अध्यागमनको हिरासतमा रहेका चिनियाँ नागरिकलाई छुटाइदिने भन्दै लाखाैँ रकम ठग्ने तीन जना पक्राउ

काठमाडौं । अध्यागमन विभागको हिरासतमा रहेका चिनियाँ नागरिकहरूलाई छुटाइदिने बहानामा रकम ठगी गरेको अभियोगमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले तीन जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा उदयपुरको कटारी नगरपालिका–८ सिरिसे घर भई हाल ललितपुरको नख्खीपोट बस्ने ३८ वर्षीय विक्रम बहादुर थापा, नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) सुनवल नगरपालिका–७ घर भई हाल नख्खीपोट बस्ने ५९ वर्षीय गोपाल कुमार गुरुङ र सर्लाहीको लालबन्दी नगरपालिका–५ घर भई हाल काठमाडौंको बुद्धनगर बस्ने ५२ वर्षीय नारद प्रसाद खतिवडा रहेका छन् ।

प्रहरीका अनुसार गत असार १२ गते ललितपुरको सानेपाबाट नियन्त्रणमा लिइएका ९ जना चिनियाँ नागरिकहरू हाल अध्यागमन विभाग, कालिकास्थानको हिरासतमा रहेका छन् । हिरासतमा रहेका ती चिनियाँ नागरिकहरूलाई छुटाइदिने र विभागको नियन्त्रणमा रहेका अन्य १५ वटा राहदानी समेत झिकाइदिने भन्दै उनीहरूले कुल ७२ लाख रुपैयाँको मोलमोलाइ गरेका थिए ।

मोलमोलाइ बमोजिम पीडितबाट ९ लाख रुपैयाँ लिई ठगी गरेको सूचनाका आधारमा खटिएको प्रहरी टोलीले साउन ४ गते उपत्यकाका विभिन्न स्थानबाट उनीहरूलाई पक्राउ गरेको प्रहरीले जनाएको छ । पक्राउ परेकामध्ये विक्रम बहादुर थापा कालिकास्थानबाट, गोपाल कुमार गुरुङ जावलाखेलबाट र नारद प्रसाद खतिवडा अनामनगरबाट नियन्त्रणमा लिइएका हुन् ।

पक्राउ परेका थापा यसअघि पनि जिल्ला प्रहरी परिसर काठमाडौंबाट १२ लाख २५ हजार रुपैयाँ बिगो भएको बैकिङ कसुर मुद्दामा फरार सूचीमा रहेका व्यक्ति हुन् । पक्राउ परेका तीनै जनालाई थप अनुसन्धान तथा आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी परिसर, भद्रकाली, काठमाडौं पठाइएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका सूचना अधिकारी रामेश्वर कार्कीले जानकारी दिए ।

प्रतिक्रिया