दोगला बजारमा पाइँदैनथ्यो । गाउँकै कारिगरले परिपक्व बाँस छानेर त्यसलाई चिर्थे, चोया निकाल्थे र धैर्यपूर्वक बुनेर पानी अट्ने आकार दिन्थे । कतिपय ठाउँमा हल्का काठ पनि प्रयोग गरिन्थ्यो । दुवैतर्फ बलिया सनइ वा पटुवाका डोरी बाँधिन्थे । यसको तौलमा विशेष ध्यान दिइन्थ्यो । धेरै गह्रौँ भए किसान थाक्थे, धेरै हलुका भए पानी अडिँदैनथ्यो । त्यसैले राम्रो दोगला बनाउन वर्षौंको अनुभव आवश्यक पथ्र्यो । आज त्यो सीप पनि लोपोन्मुख बन्दै गएको छ ।

पोखरीको डिलमा रहेको पुरानो र जीर्ण ‘बोदर’ । त्यही बोदरलाई एकटक हेरिरहेका थिए सम्मरीमाई गाउँपालिका–७, बेतकुईयाँका ६५ वर्षीय रामनारायण कुर्मी । उनका आँखामा पानीभन्दा स्मृतिको बाढी बगिरहेको थियो । किनारमा उम्रिएको घाँस, भत्किँदै गएको कान्लो र चिरा परेको माटोले समय परिवर्तनको साक्षी दिइरहेका थिए । तर उनी भने धेरै दशकअघिको समयमै पुगिसकेका थिए ।
पोखरीको किनारमा पानी संकलन गर्न खनिएको गहिरो सञ्चय खण्ड (कुण्ड) लाई स्थानीय भाषामा ‘बोदर’ भनिन्छ । ‘यही बोदरमा बिहानदेखि बेलुकासम्म दोगला (बाँसको चोयाले बुनेको एक प्रकारको टोकरी) चल्थ्यो,’ उनी बिस्तारै बोल्न थाले, ‘आज पानी त छ, तर पानी उडाउने हात छैनन् ।’ उनको स्वरमा एउटा युग हराएको पीडा थियो । उनी बोल्दै जाँदा झन्डै ४ दशकअघिको गाउँ र आफ्नै युवावस्था आँखाअगाडि जीवन्त बन्दै गयो ।
भर्खर उज्यालो फुट्दै छ । धान रोप्ने मौसम हो । गाउँका किसान बिहानै नालामा जम्मा भएका छन् । कसैले काँधमा गम्छा हालेका छन्, कसैले धोती घुँडासम्म बेरेका छन् । हिलोले खुट्टा छोपेको छ । त्यहाँ खनिएका बोदरका दुवै किनारमा २ किसान आमनेसामने उभिएका छन् । उनीहरूका हातमा २–२ वटा डोरी छन् । ती डोरीको बीचमा दोगला झुन्डिएको छ । ‘ए… तान !’ दुवैले एकैचोटि डोरी खुकुलो पार्छन् । दोगला पानीमा डुब्छ । क्षणभरमै भरिन्छ । त्यसपछि दुवैले एकै तालमा बल लगाएर डोरी तान्छन् । पानी हावामा उड्छ, बोदरको गहिराइभन्दा झन्डै २ मिटर माथिको कान्ला नाघ्दै खेतमा पुग्छ । फेरि दोगला तल झर्छ, फेरि पानी भरिन्छ, फेरि आकाशतिर उड्छ । घन्टौँसम्म यही क्रम चलिरहन्छ । टाढाबाट हेर्दा लाग्थ्यो, मानौँ २ जना मानिसले पानीलाई नै उडाउन सिकाएका छन् । त्यो कुनै चलचित्रको दृश्य थिएन; त्यो किसानको दैनिकी थियो, तराई–मधेसको कृषि सभ्यताको जीवन्त दृश्य थियो । आज त्यो दृश्य उनको सम्झनामा मात्र सीमित छ ।
आज किसानले मोटरको स्विच थिच्छ, वा पम्पसेटको ह्यान्डल घुमाउँछ । केही मिनेटमै खेतमा पानी पुग्छ । तर एक समय यस्तो पनि थियो, जब किसान आफैँ मोटर थिए । उनीका हातहरू इन्जिन थिए, दुबैतर्फका २–२ वटा डोरी पाइप थिए, दोगला नै पम्प थियो र किसानको पसिना इन्धन । त्यतिबेला न बिजुली थियो, न मेशिन, न गहिरा बोरिङ, न सौर्य सिँचाइको कल्पना नै । नदी, कुलो, पोखरी र नाला नै किसानका जलस्रोत थिए । तर एउटा समस्या थियो, पानी तल बग्थ्यो, खेत माथि थियो । प्रकृतिको यही सीमालाई किसानले आफ्नै बुद्धि, अनुभव र श्रमबाट समाधान गरेका थिए । पानीलाई माथिल्लो खेतसम्म पुर्याउने त्यो रैथाने प्रविधिको नाम थियो – दोगला ।
यो कुनै सरकारी परियोजनाले विकास गरेको प्रविधि थिएन, न कुनै विश्वविद्यालयको प्रयोगशालामा आविष्कार भएको उपकरण । यो पुस्तौँको अनुभव, आवश्यकता र श्रमबाट जन्मिएको स्थानीय प्रविधि थियो । त्यतिबेला खेती वर्षामा मात्र निर्भर थिएन । दानव, तेलार, तिनाउ र सियारीजस्ता नदीबाट निकालिएका कुला र गढहा–नालाहरूले गाउँमा पानी पुर्याउँथे । तर ती पानी आफैँ माथिल्लो खेतमा पुग्दैनथे । त्यहाँ किसानको सीप र दोगलाको आवश्यकता पथ्र्यो । रूपन्देही, कपिलवस्तु, नवलपरासीदेखि भारतको सिद्धार्थनगर, महाराजगन्ज र गोरखपुरसम्म यही प्रविधिले हजारौँ बिघा खेतमा पानी पुर्याएको थियो । कतै यसलाई दोगला, कतै लहन्ती र कतै छनौटी भनिन्थ्यो । नाम फरक भए पनि यसको उद्देश्य एउटै थियो, श्रमको बलमा पानीलाई माथिल्लो खेतसम्म पुर्याउनु ।
दोगला बजारमा पाइँदैनथ्यो । गाउँकै कारिगरले परिपक्व बाँस छानेर त्यसलाई चिर्थे, चोया निकाल्थे र धैर्यपूर्वक बुनेर पानी अट्ने आकार दिन्थे । कतिपय ठाउँमा हल्का काठ पनि प्रयोग गरिन्थ्यो । दुवैतर्फ बलिया सनइ वा पटुवाका डोरी बाँधिन्थे । यसको तौलमा विशेष ध्यान दिइन्थ्यो । धेरै गह्रौँ भए किसान थाक्थे, धेरै हलुका भए पानी अडिँदैनथ्यो । त्यसैले राम्रो दोगला बनाउन वर्षौंको अनुभव आवश्यक पथ्र्यो । आज त्यो सीप पनि लोपोन्मुख बन्दै गएको छ ।
उनी अन्तिमपटक दोगला चलाएको दिन सम्झन्छन् । केहीबेर मौन बसेपछि भन्छन्, ‘त्यतिबेला हामीलाई दोगला एक दिन हराउँछ भन्ने लागेको थिएन ।’ उनका अनुहारमा देखिएको भावुकता सायद कुलानालाको पानीको प्रतिबिम्ब थिएन; त्यो हराउँदै गएको एउटा कृषि सभ्यताको सम्झना थियो । दोगला चलाउन बल मात्रै पर्याप्त हुँदैनथ्यो । २ जनाबीच तालमेल, लय र विश्वास आवश्यक पथ्र्यो । एक जनाले छिटो तानेर अर्कोले ढिलो गरे पानी भरिएको दोगला ढल्किन्थ्यो र पानी फेरि बोदरमै खसिहाल्थ्यो । त्यसैले दोगला चलाउनेलाई गाउँमा सीपयुक्त र अनुभवी मानिन्थ्यो । राम उजिगर मुस्कुराउदै सम्झन्छन्, ‘दोगला चलाउन २ जनाको मन मिल्नुपथ्र्यो । रिसाएको मान्छेसँग दोगला चल्दैनथ्यो । ताल मिलेन भने पानी फेरि त्यही बोदरमा झथ्र्यो ।’
दोगलाले पानी मात्र उचाल्दैनथ्यो, मानिसहरूलाई पनि जोड्थ्यो । त्यसैले गाउँमा भन्ने गरिन्थ्यो, ‘दोगला चलाउने जोडी झगडा गर्दैन ।’ एउटा खेतमा पानी पुर्याउन २ जनाले ४–५ घण्टासम्म निरन्तर श्रम गर्नुपथ्र्यो । त्यसका लागि शारीरिक बल, सहनशीलता र उत्कृष्ट तालमेल आवश्यक हुन्थ्यो ।
५ अश्वशक्तिको एउटा डिजेल पम्पले त्यही काम केही मिनेटमै गर्न थालेपछि किसान आधुनिक प्रविधितर्फ आकर्षित हुनु स्वाभाविक थियो । कपिलवस्तुका ७० वर्षीय किसान धनिराम हरिजन भन्छन्, ‘पहिले दिनभरि एउटा खेतमा पानी पुर्याउँथ्यौँ । अहिले बिहान मोटर पम्प चलायो भने दिउँसै ४–५ वटा खेत सिँचाइ गर्न सकिन्छ ।’ आधुनिक प्रविधिले किसानको श्रम घटाएको, समय बचत गरेको र उत्पादन क्षमता बढाएको छ । तर यही परिवर्तनसँगै पुस्तौँदेखि खेतीसँग गाँसिएको किसानको एउटा मौलिक सिँचाइ संस्कृति बिस्तारै ओझेलमा पर्दै गएको छ ।
दोगला कुनै एउटै कारणले हराएको होइन । यसको लोप हुनुका पछाडि आधुनिक शिक्षा, सिँचाइ प्रविधिको विस्तार, वैदेशिक रोजगारीका कारण गाउँबाट युवाको पलायन, सुक्दै गएका नदी, पुरिँदै गएका कुलो तथा परम्परागत कृषि प्रणालीप्रतिको बढ्दो बेवास्ता जस्ता अनेक कारण जिम्मेवार छन् ।
करिब ३ दशकअघि गाउँहरू युवाले भरिएका हुन्थे । रोपाइँका बेला खेतमा मानिस गन्नै गाह्रो पथ्र्यो । आज त्यही गाउँमा अधिकांश वृद्धवृद्धा मात्र बाँकी छन् । युवाहरू कतार, दुबई, मलेसिया, दक्षिण कोरिया र जापानलगायतका देशमा रोजगारीका लागि गएका छन्, र गाउँमै रहेका धेरैजसो युवा पनि कृषिकर्मबाट टाढिँदै गएका छन् । २ जना बलिया युवकले चलाउनुपर्ने दोगला समात्ने हात नै गाउँमा दुर्लभ बन्दै गएका छन् । रामेश कुर्मीले भने, ‘दोगला त आज पनि बनाउन सकिन्छ, तर चलाउने मान्छे कहाँबाट ल्याउने ?’
‘दोगलाको अस्तित्व पानीसँग जोडिएको छ । पानीका लागि खोला–नाला वा कुलो चाहिन्छ । तर अहिले कतै नदी अतिक्रमणमा परेका छन्, कतै अत्यधिक बालुवा उत्खननले क्षति पुगेको छ भने कतिपय स्थानमा प्राकृतिक बहाव नै फेरिएको छ,’ लक्ष्मी थारूले भनिन्, ‘राजकुलो, पोखरी र नालाहरू पनि सडक विस्तार, अतिक्रमण र मर्मतको अभावका कारण लोप हुँदै गएका छन् । कुलोमा पानी नै नबगेपछि दोगलाको आवश्यकता पनि क्रमशः समाप्त हुँदै गएको छ ।
पहिले असार लागेपछि मनसुन समयमै आउँथ्यो, नदी भरिन्थे र कुलोमा नियमित पानी बग्थ्यो । अहिले कहिले असारभरि वर्षा हुँदैन, कहिले एकै दिनमा अत्यधिक वर्षा भएर बाढी आउँछ, त कहिले लामो खडेरीले खेत सुकाउँछ । वर्षाको यही अनिश्चितताले परम्परागत सिँचाइ प्रणालीलाई थप कमजोर बनाइरहेको लुम्बिनीकी लक्ष्मीले सुनाइन् ।
‘आधुनिक र व्यावसायिक खेतीको युगमा परम्परागत सिँचाइ उपकरण ‘दोगला’ ले मोटर वा बोरिङसँग प्रतिस्पर्धा गर्न सक्दैन, यो अकाट्य यथार्थ हो,’ पर्यटन व्यवसायी हुसेनी लोधले भने, ‘यसको अर्थ यसको ऐतिहासिक, सांस्कृतिक र प्राविधिक महत्व समाप्त भएको भन्ने होइन । कुनै पनि सभ्य समाजले आफ्नो इतिहास र संस्कृतिलाई त्याग्दैन; बरु त्यसलाई संरक्षण गरेर नयाँ पुस्तासम्म हस्तान्तरण गर्छ ।’ त्यसैले दोगलाजस्तो परम्परागत सिँचाइ प्रविधिलाई कृषि इतिहास र सांस्कृतिक सम्पदाका रूपमा संरक्षण गर्न आवश्यक छ । कृषि संग्रहालय, विद्यालय, विश्वविद्यालय, रोपाइँ महोत्सव तथा कृषि पर्यटन आदिमार्फत यसको व्यवस्थित दस्तावेजीकरण तथा जीवन्त प्रदर्शन गर्न सकिन्छ ।
साँझको घाम पश्चिमतिर ढल्किँदै गर्दा परासीका ६५ वर्षीय राम गणेश मौर्या आफ्नो घर पुग्छन् । उनको घरको कुनामा एउटा पुरानो बाँसको दोगला उल्टो पारेर राखिएको हुन्छ । त्यही दोगला देखाउँदै उनले भने, ‘डोरीहरू चुँडिन थालेका छन्, चोयाहरू खुकुला भएका छन् र धुलोले त्यसको मौलिक रङ ढाकेको छ ।’ उनी हातले मुसार्दै केहीबेर मौन बस्छन् । लामो सास फेरेपछि बिस्तारै भन्छन्, ‘हामी सानै हुँदा यही हाम्रो जीवन थियो । बिहान यसैसँग दिन सुरु हुन्थ्यो र बेलुका यसैलाई काँधमा बोकेर घर फर्किन्थ्यौँ । अहिले न ती साथी बाँकी छन्, न दोगला चलाउने खेत नै ।’
उनको मौनताभित्र एउटा किसानको व्यक्तिगत सम्झना मात्र होइन, सिंगो कृषि सभ्यताको बिदाइ लुकेको छ । उनी घरअगाडिको पोखरीमा खनिएको बोदरतिर फर्केर हेर्छन् । पानी अझै उस्तै छ, तर दोगला अब पानीमा डुब्दैन । ४ वटा डोरी तन्काएर आमनेसामने उभिने २ किसान पनि त्यहाँ छैनन् । उनी भावुक हुँदै भन्छन्, ‘फरक यत्ति हो –पहिले पानीसँग मान्छे पनि बग्थे, अहिले मोटर मात्रै बग्छ ।’
उनको यो एक वाक्यले प्रविधिले ल्याएको परिवर्तनसँगै हराउँदै गएको एउटा युगको कथा सुनाइदिन्छ । आज ट्रयाक्टर चलाउने र मोटर मर्मत गर्ने जनशक्ति गाउँगाउँमा भेटिन्छन्, तर दोगला कुन कोणमा डुबाउने र कसरी तान्दा पानीले कान्ला नाघ्छ भन्ने रैथाने ज्ञान भएका मानिस औँलामा गन्न सकिने मात्र छन् । यी वृद्धसँगै पुस्तौँदेखि हस्तान्तरण हुँदै आएको यो अमूल्य ज्ञान पनि बिस्तारै लोप हुने जोखिममा छ ।
‘आधुनिक विश्वका विकसित देशहरूले आफ्ना परम्परागत कृषि प्रविधिलाई संग्रहालय, अनुसन्धान केन्द्र तथा विश्वविद्यालयमार्फत संस्थागत रूपमा संरक्षण गरेका छन्,’ लुम्बिनीका सांस्कृतिक अभियानकर्ता अकरम खाँले भने, ‘तर नेपालमा भने दोगलाजस्ता मौलिक प्रविधिको व्यवस्थित अभिलेखीकरणसमेत हुन सकेको छैन । यसको इन्जिनियरिङ डिजाइन, कार्यविधि र ऐतिहासिक महत्वमाथि गहन अध्ययन नहुँदा स्थानीय बुढापाकाको स्मृतिमा सीमित यो ज्ञान उनीहरूसँगै हराउने जोखिम बढ्दै गएको छ ।’
यदि तराई–मधेस मात्र होइन, नेपालको समग्र कृषि इतिहास जोगाउने हो भने दोगलाको संरक्षण, अभिलेखीकरण र अनुसन्धान अब अपरिहार्य भइसकेको छ । यसका लागि गाउँघरमा बाँकी रहेका दोगला र अन्य परम्परागत कृषि औजारहरूको खोजी गरी सूचीकरण गर्न, कारीगर र पुराना किसानको सीप र अनुभव अभिलेखीकरण गर्न, विद्यालय र विश्वविद्यालयका पाठ्यक्रममा रैथाने कृषि प्रविधिलाई समेट्न तथा लोपोन्मुख कृषि औजारहरू संकलन गरेर कृषि तथा सिँचाइ संग्रहालय स्थापना गर्न आवश्यक छ । धान दिवस र रोपाइँ महोत्सवमा यस्ता प्रविधिको जीवन्त प्रदर्शनलाई कृषि पर्यटनसँग जोड्न सके दोगला पुनः खेतमा नफर्किए पनि तराई–मधेसको कृषि इतिहासबाट कहिल्यै मेटिने छैन ।
‘आजको विश्व समुदाय जलवायु परिवर्तनको असर कम गर्न न्यूनतम कार्बन उत्सर्जन गर्ने हरित तथा वातावरणमैत्री प्रविधिको खोजीमा छ,’ कपिलबस्तु निवासी पर्यावरणविद् डा.सतीस उपाध्यायले भने, ‘तराई–मधेसका रैथाने किसानले दशकौँअघि नै ‘दोगला’ मार्फत यस्तै दिगो र वातावरणमैत्री सिँचाइ अभ्यासलाई व्यवहारमा उतारिसकेका थिए ।’ डा.उपाध्यायका अनुसार, महँगो इन्धनबिनाको, हानिकारक धुवाँरहित, ध्वनि प्रदूषणमुक्त तथा पूर्ण रूपमा मानवीय श्रम र सामुदायिक सहकार्यमा आधारित यो परम्परागत प्रविधि दिगो तथा हरित कृषिको उत्कृष्ट उदाहरण हो ।
मधेस मानवअधिकार गृह (माहुरी होम) कपिलबस्तुका अध्यक्ष एवं लोक संस्कृतिका जानकार रामदयाल ठाकुरका अनुसार, इतिहास केवल दरबार, युद्ध र विजेताहरूको मात्र हुँदैन; इतिहास ती गुमनाम किसानहरूको पनि हुन्छ, जसले आफ्ना हातलाई इन्जिन र पसिनालाई इन्धन बनाएर कुनै मेसिनबिना नै हजारौँ परिवारको जीविका धाने । दोगला केवल एउटा सिँचाइ उपकरण थिएन; यो माटोसँगको आत्मीय सम्बन्ध, नदीप्रतिको विश्वास, श्रमको सम्मान र सामुदायिक सहकार्यको जीवन्त संस्कृति थियो । कोटहीमाइ गाउँपालिकाका अध्यक्ष बालकृष्ण त्रिपाठीले कृषि संग्रहालयको आवश्यकतामाथि जोड दिँदै भने, ‘यदि आज दोगलाजस्तो रैथाने सिँचाइ प्रविधिलाई जोगाउन सकिएन भने हराउने केवल एउटा बाँसको औजार मात्र हुने छैन; हाम्रा पुर्खाहरूको सिर्जनशीलता, सामूहिक श्रमको गौरव र तराइ–मधेसको महत्वपूर्ण कृषि सभ्यताको एउटा अमूल्य अध्याय नै इतिहासको अन्धकारमा विलीन हुनेछ ।’
प्रतिक्रिया