
काठमाडौं । कीर्तिपुरमा कारभित्र जलेर मृत्यु भएका व्यक्तिको पहिचान खुलेको छ । कारमा जलेका पुरुष कीर्तिपुरस्थित ट्याङ्लाफाँट बस्दै आएका सुरेशचन्द्र श्रेष्ठ रहेको पुष्टि भएको काठमाडौंका एसएसपी दिलीप घिमिरेले जानकारी दिए ।
७० वर्षीय श्रेष्ठ नरदेवी घर भएर कीर्तिपुरस्थित ट्याङ्लाफाँटमा बस्दै आएका थिए । मृतकका परिवारले उनको सनाखत गरेका छन् । मंगलबार ट्याङ्लाफाँटस्थित चाँदनी चोकमा उनले चलाएको बा ५ च ३०३८ नम्बरको कारमा अचानक आगो लागेको थियो । आगलागीको कारणबारे प्रहरीले अनुसन्धान गरिरहेको जनाएको छ ।
श्रेष्ठको शव पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पतालमा पठाएको छ । सो कार नबिल बैंकबाट ऋण लिएर २०६२ कार्तिक २७ मा किस्तामा खरिद गरेको भेटिएको छ । सेतो रङको किया गाडी चाँदनी चोकमा आएर रोकिएको र सुरुमा गाडीभित्रबाट सानो आगो सल्केको देखिएको प्रत्यक्षदर्शीहरूले बताएका छन् ।
अचानक आगो दन्किएपछि प्रहरी र स्थानीयले अग्नि नियन्त्रण यन्त्रहरूको प्रयोग गरेर आगो निभाएका थिए । उक्त कार श्रेष्ठकै नाममा रहेको खुलेको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एवं एसपी पवन भट्टराईले जानकारी दिए ।
कारको चालक सिटमा जलेर मृत्यु भएको अवस्थामा शव भेटिएको थियो । कार पार्किङका लागि मंगलबार बिहान १० बजेर ४६ मिनेटमा त्यहाँ पुगेको खुलेको छ । कार त्यहाँ पुगेपछि चालक बाहिर नओर्ली भित्रबाट नै आगो लागेको देखिएको छ । उक्त घटनाबारे प्रहरी वृत्त कीर्तिपुरले अनुसन्धान गरिरहेको जनाएको छ ।
प्रतिक्रिया