
ललितपुर । भारतबाट प्राप्त १५ वटा मुर्रा राँगाबाट संकलन गरिएको ४८ हजार ८५६ डोज वीर्य किसानलाई वितरण गरिएको छ । भैँसीको नश्ल सुधार तथा दुध उत्पादन वृद्धि गर्ने उद्देश्यले वीर्य संकलन गरी किसानलाई वितरण गरिएको हो । मुर्रा उच्च दूध उत्पादनका लागि प्रख्यात भैँसीको एक उन्नत जात हो । जुन मूल रूपमा भारतको पञ्जाब र हरियाणा राज्यमा उत्पत्ति भएको हो । यो भैँसी व्यावसायिक रूपमा निकै लाभादायक मानिन्छ ।
पशु सेवा विभागका सूचना अधिकारी डा.इन्दिरा शर्माले भारतबाट उपहार स्वरूप प्राप्त मुर्रा राँगाबाट हालसम्म कुल १ लाख ३० हजार ४२४ डोज वीर्य जम्मा गरिएको बताइन् । उनले ४८ हजार ५६ डोज वीर्य विभिन्न कृत्रिम गर्भाधानका लागि किसानसम्म पु¥याइएको बताइन् । उच्च प्रजनन क्षमता भएका मुर्रा राँगा भारत सरकारले २०० मंसिरमा उपहार स्वरूप उपलब्ध गराएको हो ।
राष्ट्रिय पशु प्रजनन् कार्यालय पोखरामा ७, लहानमा ५ र नेपालगन्जमा ३ गरी १५ वटा मुर्रा राँगाबाट कृत्रिम गर्भाधानका लागि वीर्य जम्मा गरिँदै आएको छ । डा.शर्माले भनिन्, ‘मुर्रा राँगाबाट वीर्य संकलन र वितरण निरन्तर भइरहेको छ । कृत्रिम गर्भाधानबाट पाडा जन्मिन थालेका छन् । तर यसबाट दुध उत्पादन र नश्ल सुधारमा कति प्रभाव परेको छ भन्ने विषयमा अहिले नै निष्कर्ष निकाल्ने अवस्था छैन ।’
मुर्रा जातको भैँसीले १ बेतमा ४ हजारदेखि ५ हजार लिटरसम्म दुध दिन्छ । जब नेपालका विभिन्न स्थानीय क्षेत्रका स्थानीय जातका भैँसीले सरदर १ हजार ५०० देखि १ हजार ६०० लिटरसम्म दुध दिन्छन् । कृत्रिम गर्भाधान प्रविधिको विस्तारसँगै उन्नत नश्लका भैँसी उत्पादन हुने, किसानको उत्पादन लागत घट्ने तथा दुग्ध उत्पादनमा वृद्धि भई पशुपालन व्यवसाय थप व्यावसायिक बन्ने अपेक्षा गरिएको पशु सेवा विभागले जनाएको छ ।
प्रतिक्रिया