
काठमाडौँ । सरकारले आर्थिक वर्ष २०८२/८३ को असार २४ गतेसम्म पाँच लाख ६१ हजार ४९३.८५ मेट्रिकटन रासायनिक मल आपूर्ति गरेको जनाएको छ । यो परिमाण वार्षिक ६ लाख मेट्रिकटन आपूर्तिको लक्ष्यको करिब ९४ प्रतिशत हो ।
कृषि तथा पशुपन्छी विकास मन्त्रालयका अनुसार गत आर्थिक वर्षका लागि २८ अर्ब ८२ करोड १४ लाख रूपैयाँ बजेट विनियोजन गरिएको थियो । गत असार २४ गतेसम्म ४ लाख ९१ हजार ३०० मेट्रिकटन रासायनिक मल खरिदका लागि टेण्डर प्रक्रिया सम्पन्न भएको छ ।
उक्त मन्त्रालयकाअनुसार हालसम्म २ कम्पनीमार्फत ३ लाख २७ हजार ५७९.८० मेट्रिकटन युरिया, २ लाख ३ हजार ४२६.३० मेट्रिकटन डीएपी तथा ३० हजार ४८७.७५ मेट्रिकटन पोटास गरी कुल ५ लाख ६१ हजार ४९३.८५ मेट्रिकटन रासायनिक मल आपूर्ति गरिएको छ ।
उक्त अवधिसम्म देशभरका गोदाममा ९२ हजार ५९२.३५ मेट्रिकटन रासायनिक मल मौज्दात थियो । त्यसमध्ये ४९ हजार १०४.३० मेट्रिकटन युरिया, २४ हजार १२.८५ मेट्रिकटन डिएपी र १९ हजार ४७५.२० मेट्रिकटन पोटास मौज्दात थियो ।
अघिल्लो आर्थिक वर्षको मौज्दातसमेत समावेश गरी असार २४ गतेसम्म पाँच लाख १८ हजार २७८.५५ मेट्रिकटन रासायनिक मल बिक्री भएको छ । ३ लाख ७ हजार १६.६० मेट्रिकटन युरिया, १ लाख ९२ हजार ९३१.१५ मेट्रिकटन डिएपी र १८ हजार ३३०.८० मेट्रिकटन पोटास बिक्री भएको उक्त मन्त्रालयले जनाएको छ ।
बाह्य मार्गमा २८८.७५ मेट्रिकटन रासायनिक मल ढुवानीको क्रममा छ, जसमा ८६.०५ मेट्रिकटन युरिया र २०२.७० मेट्रिकटन डिएपी छ ।
प्रतिक्रिया