राजसंस्था समर्थक आन्दोलन कहाँ पुग्यो ?

राजसंस्था पुनःस्थापनाको आन्दोलन हिजोआज सेलाएजस्तो लाग्छ । सडकमा मानिसको भिड, नारा–जुलुस देखिन्न । सत्ताका खेलाडीहरू माझ अनेकौँ विष्मयकारी खेलले सबैको ध्यान खिचिरहेको छ । व्यवस्था परिवर्तनभन्दा व्यवस्थापकहरूका दिनहुँजसो भइरहेका तिलस्मी तर घृणित तमासाले समाजलाई गम्भीर बनाइरहेको छ । आखिर, सधैँ यसैगरी कुनै हालतमा चल्न सक्दैन भने यसको अन्त्य कहाँ र कसरी होला भन्ने सबाल सचेत जनमानसमा उठिरहेको छ ।
सत्तामा पन्पिरहेको राज्यविरुद्धको अपराध, नीतिगत भ्रष्टाचार, राज्यका अंगहरूमा बढ्दो शिथिलता तथा अकर्मण्यता, उद्देश्यमा असफलता र उपायहीनता अति नै बलवान भएको देखिन्छ, जसले वर्तमान गणतन्त्रलाई मासेर मात्र आफू पनि मासिने लक्षण देखाएको छ । असिनाले पहिले बाली र बोट–बिरुवालाई नोक्सान गरेपछि आफू बिलाएको जस्तो वा परजीवी ऐंजेरुले रुखलाई चुस्दै हुर्किने र रुख मारिसकेपछि आफू पनि स्वतः मर्ने प्राकृतिक उदाहरण वर्तमान राजनीतिमा लागेका अनेक जातका ऐंजेरुबाट चरितार्थ हुँदै छ ।

राजसंस्था कहिले फर्केला भन्ने सबालभन्दा गणतन्त्र यही चालामालाका साथ कतिञ्जेल टिक्ला भन्ने अल्पायुजन्य प्रश्न यसकै हर्ताकर्ताहरूमा टड्कारो देखिन थालेको छ । वर्तमान व्यवस्थाप्रति मोहभंग भएको र भरोसा टुटेको भावना र अभिव्यक्ति पार्टीकै कार्यकर्ताहरूबाट व्यक्त हुन थालेको सुनिन्छ । यसो भनेर गणतन्त्र मासिएपछि राजसंस्था पुनःस्थापित होला भन्ने मानेर कल्पना गर्नु पनि गलत हुन्छ । राजसंस्था कसैका विरुद्ध स्थापित हुने होइन, राष्ट्रिय आवश्यकता, राष्ट्रिय एकता र अस्तित्वको लागि राष्ट्रनिर्माता संस्थालाई मौरीले रानो खोजेझैँ आमजनताले खोजेको हो ।

राजसंस्था पुनःस्थापना आन्दोलनका पछिल्ला गतिविधिमा नयाँपुस्ताको बाहुल्यपूर्ण सहभागिता जगजाहेर भइसकेको छ । वास्तवमा भइरहेको आन्दोलन युवापुस्ताकै ब्यापक सहभागिताले गर्दा भव्य भएको हो । गत चैतदेखिका सबै आन्दोलनलाई गति र शक्ति दिनेहरूमा २५ देखि ४० वर्ष उमेर समूहका तन्नेरीहरू नै हुन् । यसको अर्थ उदाउँदो पुस्ताको दृष्टिकोणमा राजसंस्थाको आवश्यकता र औचित्यमा जनलहरकै रूपमा असाधारण रूपले उठिसकेको छ । आन्दोलनको उक्त वास्तविकताविरुद्ध सत्ताधारीलाई उपेक्षा र तिरस्कार गर्ने हक छैन भने आन्दोलनको नेतृत्वमा बसेका वृद्ध समूहबाट बेवास्ता गर्ने छुट पनि छैन ।

आन्दोलनकारीहरू राजसंस्था पुनःस्थापनाको उद्देश्यमा एकजुट छन् । उनीहरू विभिन्न धारबाट समाहित भएका हुन् । राजसंस्थाको औचित्य र आवश्यकतामा कुनै विवाद र ह्रास छैन, आन्दोलनका आयोजकहरूको कार्यशैलीमा देखापरेका विसंगतिउपरचाहिँ गम्भीर रूपले ध्यान दिनु वाञ्छनीय हुन्छ । उनीहरूबीचको विभिन्नतालाई स्वीकार्दै अभिन्नता कायम गर्नुपर्ने हो, विभिन्न केस्रामा विभाजित भए पनि सिंगो सुन्तलाको रूपजस्तै । तर संगठित र ऐक्यबद्ध हुन नसकेपछि राजसंस्थाको समर्थक शक्ति विभाजितजस्तो देखिन्छ । शाश्वत मान्यता नै छ, विभाजित बहुमतलाई सुसंगठित अल्पमतले पराजित गर्नसक्छ । विभाजित मात्र होइन आपसमा अविश्वास–आशंका, आरोप–प्रत्यारोप, गालमुखाल पनि हुने गरेको देखियो । आन्दोलनको बेलामा आफैँभित्र बितण्डा मच्चाएर आत्मसन्तुष्टि लिने प्रवृत्ति बिल्कुल गलत हो । सैद्धान्तिक वा नीतिगत मतान्तर केही छैन । मिल्न नसक्ने कुरा पनि छैन । तर जुँगाको लडाइँ, अहंको हानाथाप, स्वार्थको टक्कर र सुझबुझरहित विवादले कसैलाई गन्तब्यमा पुर्याउँदैन ।

यसलाई आन्दोलनका योजनाकार वा रणनीतिकारहरूले कुशलतापूर्वक निराकरण गर्न सक्नुपथ्र्यो । जनताले समर्थन दिन्छन् । जुलुसमा सामेल भएर नारा लगाइदिन्छन् । जनताको जुलुस र समर्थनलाई संगठित, ऐक्यबद्ध र सशक्तीकरण गर्ने काम नेतृत्वकर्ताहरूकै हो । तर नेतृत्वकारी तहमा आ–आफ्ना डम्फू बजाउने, आ–आफ्नै दुनो सोझ्याउने मात्र ध्येय रह्यो भने त्यस्तो नेतृत्वले गन्तब्यमा पुर्याउँदैन, ठुलो धोका मात्र पाइन्छ । नेतृत्वमा बसेका कतिपय नेताहरू राजसंस्थाको औचित्य र आवश्यकता बोल्ने क्रममा राजनीतिक दलहरूलाई आक्रामक विरोध गरेर वैमनस्यता बढाउन खोज्छन् । तर राजसंस्था स्थापित भएको दिनमा पनि अहिलेका दलहरू आ–आफ्नै साइज र हैसियतमा राजसंस्थासँगै सहअस्तित्वमा रहनेछन् ।

उपलब्ध नेतृत्वमा त्यो खालको खुबी नदेखिनु नै आन्दोलनमा चुनौती भएको हो । राजतन्त्रप्रति उहाँहरूको निष्ठा, समर्पण, अनुभव र परिपक्वतामा कति पनि सन्देह कति पनि छैन । तर तितो बास्तविकता पनि मान्नैपर्छ, जमाना र आफ्नै उमेरले किनार लगाउँदै लगेको वृद्धपुस्ताबाट यो आन्दोलन पार लाग्दैन भन्ने कुरा उहाँहरूकै प्रयासले पुष्टि गरिसक्यो । जुन व्यक्तिले आफ्नो पुस्तकमा पूर्वराजा श्री ५ ज्ञानेन्द्रको तथानाम र अपमान गरे, उनै पात्रबाट राजसंस्था फर्काउने युगान्तकारी काम पार लाग्छ भनेर कसरी अपेक्षा गर्ने ? पुरानो पुस्ता सल्लाहकार र अभिभावकको भूमिकामा बसेर आन्दोलनको नेतृत्व युवालाई सुम्पिनु पर्छ । दुर्गा प्रसाईंले विगतमा केके गरे त्यसलाई छोडौँ । मन नपरेका र असहमत भएका सबैलाई उनी तुच्छ र तल्लो स्तरको भाषामा गाली गर्छन् । त्यो बिल्कुल ठीक छैन, यसले उनैलाई असर पर्न सक्छ । तर, आन्दोलनलाई जनसमर्थन जुटाउन र गति दिन फगत एक्लो व्यक्ति उनले जति गरे, त्यति अरू कुनै व्यक्ति वा पार्टीले पनि गरेको देखिएन । तसर्थ आन्दोलनलाई नयाँ नेतृत्व चाहिएको जनभावना यसैबाट बुझ्न सकिन्छ ।

राजसंस्था पुनःस्थापनाको आन्दोलन हुनुभन्दा धेरै वर्ष अघिदेखि यसको अभियानलाई स्वतन्त्र रूपमा जनचेतना जागरण गर्ने काममा होमिएकामध्ये म पनि हुँ । वि.सं. २०५० को दशकको अन्त्यदेखि आफ्नो गन्तब्य र अभियानमा एकलव्य भावले होमिँदा मैले कतै–कसैबाट सहयोगको नाममा एक गिलास चिसोपानीसम्म लिएको छैन । आस्थागत विषयमा परिवारका सम्पूर्ण सदस्यहरू एकातिर हुँदा पनि मैले आफ्नो धारको वकालत गर्न छोडिनँ । २०६३ सालको आन्दोलन पछिको परिस्थितिमा ज्यानको सुरक्षामा खतरा हुँदा पनि आफ्नो काम रोकिनँ । मैले अन्तरआत्माको आवाजलाई राष्ट्रिय आवश्यकताको मार्गदर्शन मानेर निःस्वार्थ र निःसर्त भावले लाग्दै आएँ, लागिरहेको छु । मेरो ब्रम्हले जुन सत्य देखिरहेको छ, त्यसैमा टिकेर म आफ्ना विचार बाँडिरहेको छु । आज उठिरहेको जनलहर हेरेर मैले आफ्नो विवेक सही बाटोमा उपयोग भएको विश्वासमा अझ उत्साह बढेको छ ।

राजसंस्था पुनःस्थापनाको आन्दोलनमा, वर्तमान युरोपेली देशहरूको सत्ता नेतृत्व अधिकांश युवाहरूबाट भइरहेको छ भने नेपालको युवापुस्ताले गर्न नसक्ने के छ ? नेतृत्वको जिम्मेवारी बहन गर्नसक्ने युवाहरूलाई नेतृत्वले समर्थक समुदायबाट चिनेर तान्न सक्नुपर्छ । आन्दोलन सफल भएमा गर्नुपर्ने जिम्मेवारीको मार्गचित्र (रोडम्याप) हिजोआज नै जनतालाई दिन सक्नुपर्छ । सडकको जिन्दावाद र मुर्दावाद नाराले मात्र पुग्दैन । आन्दोलन उद्देश्य र कार्यसूचीले सम्पन्न हुनुपर्छ । आन्दोलनका बुलेटिन वा मुखपत्रजस्ता प्रकाशनहरूले सुसूचित गर्नुपर्छ ।

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्षले भन्नुभयो, ‘बर्खा र खेतीको मौसम भएको हुनाले अब २–३ महिना आन्दोलन स्थगित हुनुपर्छ ।’ आन्दोलन मौसम र साइत हेरेर, घाम लागेको मौका छोपेर गरिने काम होइन, यो निरन्तर चल्ने प्रक्रिया हो । सरकारले खटाइदिएको सीमित ठाउँमा उभिएर अरण्यरोदनको शैलीमा आन्दोलन सफल हुँदैन । राप्रपाका नेताहरू खेतीपाती गर्नतिर लागेर सन्नाटा छाएको पक्कै होइन, उनीहरू निदाइरहेका छन् । आन्दोलनको नेतृत्वमा हुनुपर्ने वाञ्छित गतिशीलता बरु राप्रपा नेपालका अध्यक्ष कमल थापाले देखाइरहेका छन् । मानिसहरूसँग सम्पर्क, भेटघाट र फोनमै भए पनि कुराकानीमा उनि अरूभन्दा सजिला छन् । हिंसा र घृणाद्वारा निर्देशित गणतन्त्रको श्याले हुईंयामा राजसंस्थावादीहरूले ज्यान जोगाउन धौधौ परिरहेको ती दिनमा पनि आफूलाई समर्पित गरेकै हुन् ।

वर्तमान संविधान र व्यवस्थाप्रति उनीहरूका मान्यता र दृष्टिकोणमा गम्भीर विरोधाभास छ । संघीयताको विरोध गर्छन्, प्रदेशसभाको सभामुख पाउँदा पदमा बस्न पुग्छन् । गणतन्त्रवादी सत्तामा नजाने भने, तर मन्त्रीको अवसर पाएपछि पार्टी अध्यक्षकै अगुवाइमा क्याबिनेटमा सामेल भए । यस्तो दोधारे, दहिचिउरे र लोभी चरित्रले आन्दोलनको बेडा पार हुँदैन । अरूले आन्दोलन गरिदिए त्यसको फल आफ्नो झोलामा पारुँला भन्ने आकांक्षा राप्रपाका कतिपय नेताविशेषमा होला । आकांक्षा बोक्न पाइन्छ । तर आन्दोलन यो वा त्यो कारणले स्थगित गर्ने काम होइन ।

राजसंस्था पक्षधर सबै घटकहरूलाई सुसंगठित र सशक्तीकरण गर्नु जनआन्दोलनको पहिलो आवश्यकता हो । यसका लागि आन्दोलनका आयोजक गणका बीच सहमति र समझदारीका साथ जनसमुदायलाई सुसूचित र सुसञ्चारित गरिरहनु पर्छ । यसको लागि आवश्यकता परे पूर्वराजा श्री ५ ज्ञानेन्द्रबाट एकपटक अगाडि आउने आवश्यकता पर्न सक्छ । जनलहरको रूपमा बढिरहेको राजसंस्था पुनःस्थापनाको खोजीलाई आन्दोलनको नेतृत्वकर्ताहरूले सुअवसर नबनाएर आ–आफ्नै तुच्छ स्वार्थ साँध्ने मौका बनाए भने इतिहासले क्षमा नदिने भूल हुनेछ । चेतना भया ।

email : [email protected]

प्रतिक्रिया