औद्योगिक क्षेत्रका उद्योगबाट उठ्यो ४६ करोड बक्यौता

काठमाडौँ । वर्षौंदेखि उठ्न नसकेको औद्योगिक क्षेत्रका उद्योगबाट बक्यौता भाडा धमाधम असुल हुन थालेको छ । बक्यौता रकम ७ दिनभित्र नतिरे विद्युत् र खानेपानी सेवा काट्ने चेतावनी दिएपछि उद्योगीहरू भुक्तानी गर्न बाध्य भएका हुन् । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका अनुसार बिहीबार मात्रै ५६ लाख ६० हजार ९२३ रुपैयाँ ३७ पैसा बक्यौता रकम असुल भएको छ । यससँगै हालसम्म सरकारी ४६ करोड ७३ लाख ११ हजार ९६४ रुपैयाँ कुल बक्यौता रकम उठेको छ ।

मन्त्रालयका अनुसार बक्यौता रकम चुक्ता गरेपछि बिहीबार र शुक्रबार गरी थप ५ उद्योगको काटिएको विद्युत् लाइन पुनः जडान गरिएको छ। यद्यपि अझै २१ उद्योगले बक्यौता नतिरेकाले तिनको विद्युत् आपूर्ति बन्द नै रहेको छ।

मन्त्रालयले सार्वजनिक गरेको विवरणअनुसार जरिवाना बाहेक सबैभन्दा धेरै बक्यौता रहेका दुई कम्पनीले भने अझै रकम भुक्तानी गरेका छैनन् । कन्टिनेन्टल कम्पोनेन्ट एण्ड सर्भिसेज प्रालिले ३ करोड ७५ लाख ३६ हजार ४५० रुपैयाँ ७८ पैसा तथा कन्टिनेन्टल सर्भिसेज प्रालिले १ करोड १ लाख ५३ हजार ४११ रुपैयाँ १७ पैसा तिर्न बाँकी रहेको मन्त्रालयले जनाएको छ ।

यी दुवै कम्पनीले सरकारी निर्देशनपछि पनि गोदाम सञ्चालन जारी राखेको पाइएको भन्दै मन्त्रालयले थप कानुनी कारबाहीको तयारी थालेको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरी यादवले सरकारी सम्पत्ति प्रयोग गरेर वर्षौंदेखि भाडा नतिर्ने प्रवृत्ति अन्त्य गर्न सरकार प्रतिबद्ध रहेको बताउँदै बक्यौता असुली अभियानलाई अझ प्रभावकारी बनाइने संकेत दिएकी छन् ।

प्रतिक्रिया