२५ खर्ब ६९ अर्ब रुपैयाँ पुग्यो विदेशी मुद्रा सञ्चिति, साढे १७ महिनाको आयात धान्ने

काठमाडौं । चालु आर्थिक वर्ष २०८१/८२ को ११ महिनामा विदेशी मुद्रा सञ्चिति (विदेशी विनिमय) २५ खर्ब ६९ अर्ब ३८ करोड रुपैयाँ पुगेको छ । नेपाल राष्ट्र बैंकको तथ्याङ्क अनुसार कुल विदेशी विनिमय सञ्चिति २५.९ प्रतिशत अर्थात् ५ खर्ब २८ अर्ब २८ करोड रुपैयाँ वृद्धि भएको हो । २०८१ असारमा २० खर्ब ४१ अर्ब १० करोड रुपैयाँ बराबर कुल विदेशी विनिमय सञ्चिति थियो ।

अमेरिकी डलरमा विदेशी मुद्रा सञ्चिति जेठसम्ममा २२.२ प्रतिशतले वृद्धि भई १८ अर्ब ६५ करोड पुगेको छ । जबकी २०८१ असार मसान्तमा १५ अर्ब २७ करोड मात्रै विदेशी मुद्रा सञ्चिति थियो ।

कुल विदेशी विनिमय सञ्चितिमध्ये राष्ट्र बैंकमा २३ प्रतिशतले वृद्धि भई २२ खर्ब ७४ अर्ब ४७ करोड रुपैयाँ रहेको छ । गत वर्षको असारमा १८ खर्ब ४८ अर्ब ५५ करोड रुपैयाँ रहेको थियो ।

यस्तै, बैंक तथा वित्तीय संस्थासँग २०८१ असारमा १ खर्ब ९२ अर्ब ५५ करोड रुपैयाँ रहेकोमा २०८२ जेठमा ५३.२ प्रतिशतले वद्धि भई २ खर्ब ९४ अर्ब ९२ करोड रुपैयाँ कायम भएको छ । जेठसम्मको कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २०.५ प्रतिशत रहेको छ ।

चालु आर्थिक वर्ष २०८१/८२ को ११ महिनाको आयातलाई आधार मान्दा बैंकिङ क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति १७.६ महिनाको वस्तु आयात र १४.७ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने देखिन्छ । २०८२ जेठमा विदेशी विनिमय सञ्चितिको कुल गार्हस्थ्य उत्पादन, कुल आयात र विस्तृत मुद्राप्रदायसँगका अनुपातहरू क्रमशः ४२.१ प्रतिशत, १२२.९ प्रतिशत र ३४.१ प्रतिशत रहेका छन् । २०८१ असार मसान्तमा उक्त अनुपातहरू क्रमशः ३५.८ प्रतिशत, १०८.६ प्रतिशत र २९.३ प्रतिशत रहेका थिए ।

प्रतिक्रिया