गैँडा मार्ने उद्देश्यले निकुञ्ज छिरेको आशंकामा दुई जना पक्राउ

तस्विर नवलपुर टाइम्स डटकमबाट

चितवन । आज चितवन राष्ट्रिय निकुञ्जबाट दुई जना व्यक्ति पक्राउ परेका छन् । विश्वमा दुर्लभ, एकसिंगे गैँडा मार्ने उद्देश्यले निकुञ्ज छिरेको आशंकामा प्रहरीले खड्गनारायण चौधरी र टेकबहादुर मगरलाई पक्राउ गरेको हो ।

नवलपरासीको (वर्दघाट–सुस्तापूर्व) मध्यविन्दु नगरपालिका–१ सेतीपानीका ६८ वर्षीय खड्गनारायण चौधरी र चितवनको इच्छाकामना गाउँपालिका–५ फुर्केडाँडाका ५२ वर्षीय टेकबहादुर मगरलाई आज सार्वजनिक गरिएको हो ।

चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी अविनास थापामगरले दुवै जनालाई नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को मध्यविन्दु नगरपालिका–३ ब्रह्मस्थानघाटबाट पक्राउ गरिएको जानकारी दिए ।

उनीहरुको साथबाट कार्तोस भनिने बन्दुक एक थान र सोमा लाग्ने गोलीगठ्ठा बरामद गरिएको छ । पक्राउ परेका चौधरीको घर खानतलासी गर्दा बाघको दाँतजस्तो देखिने आखेटोपहार सात थान, माउजर भनिने बन्दुक एक थान, गोलीगठ्ठा र भारतीय ५०० का नोट १३६ थान बरामद गरिएको थापामगरले जानकारी दिए ।

पक्राउ परेका दुवै जनालाई संरक्षित वन्यजन्तु एकसिंगे गैँडा मार्ने उद्योग र संरक्षित वन्यजन्तुको आखेटोपहार खरिद बिक्री मुद्दामा अनुसन्धान सुरु गरिएको निकुञ्जले जानकारी दिएको छ ।

दुवै जनालाई राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ को दफा २६ (५ घ) र दफा २६ (१) वमोजिम सजायको माग गर्दै नवलपुर जिल्ला अदालतमा अभियोग दर्ता गरिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया