
काठमाडौं । प्रहरीले काठमाडौंको बौद्ध र महाराजगञ्ज क्षेत्रमा घरको ताला फोडेर सुन–चाँदीका गहना तथा अस्पताल परिसरबाट स्कुटर चोरी गर्ने कार्यमा संलग्न रहेको अभियोगमा तीन जनालाई पक्राउ गरेको छ ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको विशेष प्रहरी टोलीले यही साउन ४ गते उपत्यकाका विभिन्न स्थानबाट उनीहरूलाई नियन्त्रणमा लिएको हो ।
पक्राउ पर्नेहरूमा मोरङ लेटाङ नगरपालिका–५ घर भई हाल बूढानीलकण्ठ–२ नारायणथान बस्ने २१ वर्षका दिपेश लिम्बु, काभ्रेपलाञ्चोक रोशी गाउँपालिका(१ घर भई हाल सिनामंगल बस्ने १९ वर्षका अमर भन्ने अर्मस लामा र सिन्धुपाल्चोक भोटेकोशी गाउँपालिका–१ घर भई हाल इमाडोल बस्ने ३० वर्षका अजय लामा रहेका छन् ।
उक्त समूहले गत जेठ २९ गते काठमाडौं महानगरपालिका(६ स्थित पशुपति मार्गमा रहेको एक घरमा कोही नभएको मौका पारेर ढोकाको ताला फोडी घर भित्र प्रवेश गरी सुन तथा चाँदीका गहना र नगद चोरी गरेको प्रहरीले जनाएको छ ।
त्यसैगरी उनीहरूले गत असार ३० गते काठमाडौं महानगरपालिका–३ महाराजगञ्जस्थित कान्ति बाल अस्पतालको पार्किङ स्थलबाट होण्डा कम्पनीको डियो स्कुटर समेत चोरी गरी फरार भएका थिए ।
पक्राउ परेका तीनै जनालाई थप अनुसन्धान तथा आवश्यक कारबाहीका लागि प्रहरी वृत्त बौद्ध, काठमाडौं पठाइएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका सूचना अधिकारी प्रहरी उपरीक्षक रामेश्वर कार्कीले जानकारी दिए ।
प्रतिक्रिया