
काठमाडौं । स्वास्थ्य उपचारका लागि परिवारसहित विदेशमा रहँदै आएका नेपाली कांग्रेसका पूर्वसभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा स्वदेश फर्किने भएका छन् । जननायक बीपी कोइरालाको स्मृति दिवसको अवसरमा विज्ञप्ति जारी गर्दै देउवाले आफू पुनः नेपाली भूमिमा पाइला टेक्दै स्वदेश फर्कन लागेको जानकारी गराएका हुन् ।
स्मृति दिवसको अवसरमा बिपी कोइरालाप्रति श्रद्धाञ्जली अर्पण गर्दै देउवाले देशको पछिल्लो राजनीतिक घटनाक्रमप्रति गम्भीर चासो व्यक्त गरेका छन् । आफू विदेशमा रहे पनि देश, जनता र लोकतन्त्रको हितका विषयमा निरन्तर चिन्तित रहेको उनले वक्तव्यमा उल्लेख गरेका छन् ।
जारी वक्तव्यमा देउवाले वर्तमान सरकारको कार्यशैलीप्रति कडा असन्तुष्टि जनाएका छन् । सरकारले प्रतिपक्षप्रति प्रतिशोधको राजनीति अघि बढाएको र स्वतन्त्र न्यायपालिका तथा संवैधानिक निकायहरूमाथि दबाब सिर्जना गर्न खोजेको आरोप उनले लगाएका छन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोग र न्यायपालिकालाई कार्यकारी नियन्त्रणमा राखी प्रतिपक्षलाई आतंकित पार्ने प्रयास भइरहेको दाबी गर्दै उनले यस्तो स्थितिमा लोकतन्त्र, संविधान र राष्ट्रियताको रक्षा गर्ने ऐतिहासिक जिम्मेवारी थपिएको बताएका छन् ।
गत सम्पन्न निर्वाचनमा युवा पुस्ताको हातमा नयाँ जनादेश पुगेको यथार्थलाई स्वीकार गर्दै देउवाले प्रतिपक्षको जिम्मेवार भूमिकाबाट लोकतन्त्र, सुशासन र राजनीतिक स्थिरतालाई बलियो बनाउन रचनात्मक सहयोग गर्ने प्रतिबद्धता दोहोर्याएका छन् ।
निषेध र प्रतिशोधको राजनीतिबाट माथि उठेर राष्ट्रिय संवाद, एकता र सहकार्यको आवश्यकता औँल्याउँदै उनले नयाँ पुस्ताको सिर्जनशील क्षमता र अनुभवलाई जोडेर अघि बढ्नुपर्ने बताएका छन् ।
आफ्नो ६ दशकभन्दा लामो राजनीतिक यात्राको स्मरण गर्दै पूर्वसभापति देउवाले प्रजातन्त्रभन्दा ठूलो कुनै विकल्प नभएको र जनताको अधिकारभन्दा ठूलो कुनै शक्ति नहुने उल्लेख गरेका छन् ।
स्वदेश फर्कँदै गर्दा राष्ट्रियता, प्रजातन्त्र, समाजवाद र संविधानवादको पक्षमा दृढतापूर्वक उभिन सम्पूर्ण राजनीतिक शक्ति, नागरिक समाज, युवा पुस्ता र आम जनतालाई उनले आह्वान गरेका छन् । गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनको क्रममा घाइते भएका देउवा र उनकी श्रीमती डा. आरजु राणा उपचारको लागि सिंगापुर गएका थिए । त्यहाँदेखि उनीहरु उतै बस्दै आएका थिए ।


प्रतिक्रिया