नयाँ चलचित्रको तयारीमा नीता

काठमाडौँ । अभिनेत्री तथा निर्देशक नीता ढुंगाना नयाँ चलचित्र ‘सुख–दुःख’को तयारीमा लागेकी छन् । यस चलचित्रमा भारतीय छायाकार कबीर लाल र शाहिद लाल अनुबन्धित भएका छन् । आइतबार निर्माण पक्ष र उनीहरूबीच सम्झौता भएको हो ।

कबीर लालले तेलुगु, तमिल, कन्नड र हिन्दी भाषाका ८० भन्दा बढी चलचित्रमा छायाकारका रूपमा काम गरिसकेका छन् । शाहिद लालले मुख्यतः कन्नड र तेलुगु चलचित्रहरूमा छायांकन गरेका छन् । बलिउड र दक्षिण भारतीय चलचित्र क्षेत्रमा लामो अनुभव भएका उनीहरूलाई ढुंगानाको दोस्रो निर्देशनमा बन्न लागेको चलचित्रमा लिइएको हो ।

चलचित्रको वितरण अधिकार उपत्यकाबाहिर एफडी कम्पनीले लिएको छ भने उपत्यकाभित्र रिच इन्टरटेनमेन्टले पाएको छ । निर्देशक ढुंगानाले उपत्यका बाहिरका लागि छविराज ओझा र उपत्यकाभित्रका लागि करण श्रेष्ठलाई वितरणको जिम्मा दिएको जानकारी दिइएको छ । चलचित्रको निर्माण व्यवस्थापन शंकर पाण्डेलाई दिइएको छ । निर्देशक ढुंगानाले प्राविधिक पक्षमा प्राथमिकता दिँदै हालसम्म कलाकारबारे जानकारी सार्वजनिक गरेकी छैनन् ।

‘नीता चलचित्रस्’को ब्यानरमा बन्न लागेको यो चलचित्र आगामी वर्ष दसैँको फूलपातीका अवसरमा प्रदर्शनमा ल्याइने योजना छ । यसअघि नीता ढुंगानाले चलचित्र ‘ह्रस्वदीर्घ’ बनाएकी थिइन् ।

प्रतिक्रिया