चितवन । भरतपुरको लक्ष्मीपुरमा लामो समय कुखुरापालन व्यवसाय गरेका १ किसानको मृत्यु भएको ३ महिनामा बैंकले सबै सम्पत्ति लिलाम ग¥यो । २ दशकभन्दा बढी यो पेसामा लागेका किसानको मृत्युपछि परिवार बिचल्लीमा परेको छ । कतिपय कुखुरापालक किसान अहिले चेक अनादार मुद्दामा प्रहरी हिरासतमा छन् । त्यसो त २ वर्षअघि यहाँका १ ठुला कुखुरा व्यवसायीले आत्महत्या गरेका थिए ।
नेपाल अन्डा उत्पादक संघका पूर्वअध्यक्ष त्रिलोचन कँडेलले ८० प्रतिशत कुखुरापालक किसान विस्थापित भएको बताए । उनको भनाइमा अहिले कुखुरा पालिरहेकाहरू बैंकको ऋणका कारण ऋण थपेर व्यवसाय टिकाइरहेका छन् । कँडेलले भने, ‘कोभिडअघिसम्म कुखुरा पाल्ने किसान ५ हजारभन्दा बढी थिए, अहिले घटेर १ हजार हाराहारी होलान् ।’
उनका अनुसार आधाभन्दा बढी किसान बैंकको कालोसूची, लिलाम प्रक्रिया र चेक बाउन्समा परेका छन् । साना किसानले थप आँट गरेर व्यवसाय नगरेको उनले बताए । ती किसानलाई बैंकले ऋण तिर्नका लागि दबाब दिइरहेको छ ।
किसान घटे पनि उत्पादन नघट्नुको पछाडि व्यावसायिकरुपमा फार्म खुलेका छन् । करिब ५० हजारदेखि ५ लाखसम्म कुखुरा पाल्ने किसान ५० जना छन् । तिनै किसानका कारण उत्पादन विगतको तुलनामा कम घटेको कँडेलले बताए । अहिले दैनिक ३० लाखदेखि ४० लाखसम्म समयअनुसार अन्डा उत्पादन हुने गर्दछ । चल्लाको उत्पादन भने आधा घटेको छ ।
पोल्ट्री व्यवसायी मञ्चका अध्यक्ष रघुनाथ भट्टले जसको कुखुरा बाँकी छ, उनीहरूले ४० प्रतिशतभन्दामाथि ऋण थपेर टिकेको बताए । अधिकांश व्यवसायीको अवस्था दयनीय रहेको उनको भनाइ छ । गत वर्षसम्म बैंकको चर्काे ब्याज, दानाको मूल्य वृद्धि, अन्डाले उचित मूल्य नपाउनुजस्ता कारण कुखुराजन्य उद्योग संकटमा परेको उनको भनाइ छ । उत्पादित चल्लाले बजार नपाउनु, सस्तो मूल्यमा कुखुराको मासु बिक्री गर्न बाध्य हुनुलगायत कारण पनि किसान संकटमा पर्दै गएको भट्टले बताए ।
पोल्ट्री व्यवसायी मञ्चका निवर्तमान अध्यक्ष राजेन्द्र लामिछानेले भूकम्प, नाकाबन्दी, कोभिड महामारी, आर्थिक मन्दीपछिका समयमा उत्पादित अन्डा र मासुले लागत मूल्य पाउन नसक्दा किसान विस्थापित भएको बताए । दानाको कच्चापदार्थ र औषधिको मूल्य दोबर बढेको, कामदारको ज्याला बढेको, खोरको भाडा बढेको, कार्टुन, क्रेटलगायत सामग्रीको मूल्य बढेको तर अन्डा र मासुको मूल्य लामो समयसम्म बढ्न नसक्दा किसानको अवस्था दयनीय बनेको उनले बताए ।
नेपाल लेयर्स कुखुरापालक संघका अध्यक्ष विनोद पोखरेलले कुखुरा पालिरहेकाहरू पनि अधिकांशको ठूलो मात्रामा बैंक ऋण रहेको बताए । उनको भनाइमा धितो राखेर ऋण लिएकाहरूले धितो बिक्री गरेर ऋण तिर्ने अवस्थासमेत छैन । अहिले कुखुरापालन क्षेत्रमा बैंकमा रहेको धितोले ऋण तिर्न नपुग्ने उनले बताए तत्कालीन समयमा लिएको ऋणमा ऋण थप्दै ब्याज तिर्दै आउँदा कुखुरा राख्न नसक्ने अवस्थामा धेरै किसान पुगेको उनको भनाइ छ ।
किसान विस्थापित हुँदै गएको, ऋण तिर्न नसकेको र निरन्तर घाटामा काम गर्नुपरेकामा कसैको ध्यान नपुग्ने तर किसानले लागत मूल्य पाउने अवस्थामा सरकार र सरोकारवालाको ध्यान पुग्ने गरेको उनले बताए । उनले भने, ‘विगत ३ वर्षदेखि नोक्सान हुँदा कसैको ध्यान पुगेको छैन, किसानले लागत मूल्य पाउन थालेभन्दा धेरैको ध्यानाकर्षण हुन्छ ।’
नेपाल ह्याचरी उद्योग संघका निवर्तमान अध्यक्ष ऋषि पौडेलले धेरै ह्याचरी बन्द भइसकेको बताए । बाँकी रहेका ह्याचरीले उत्पादन गरेका चल्ला बिक्री नभएपछि पुर्नुपर्ने अवस्था अहिलेको रहेको उनले बताए । उनले भने, ‘अब कुखुरापालन क्षेत्र टिक्ने अवस्थामा छैन ।’ सरकारले समयमा नै सम्बोधन गर्न नसकेमा आत्मनिर्भर रहेको यो व्यवसाय समाप्त भएर जाने उनको भनाइ छ ।
चल्ला उत्पादन र बिक्रीमा रोक
काठमाडौँ । नेपाल ह्याचरी उद्योग संघले कुखुराको चल्ला उत्पादनमा रोक लगाएको छ । संघको शुक्रबार बसेको विशेष भेलाले सोमबार (असार २३ गते) देखि आगामी आइतबार(असार २९ गते) सम्म १ साताका लागि संघमा आवद्ध उद्योगीलाई ब्रोइलर र कलर ब्रोइलर (कोइलर) कुखुराको चल्लाको उत्पादनमा पूर्ण रूपमा रोक लगाउने निर्णय गरेको हो ।
कुखुराको चल्लाको उत्पादन र बिक्री बितरणमा सिन्डिकेट र कार्टेलिङ कायम हुने गरी संघले चल्लाको उत्पादनमा पूर्ण रूपमा रोक लगाउनुका साथै बिक्री वितरणसमेत नगराउने गरी रोक लगाइएको छ । यो निर्णयको कुखुरापालक तथा चल्ला उत्पादक किसानहरूले भने चर्को रूपमा विरोध गरेका छन् । विभिन्न किसानहरूले संघको यो निर्णयले किसान डुब्ने बताएका छन् ।
प्रतिक्रिया