
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले नागरिक आन्दोलनका अगुवा डा देवेन्द्रराज पाण्डेको निधनमा दुःख व्यक्त गर्दै समवेदना व्यक्त गरेका छन् ।
उनले आज पठाएको समवेदना सन्देशमास्व पाण्डेको साधाना मुख्यतः स्वतन्त्रता, अधिकार र नागरिक आन्दोलनमा रहेको उल्लेख गरेका छन् । उनले नेपालमा लोकतन्त्र स्थापना र पुनः स्थापना तथा विभिन्न संघर्ष र आन्दोलनहरूमा नागरिक अगुवाका रूपमा पाण्डेले निर्वाह गरेको नेतृत्वदायी भूमिका सदा स्मरणीय रहिरहने बताएका छन् ।
राष्ट्रपति पौडेलले २०३६ सालको जनमत संग्रहभन्दा केही महिनाअघि सरकारको सचिव पदबाट राजीनामा दिएर पाण्डेले नेपालको लोकतान्त्रिक आन्दोलनका नागरिक अगुवाका रूपमा २०४६ सालदेखि २०६२–६३ सालको आन्दोलनमा दिएको नेतृत्वदायि भूमिका आफ्नो मानसपटलमा अझै ताजा रहिरहेको उल्लेख गरेका छन् ।
समवेदना सन्देशमा राष्ट्रपति पौडेलले भनेका छन्, ‘२०३६ साल यताको करिब साँढे ४ दशक अवधिमा उहाँको जुन भूमिका र योगदान रह्यो, त्यसले आफ्नो क्षेत्र र धारबाट राष्ट्र निर्माणमा योगदानकर्ता मानक व्यक्तित्वका रूपमा भावि पुस्ताले स्मरण गरिरहनेछन् भन्ने मलाई लागेको छ, उहाँको निष्ठा, आचरण र नैतिक जीवनले नेपाली समाजलाई सबै आलोकित गरिरहने मैले विश्वास लिएको छु ।’
राष्ट्रपति पौडेलले पाण्डेको निधनले नेपालको लोकतान्त्रिक आन्दोलनमा अपुरणीय क्षति पुग्नुका साथै मुलुकले निर्भिक र सत्यको पक्षपाती निष्ठावान लोकतन्त्रवादी नागरिक अगुवा गुमाएको बताएका छन् ।
राष्ट्रपति पौडेलको समवेदना सन्देश उनका प्रेस सल्लाहकार किरण पोखरेल तथा प्रमुख स्वकिय सचिव अवज्ञा पौडेलले पाण्डेको निवास विशालनगर पुगेर हस्तान्तरण गरेका थिए । क्यान्सरबाट पिडित पाण्डेको यही साउन १ गते शुक्रबार आफ्नै निवास विशालनगरमा निधन भएको थियो ।
प्रतिक्रिया