इदी र मादीको प्रेमजाल

– अन्नपूर्ण दोस्रोको हिमनदी र सोही हिमनदीबाट बनेको क्हफुचे हिमताल मादी नदीको शिर हो । यसमा हिमालय, सहायक हिमालय, मध्यपहाड, महाभारतबाट हुत्तिँदै आएका नदी, खोला र झरना मादीमा मिसिन्छन् । नदीले पूर्ण रूप लिन्छ । माथिल्लो खण्डमा झरनाकारमा दुधकोसीजस्तै भएर बग्ने मादी उपत्यका पुगेपछि बिस्तारै, गम्भीर हुँदै दमौलीमा वेदव्यास गुफानजिकै सेतीमा मिसिएर विश्राम गर्छ ।

– गाढा निलो सारी पहिरेर बेलायत गोर्खा पल्टनमा गएको पतिलाई पर्खेर बसेकी सिक्लेसकी यौवनाजस्तै भएर क्हफुचे हिमतालभन्दा २०० मिटर तल तालकै आकारमा बसेको थियो मादी नदी । मनमा लाग्यो ती युवतीको भेषमा निलै भएर बसेकी मादीको एकान्तलाई भंग गरिदिऊँ लाहुरे भएर । फेरि मनमनै सोचे म इन्द्र र विष्णुजस्तो छली हुन हुँदैन ।

मोदी नदीको शिर अन्नपूर्ण (प्रथम), अन्नपूर्ण दक्षिण र माछापुच्छ«े हिमनदी हो । मर्दीखोला मर्दी हिमालको पखेरोबाट सुस्साउँदै झर्छ । सेती गण्डकीको मूल अन्नपूर्ण तेस्रो हो । हामी मादी उपत्यकामा थियौँ । मादीको शिर अन्नपूर्ण दोस्रो र अग्लो, बलियो र चौडा छाती भएको गुरुङ युवाजस्तो देखिने लमजुङ हिमालको हिमनदी हो ।

चैत र वैशाखमा बिहानको मौसम प्रायः कलिलो, सफा, आकर्षक र मन लोभ्याउने हुन्छ । बारीमा उम्रेका मकै, बोडी र सिमीका कलिला बोट र झालले किसानको मुहारमा मुस्कान ल्याउँछन् । भर्खरै पलाएका हरिया, चिल्ला र कल्कलाउँदा पालुवा, हरियो वन चिर्दै झरेका सेता झरनाले आफ्नो रूप, रङ्ग, आकार र सौन्दर्य कलात्मक शैलीमा मानव र पशुपक्षीलाई प्रदान गर्छन् । दुधजस्तो सेतो देखिने नयाँ कमलो हिउँको श्रीपेच पहिरेर टुलुटुलु मादी उपत्यका हेरिरहेका उच्च हिमालय पर्वतका अनगिन्ती चुचुराहरूले वातावरणलाई थप सुरम्य बनाउँछ । त्यो कलिलो बिहानी वसन्त हो । अपराह्नको मौसम भने हावाहुरी, चट्याङ, असिना र पानी पर्ने हुन्छ । त्यसैले यात्रामा समयको सन्देश पालन गर्नुपर्छ ।

मैले झुटो बोल्नु परेन । अघिल्लो साँझ पानी पर्यो । हुस्सु निकै बेर नाच्यो । मध्यरातमा भने जुन चम्क्यो । भोलिपल्ट बिहान नदी, झरना, पालुवा र हिमाल देख्दा अचानक, आश्चर्यमा पार्ने गरी उमंग छायो । मानव र पशुपक्षीमा स्फुर्ती आयो । उत्साह जाग्यो र हृदय गदगद भयो । हर्षले मन भुर्र उड्यो चरीझैँ । सँगसँगै पूmल चुम्दै उडे सेता, काला र पहेँला पुतली । त्यस बेला आफँैले पिठ्युँमा बोकेको थैलो र टेक्दै गरेका दुई लठ्ठीसँगै सिक्लेसका तन्देरी र तरुनी ‘सालैजो’को भाकामा छमछमी नाचेझैँ नाच्न मन लाग्यो म ठुल्दाइलाई पनि ।

सिक्लेसको पूर्वी कुनोमा नेपालको झन्डासहित वरपिपलबिनाको चौपारी छ । त्यो यात्रीले दृश्यावलोकन र किसानले भारी बिसाउने नयाँ चौपारी हो । हो त्यहीँबाट देखिन्छ हरियो वनमाथि सेतो हिउँको नेपाली टोपी, सेतै भोटो, कछाड अनि गादो पहिरेर उभिएको अन्नपूर्ण शृंखला । उमंगले मात्तिएका पाइलालाई रोक्न सकिनँ मैले । अरूले जे भने पनि भनून् । छमछमी नाचेँ म सुनाखरीलाई साक्षी राखेर ।

त्यसबेला मित्र ज्ञानेन्द्र र मुकुन्दले भने ‘हिमाल देखेपछि ठुल्दाइको बैँस पन्पियो ।’ तर, त्यहीँ नजिकै लहरै उभिएर मेरो नृत्य हेर्ने (देब्रेतिरबाट) अन्नपूर्णका मुख्य ४ भाइमध्ये कान्छो÷चौथो (७ हजार ५२५ मि.), अन्नपूर्ण माहिलो÷दोस्रो (७ हजार ९३७ मि.) भिरालो चट्टानमा गजधम्म परेर थुप्रिएको माहिलोको विशालतम एवं भव्य हिमनदी (Glacier) र भीमकाय आकृतिमा रहेको लमजुङ हिमाल (६ हजार ९९३) ले भने शिव र पार्वतीले आफ्ना नन्दी, भृंगी, यक्ष, गन्धर्व आदिलाई हेर्दै मुस्कुराएझैँ मुस्कुराएका थिए ।

– इदी झरनाको झरझर र मादीको सुस्साहटले फेरि बाटोमा ल्यायो लरबरिएको मेरो मन अनि पाइलालाई । इदी र मादी वरपर रहेको प्रकृतिको त्यो विविधतायुक्त सौन्दर्य र लीलालाई विविधतायुक्त नेपाली संस्कृतिसँग तुलना गर्दै साथीहरूको पछि लागेँ क्हफुचे तालतिर ।

म धन्य भएँ । त्यस्ता अनेकन दृश्य हेरेँ । नाचेँ । मात्तिएको मात्र होइन हर्षको मदले लरबराएँ पनि । त्यति हुँदा पनि प्रकृतिको त्यो लोभलाग्दो दृश्य देखेर मेरो अघोरी मन पटक्कै अघाएन । सत्य होला, त्यो मेरो कमजोरी नै बन्यो । घाँसको भारी बोकेर वनबाट झरेकी गुरुङ्सेनी बहिनीले ‘दाइ, के भयो ? किन लरबराएको ?’भनेपछि झस्कँदै म आफ्नो लयमा फर्कें ।

सांख्य दर्शनका दार्शनिक मुनि कपिलले दार्शनिक कोणबाट प्रकृति र पुरुषबारे गहन चर्चा बुद्धको समयभन्दा पहिले नै गरेका हुन् । त्यसमा प्रकृतिको आफैँमा निरन्तर भौगर्भिक परिवर्तन भइरहने गुणबारे व्याख्या गरेका छन् । त्यसको अर्थ सृष्टि रचनामा प्राकृतिक भौतिक तत्व नै जिम्मेवार भएको उल्लेख छ । शाक्यमुनि गौतम बुद्धले पनि परिवर्तनको सिद्धान्तलाई स्वीकार गर्दै नदीमा एक छालपछि आउने अर्को छाल फरक छाल हो, त्यो छाल फर्कंदैन, निरन्तर बग्छ । उनले नित्य केही छैन, जे कुराको जन्म हुन्छ, त्यो नास हुन्छ, फेरि जन्मदैन भने । सिक्लेस गाउँ पार गरेपछि देखिएको प्रकृतिको विविधतायुक्त दृश्यमा प्राकृतिकरूपमा परिवर्तनका थुप्रै आयाम देखिएका थिए । त्यसले दर्शनको महत्वलाई सम्झायो । हामी हाम्रो तनलाई प्रकृतिको त्यो निरन्तर क्रियाशीलतासँग मित लगाएर, त्यसैमा समाहित भएर मादी नदीजस्तै बग्दै गयौँ क्हफुचेतिर ।

चारैतिर बाक्लो वन छ । रूख अग्ला छन् । त्यसभित्र झाडी र लहरा छन् । वनमा उज्यालो बत्ती बालेको छ टाढा पाखामा एक्ले ढकमक्क सेतै फुलेको टाँकी, चाँप, इन्द्रकमलको पूmलले । झाडीयुक्त वन मलिलो हुन्छ । पोखरा वरपरका पहाडमा घना वन भएकाले नै त होला अत्यधिक वर्षा हुने गरेको पनि ।

ओहो ! कति चाँडै दुई पहाडको बीचको कन्दराबाट हुँत्तिदै भेट्न आएकोजस्तो देखिएको सुन्दर झरना देखियो । त्यसको नाम इदी रहेछ । दोलखाको छ्योत–छ्योत झरनाको झल्को दिने इदी सिक्लेस गाउँ माथिको पूर्वी चुली र त्यसको बाक्लो हरियो वनसहितको ढल्के पर्वतबाट सेताम्मे भएर हाम फालेको छ । पुलको पूर्वी टुँडोबाट झरनाको पूर्ण रूप देखिन्थ्यो । चाँप हुन् वा कमल हुन् वा टाँकीको भेषमा फुलेकी पूmल हुन् वा पूर्ण यौवनमा फक्रेकी सिक्लेसकी गुरुङ कन्या झुक्किएँ म इदी झरनालाई देख्दा । एकान्तमा मानवलाई मात्र कहाँ हो र चराचुरुंगीलाई पनि लोभ्याउने चुम्बकीय आकर्षण छ इदीमा । झरनाको फेदमा सानो पोखरी पनि छ । त्यसपछि इदी झरनाले खोलाको रूप धारण गरी नजिकै विश्राम गर्छ मादी नदीमा ।

बाक्लो, अग्लो र फराकिलो निगालो घारी, सबुर, चाप, उत्तिस, गुराँस, खस्रु, चिलाउने, कटुस, निगालो आदिको वन, भिर हुँदै इदी खोला र मादी नदीको सतहबाट ठाडो भई उभिएको पर्वतलाई पछ्यायौँ । चट्टाने खण्डमा पहरोको काँछैकाँछ बाटो उक्लेको रहेछ । बाटोमा क्हफुचे हिमताल पुगेर फर्केका युवा भेटिए । उनीहरूले वनको उकालोभन्दा मादीको तीरमा झरेर हुगु गोठ जान अथ्र्याए । हामीले त्यसै गर्यौँ । जलविद्युत् आयोजनाका मजदुरले पहरो फुटाउँदै थिए ।

बिहान ७ बजे सिक्लेसमा कोदोको २–२ सेल रोटी, चना र आलुको तरकारी तथा कालो चिया खाएका थियौँ । मादीको तीरमा पुग्दा त्यो तुरिएछ । ज्ञानेन्द्रले ‘दाइ, यहीँ बसेर पानी र बिस्कुट खाऊँ’ भने । ‘यो कोप्चोमा होइन, अलि उच्च ठाउँमा फराकिलो ढुंगो भेटिएला त्यहीँ बस्ने है’, मैले फकाएँ ।

साँच्चिकै फराकिलो ढुंगा भेटियो । बस्यौँ । नजिकको पदयात्रा भएकाले धेरै खाने कुरा बोकेका थिएनौँ; अपि आधार शिविर, साइपाल पूर्वी आधार शिविर र लाप्ची जाँदाजस्तो । कफी थियो । मुकुन्दले गोकेर्णेश्वर ओख्रेनीको मकै हाँडीमा भुटेर ल्याएका रहेछन् । गुन्द्रुकको छोप ल्याउन बिर्सेका रहेनछन् उनले । त्यो खायौँ । पानी फुरफुर पर्न थाल्यो ।

सिक्लेसदेखि हुगु पुग्न ५ घण्टा लाग्छ । त्यहाँ लज छन् । त्यहीँबाट कोरी हुँदै मनाङ पुग्ने र क्हफुचे हिमनदी र हिमताल जाने बाटो छुट्टिन्छ । हामी क्हफुचेतिर उक्ल्यौँ ।

निगालोको बाक्लो घारी भएको सोही पहाडको अर्को पखेरो चढ्यौँ । आकाश बादलले ढाक्यो । बाटोमा सुनाखरी, प्राइमुला, स–साना जेन्तेनियाका सेता पूmल, लालीगुराँस, स–साना खोला, खोल्सी, वनमा तर्लाङतुर्लुङ्ग भई लहराएका लहरा र बाक्लो झाडी थियो । स–साना फिस्टे चराको चर्को चिरबिर, कोइली र ढुकुरको स्वागतले पाइला रमाएका थिए । चरा र लहराको साथले ठाडो पहरोको उकालोलाई तेर्पाएजस्तै सजिलो पार्यो । जब लङ्गुर एउटा रूखको हाँगो नुगाएर अर्कोमा हाम फाल्दै जिस्क्याउँथ्यो र हरिणले उभिएर हेथ्र्यो तब हामीमा त्यो दृश्यले थप उत्साह थप्थ्यो । सफा हावासँगै आएको वनस्पतिको सुगन्धले पाइलामा पूmर्ती थप्थ्यो । सत्य होला भोक लागेकै भए तापनि प्रकृतिले पस्केर दिएका त्यस्तै मिठो परिकारले साढे दुई बजे क्हफुचे हिमतालनजिकै रहेको साहिँला दाइको लजमा पुगेको थाहै भएन ।

लज वरपर सबुरका अग्ला र नाङ्गा रूखसहित लालीगुराँस, निगालो घारी, खस्रुका बोट थिए । मादी नदीनजिकै तल्लो पाटोबाट निलै भएर बगेको थियो । चारैतिर अग्लिएका वनसहितका अग्ला पर्वतको बीचको कुनोमा रहेको थियो क्हफुचेको त्यो लज ।

झोला नबिसाउँदै, १–१ कप मरिच चिया पिएर नसक्दै, वाइवाइको झोल नउम्लँदै झरझर पानी पर्यो । टक्क रोकियो अनि फुरुरु उडेर हुस्सु आयो । भाग्यो । पानी पनि रोकियो । फर्केर आयो कुहिरो हुरुरु मादीबाट उक्लेर तुरुन्तै । मेरो त्यो दिनको काठैकाठले बनेको सानो मनचिन्ते घरलाई ढपक्कै ढाक्यो कुहिरोले । अनि; पात, पालुवा, पूmल र कोपिलाविहीन सबुरको निर्वस्त्र अग्लो रूखमा चराहरू भार्रभुर्र उड्न थाले । हुस्सुले कुहिरोको रूप धारण गरेको थियो । अर्थात्, सेतो बाक्लो सारी पहिरेर अन्नपूर्ण दोस्रोको हिमनदी भएतिर उक्ल्यो । अन्नपूर्ण र लमजुङ हिमालवरपर त घुरमैलो, फुस्रो बाक्लो बादल मडारिइरहेकै थियो हामी त्यहाँ पुग्दा ।

हेर्दाहेर्दै दसै मिनेटको अन्तरालमा सिमसिम सिमसिमाएको झरी र फुरफुर फुरफुरिएको हुस्सुले बिदा लियो । मरिचे जडीबुटी चिया, चाउचाउको झोलले आन्द्रा गुराँसका पूmलझैँ पुष्टिए । गाढा निलो सारी पहिरेर बेलायत गोर्खा पल्टनमा गएको पतिलाई पर्खेर बसेकी सिक्लेसकी यौवनाजस्तै भएर क्हफुचे हिमतालभन्दा २०० मिटर तल तालकै आकारमा बसेको थियो मादी नदी । मनमा लाग्यो ती युवतीको भेषमा निलै भएर बसेकी मादीको एकान्तलाई भंग गरिदिऊँ लाहुरे भएर । फेरि मनमनै सोचे म इन्द्र र विष्णुजस्तो छली हुनु हुँदैन ।

आकांक्षा र मोह मानवमा प्राकृतिक तवरबाट नै आउने कुरा हुन् । तिनलाई नियन्त्रण गर्न नसक्दा मानिस छल गर्न अग्रसर हुन्छ । त्यसलाई आफ्नो अधीनमा राख्न सक्ने हो भने सुखी र खुसी हुन्छ । नदीको सौन्दर्यमा म पराजित हुनु भावनात्मक पक्ष हो, मोहलाई पराजित नगरी त्यसमा डुबुल्की मार्न खोज्नु आपूm पतित हुनु हो । मनपराएको मानिस वा वस्तुलाई प्रेम गर्नु मानवको अधिकार पनि हो । म मादीको गाढा निलो पानीको सौन्दर्यदेखि पराजित भएको थिएँ । त्यसरी एक्लै आफैँभित्र मानव वा प्रकृतिसँग प्रेममा व्याकुल हुन पाउनु र प्रेम गर्नु सबै मानव जातिको अधिकारभित्र पर्छ । प्रेमको लागि युद्ध पो गर्न भएन, प्रेमका लागि छलकपट पो गर्न भएन कसैप्रति प्रेममा लालायित हुन त सबै स्वतन्त्र हुन्छन् । त्यो प्रकृतिको सौन्दर्यको लीलासँग प्रेममा बाँधिन म पनि स्वतन्त्र नै थिएँ । सबुर र चाँपका हाँगाकोबीचबाट देखिएको उनको त्यो सौन्दर्यमा लालायित हुनु स्वाभाविक हो ।

अन्नपूर्ण दोस्रोको हिमनदी र सोही हिमनदीबाट बनेको क्हफुचे हिमताल मादी नदीको शिर हो । यसमा हिमालय, सहायक हिमालय, मध्यपहाड, महाभारतबाट हुत्तिँदै आएका नदी, खोला र झरना मादीमा मिसिन्छन् । नदीले पूर्ण रूप लिन्छ । माथिल्लो खण्डमा झरनाकारमा दुधकोसीजस्तै भएर बग्ने मादी उपत्यका पुगेपछि बिस्तारै, गम्भीर हुँदै दमौलीमा वेदव्यास गुफानजिकै सेतीमा मिसिएर विश्राम गर्छ ।

हामी यात्रामा छौँ । यात्राकै कुरा गर्दा चाखिलो होला । मादीको शिरमा पुगेपछि भावुक भएँ म । यात्रा गरेर नथाकिने मात्र होइन रेहछ यसले त पूरै मात नै लाग्दो रहेछ । जतिजति यात्राको मात लाग्दै गयो त्यति नै यात्राका लागि ठाउँको सूची पनि लम्बिँदै गयो र मेरो छट्पटी पनि त्यतिकै बढ्दै गयो । मैले स्वयंलाई कठोर र निष्ठुर प्रश्नको तगारो हाल्नैपर्नेछ, यसो भनेर कि ‘के अबको मेरो बाँकी समयले मेरो यात्राका सूचीहरूमा पाइला पार्न सक्ला ?’ मैले ‘म आउँछु ।’ भनेर वाचा गरेको ठाउँमा पुगिनँ भने मलाई प्रकृतिले सजाय नदेलान् ?

अनि मेरो प्रतिक्षामा मेरा आमा, बामात्र होइन, केवँरा, सुनाखरी, प्राइपुला, लालीगुराँस आदि फुलेर नझरी बसे भने के होला ? चाप, खस्रु, साल, धुपी, बाँझ, चिलाउने, देवदारु, भोजपत्रको डालीमा चिरबिर गर्दै कराउने चराहरू चिरबिराउँदै मेरो प्रतीक्षा गर्दा तिनको घाँटी सुक्ने हो कि ? डाँफे, मुनाल, नाउर, झारल र हिमचितुवाले पनि त पहरोको डिलमा उभिएर मेरो पाइलाको धुन सुन्न आतुर होलान् नि । गैँडा, हात्ती, भालु, जरायो, बाघ, अर्ना, मयुरले त झन् चौडा छाती बनाएर बोलाइरहलान् । पक्कै मेरो बाटो हेर्नेछन् हिमालका पाखा, उपत्यका, कन्दरा, हिमझरना, हिमनदी, हिमताल र नदीहरूले । त्यस बेला प्रकृतिमा असहजता आउँला नि !

मेरो गुनासो कसैसँग हुने छैन । समयसँग पनि गुनासो गर्ने मेरो अधिकार छैन । मेरो प्रयास जारी छ । मैले अनुभव त गरेँ नि । त्यसैले मेरा पाइला पछ्याउन प्रेरित गरिरहेको छु । मैले, म जस्तै मेरा कोपिला, पालुवा अनि सिक्रो भएका नाङ्गा हाँगालाई समेत यात्रामा जान आग्रह गरेकै हुँ । आज थुप्रै पालुवा कमिलाका ताँतीजस्तै भएर यात्रामा निस्केका छन् । अपि, साइपाल, कञ्चनजंघाको काखमा पुगेका छन् । मेरो यात्रा तपस्याको फल यही हो कि मेरा सन्तानले मेरा पाइलाको सुवास सुँघ्दै प्रकृतिको स्वाद लिन युगौँयुगसम्म प्रेरित भइरहून् । प्रकृतिलाई आमा मानेर पूजा गरिरहून् मेरा पुर्खाले गरेझैँ ।

२०८२ चैत १५ बेलुकीपख फुरफुर परेको हिउँले झस्कायो मलाई । साथीहरू नजिक थिएनन् । इदी झरनाको झरझर र मादीको सुस्साहटले फेरि बाटोमा ल्यायो लरबरिएको मेरो मन अनि पाइलालाई । इदी र मादीवरपर रहेको प्रकृतिको त्यो विविधतायुक्त सौन्दर्य र लीलालाई विविधतायुक्त नेपाली संस्कृतिसँग तुलना गर्दै साथीहरूको पछि लागेँ क्हफुचे तालतिर ।

प्रतिक्रिया