भए वायुसेवा कम्पनी जिम्मेवार हुनुपर्नेछ । जाँच गरिएका कुनै सामानमा हानि, नोक्सानी भए प्रतिकिलो २० डलरका दरले अधिकतम ५ हजार डलरको सीमा ननाघ्ने गरी त्यस बराबर नेपाली रुपैयाँमा वायुसेवा कम्पनीले दायित्व बेहोर्नुपर्ने प्रस्ताव गरिएको छ ।

यात्राको क्रममा यात्रु आफैँले साथमा लिएर जान पाउने गरी तोकिएका झोलाबाहेक अन्य ब्यागेज सम्बन्धित वायुसेवाको काउन्टरमा आवश्यक जाँच गरी वायुसेवाले आफ्नो जिम्मामा लिई सोको प्रमाणका लागि यात्रुलाई ब्यागेज ट्याग दिनुपर्नेछ र गन्तव्य विन्दुमा पुगेपछि यात्रुलाई ब्यागेज हस्तान्तरण गर्नुपर्नेछ ।

यस्तो अवस्थामा पाइनेछैन क्षतिपूर्ति

यात्रुकै गम्भीर लापरबाहीका कारण चोटपटक लागे वा अंगभंग भएको प्रमाणित भएमा, यात्रुले पहिलेदेखि नै कुनै गम्भीर रोगका कारण अंगभंग भए वा मृत्यु भएसमेत कम्पनी क्षतिपूर्ति दिन बाध्य नहुने मस्यौदामा उल्लेख छ ।

उडान रद्द वा स्थगन भए पूर्वजानकारी दिनुपर्ने

टिकट जारी नगरी यात्रा गराउन नहुने प्रावधानसमेत मस्यौदामा छ । निर्धारित मिति र समयमा सुरक्षित यात्रा गराउनुपर्ने दायित्व वायुसेवा कम्पनीको हुनेछ । उडान रद्द वा स्थगन भएमा त्यस्तो उडान हुन निर्धारित समयभन्दा कम्तीमा ३ घन्टा अगाडि नै त्यसबारे जानकारी गराउनुपर्ने भएको छ । टिकट लिएका यात्रुलाई वायुयानको भार क्षमता वा अन्य कुनै कारणले उडान गराउन नसके अर्को उडानबाट सेवा दिनुपर्नेछ । त्यसो नभए अर्को विकल्प खोजी यात्रा गराउने र त्योसमेत नसके टिकटको पैसा फिर्ता गरी टिकट रद्द गर्न सकिनेसमेत मस्यौदामा उल्लेख छ ।

नेपालले अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आइकाओ) को मन्ट्रियल महासन्धि १९९९ लाई सन् २०१८ मा अनुमोदन गरेको थियो । यो अनुमोदनसँगै अन्तर्राष्ट्रिय उडानका जहाज दुर्घटनामा परेर ज्यान गुमाउने यात्रुको परिवारले पाउने बिमाबापत क्षतिपूर्ति १ लाख ६५ हजार डलर हाराहारी पुगेको थियो ।

प्रतिक्रिया