
लाग्छ – निरो बाँसुरी बजाइरहेकै छ । उसलाई न कसैको मतलब छ, न ऊ कसैको कुरा नै सुन्छ । उसलाई यति मात्रै थाहा छ – ऊ उसकै धूनमा छ । संसार बदलिएर कहाँ पुगिसक्यो, संसार बदल्ने सपना बोकेर राजनीतिमा आएको ‘निरो समूह’ आफ्नो पद गुमेकामा चिन्तित छ । किन्तुपरन्तु पद चाहियो, चाहियो । ‘गगनले हाइज्याक गरेर कांग्रेस कब्जा ग¥यो । हामीलाई लात हानियो’ – यो कस्तो तर्क ? न जबाफ छ, न औचित्य नै । हरेक तहमा रूपान्तरणको बेगले आँधीबेहरी ल्याइसक्यो । पुरानो कांग्रेस बढारिएर एउटा कुनामा हुत्तिएको छ । तर, कांग्रेसका पुराना अग्रजलाई सम्मान र पद चाहिएको छ । यो बालहठ किन र केका लागि ? हजुरबुबाले मह काढ्नुभएको थियो भनेर नातिले हात चाट्दा हुँदैन । मह खान मौरी पाल्नुपर्छ । उचित रेखदेख र चरनको समुचित प्रबन्ध गर्नुपर्छ । त्यसो गर्न सकिएन भने घार पुरानो हुन्छ, मौरी मर्छन् र मौरीका मालिक मह होइन, मौरी नासको साक्षी बन्छन् । कांग्रेसको पुरानो पुस्ता त्यही लयमा छ । जो रोम जल्दा निरोले बजाएको बाँसुरीको लय हो ।
कांग्रेस बनाउन उहाँहरूको योगदान छैन, कसैले भन्दैन । योगदान छ, यसप्रति गर्नुपर्ने सम्मान गगन पुस्ताले गर्नुपर्छ, एकांकी बन्न मिल्दैन । तर, सम्मानका नाममा अपमान सहन सकिन्न । निरो समूहको पाठपूजा र भक्तिगानमा गगन पुस्ता रहन सक्दैन । यो पुस्ता त्यसरी अल्झियो भने न ऊ रहन्छ, न भावी पुस्ताले सम्झन्छ । अग्रजलाई सम्मान गर्ने धुनमा आफ्नो चिता आफैँ पखाल्न सम्भव छैन । चिता अरूले पखाल्ने हो । चिता पखाल्दा आँसु खसाल्ने, नखसाल्ने चिता पखाल्नेको तजबिजी हो । जो उसैको भावनामा अन्तरनिहित हुन्छ । समाजले नियालिरहेको छ, चिता पखाल्दा आँसु खसाल्ने मानवता गगन पुस्तासँग छ कि छैन । यो पुस्ता संयम पुस्ता हो । जसले देखेको मात्र होइन, हरेक उतारचढाव भोगेको छ । सारा राप र तापले सेकिएको गगन पुस्ता भिजनरी पुस्ता हो । उसलाई परिमाण र परिणाम दुवै थाहा छ । गगन पुस्ताले परिणामको पाइ–पाइ हिसाब चुक्ता गर्ने सामथ्र्य पनि राख्छ । तर, कांग्रेस यति प्रतिशत फुटिसक्यो, उति प्रतिशत फुटिसक्यो भनेर बरबराउँदा प्रतिशत निर्धारण हुँदैन । पार्टी फुट्न आधार चाहिन्छ । राष्ट्रिय दायित्वसहित क्रियाशील पार्टी फुट्न के चाहिन्छ, कांग्रेसको अग्रज पुस्तालाई त्यसको राम्रो हेक्का छ । चुनदेवीतिर पुगेर के मानक स्थापित गर्न खोजिएको हो, त्यो चाहिँ कांग्रेसका नाविक हौँ भन्नेहरूलाई नअथ्र्याई नहुने पाटो हो । तर, त्यो ल्याकत निरो समूहमा छैन । यस्तै आभास हुन्छ, चुनदेवी चढेको प्रौढ पुस्ताको तर्क सुन्दा र तमासा देख्दा ।
विशेष महाधिवेशन गगन पुस्ताले गरेको शालीन विद्रोह हो । कांग्रेसजस्तो पार्टीमा यस्तो विद्रोह अक्सर सफल हुन्छ । विरलै प्राप्त हुने सफलता गगन पुस्ताले हात पारेको छ । महामन्त्रीबाट मात्रै होइन, कांग्रेसको साधारण सदस्यसमेतबाट निष्कासन गरिएका गगन र विश्वले आफ्नो पुस्तालाई साथमा लिएर गरेको शालीन विद्रोह सफल नभएको भए अहिले उनीहरू कहाँ हुन्थे ? कांग्रेसमा उनीहरूको नामोनिसान हुन्थ्यो ? अहिले भाग खोजेर बसेको अग्रज पुस्ताले गगन–विश्वलाई भाग दिन्थ्यो ? अवश्य दिँदैनथ्यो, लात हान्थ्यो । यो चाहिँ मन्थन गर्ने पाटो हो । देश ७५ वर्षका मानिसको नियन्त्रणबाट फुत्किएर ३५ वर्षका मानिसको हातमा आइसक्यो । तर, कांग्रेसको अग्रज पुस्ता ‘हामीले ३५ वर्ष भोग्यौँ । तिमीहरू भरखर जन्मिएका हौ’ भनेर गगन पुस्तासँग पौठेजोरी खेलिरहेछ । नजुध्दा क्षति हुँदैन, जुध्दा क्षति हुन्छ । जुध्ने गोरुको सिङ फुक्लन सक्छ, फुक्लिन्छ । जुधेर सिङ फुकाल्नु भन्दा सिङ जोगाउन लाग्नु नै कांग्रेसको अग्रज पुस्ताको दायित्व हो ।
गगन पुस्ताले गरेको विद्रोह कांग्रेस पार्टी इतिहासकै अपवाद हो । कांग्रेसमा यस्तो विद्रोह न कहिल्यै भएको थियो, न निकट भविष्यमा नै सम्भव छ । कांग्रेस इतिहासकै असम्भव काम अहिले सम्भव भएको छ । यसलाई सही, समयको आवश्यकता र गगन पुस्ताको हिम्मत मान्न करै लाग्छ । यो हिम्मतलाई गगन पुस्ताले गरेको आवश्यकता बोध र जिम्मेवारी सम्झेर अग्रज पुस्ताले बिनाहिच्किचाहट स्वीकार्न सक्नुपर्छ । स्वीकार्न सकियो भने अवश्य अपनत्व ग्रहण हुन्छ । म नेतृत्वमा भए ठिक, अरू भए बेठिक भन्ने अधिनायकवाद अब थेचारिन्छ, जो समयको पदचाप हो । नकि गगन–विश्वको उपद्रव । यहाँ उपलब्धि भएको छ, तर उपद्रवको ट्याग जबर्जस्ती भिराइँदै छ । कांग्रेसमा लामो संघर्ष गरेको पुस्ता कांग्रेस सक्न लाग्छ कि सपार्न ? यो चाहिँ निरोले बजाएको बाँसुरी नियालेझैँ दुनियाँले नियालिरहेको छ ।
कांग्रेसलाई माया चुनदेवीतिर पुगेर गर्न सकिन्न । त्यो त भागका लागि खोजिएको अवैध बाटो हो । अंशबन्डाका लागि गरिएको तयारी र लगाइएको घुर्की मात्रै हो । विधिको कुरा गरेर कहिल्यै नथाक्ने कांग्रेसको अग्रज पुस्ता आज ब्रान्डको हुंकार गरिरहेको छ । यही हुंकार हाबी हो भने पार्टी फुट्छ भनिरहेको छ । पार्टी फुटाउन केन्द्रीय समितिको आवश्यक संख्या कति ? यो कसैले कसैलाई सम्झाउने, सिकाउने विषय होइन । हिजो आफैँले बनाएको विधान आज आफैँ नमान्ने ? गोरुको दाम बाह्रै टक्का गरियो भने गोरु बिक्छ कि बिक्दैन ? गोरु बेच्नेले बुझ्ने हो । मैले भनेको माने मित लाउँछु, नत्र सिध्याइदिन्छु, यो कस्तो तर्क हो ? कांग्रेसलाई जगाउने या थप संकटमै सिध्याउने ब्रान्डिङ पुस्ताकै चेतमा छ, नकि गगन पुस्ताको हातमा । कांग्रेस हुन र चलाउन चुनदेवीतिरको कोइराला ब्रान्ड, सिंह ब्रान्ड, भट्टराई ब्रान्ड, निधि ब्रान्ड होइन, नवीन ब्रान्ड चाहिन्छ ।
चुनदेवीतिर निरोको अर्को बाँसुरी पनि बजिरहेको छ । त्यो सम्मानको होइन, स्वार्थको बाँसुरी हो । निरोले दुःखान्त बाँसुरी बजाएको थियो, होला ! तर यहाँ त सत्ताको बाँसुरी बजाइँदै छ । थोत्रो कांग्रेसी सांगठनिक सत्ताको बाँसुरी । सत्ता भएपछि नियम, कानुन, पद्धति केही पनि चाहिँदैन । केवल सत्ता प्राप्तिको अशोभनीय बाँसुरीको धुन भएपछि पुग्छ ? कांग्रेस आफूलाई संवैधानिक कानुन र लोकतान्त्रिक पद्धतिको देशकै ठुलो जननी ठान्छ । यो बुझाइ स्वार्थी बुझाइ हो । न यहाँ संवैधानिक निकाय निर्वाचन आयोगलाई स्वीकारिएको छ, न सर्वोच्च न्यायालयलाई नै । निर्वाचन आयोग र सर्वोच्च अदालतलाई नै चुनौती दिने काम चुनदेवी यात्राले गरिरहेको छ । कांग्रेसको आन्तरिक जीवनलाई ताप्केबाट निकालेर भुंग्रोमा किन हालिँदै छ ? अहिले सिंगो कांग्रेसका सामु यही प्रश्न तेर्सिएको छ । जसको जबाफ सरल र सहज छैन, असहज र कठोर छ ।
नेपाली राजनीतिको मसानघाटमा यतिबेला जलेर केही खरानी भइरहेको छ भने चुनदेवी क्षेत्रको अवैध भेला र बैठककै भइरहेको छ । गगन थापा व्यक्तिगत रूपमा विद्रोही, अति महत्वाकांक्षी र क्रूर कसैलाई लाग्नु स्वाभाविक हो । गगन हदै शालीन र उपल्लो समन्वयकर्ता होइनन् । संसारमा त्यस्तो हुन सम्भव पनि छैन । तर, आफूभित्रको विघ्नस्वार्थ र सर्वसत्तावादी सोचले चुनदेवी पुगेको एउटा तप्कालाई अन्ततः त्यही मसानघाटको खरानीले एकदिन छोप्नेछ । त्यो खरानी यसरी हराउने छ, जहाँ कांग्रेसको आकृति धुमिल हुने निश्चित छ । चुनदेवीको खरानीलाई कलंकको टिकोमा रूपान्तरण हुन नदिन त्यता कतै निरन्तर भइरहेको भेला, छलफल, अस्वाभाविक बैठक तत्काल रोकिनुपर्छ । ती कुबेलाका भेला र छलछाम मात्रै हुन् । न तिनको वैधता छ, न त भ्रूण र सग्लो शरीर धारण गर्ने सामथ्र्य नै छ ।
अहिले अत्यन्त कमजोर विश्लेषण गरिँदै छ । न त्यो सत्य छ, न त त्यसको कुनै धरातलीय आधार नै । करिब ६५ प्रतिशत महाधिवेशन प्रतिनिधि सशरीर उपस्थित भएर विशेष महाधिवेशन सम्पन्न गरेको तथ्य ढाकछोप गरिँदै छ । र, भनिँदै छ – ‘एकजनाका लागि विशेष महाधिवेशन गरियो ।’ यो विश्लेषणका नाममा खडा गरिएको विखण्डनको झिनो स्वर मात्रै हो । मात्रै गगन थापालाई सभापति र प्रधानमन्त्री बनाउन विशेष महाधिवेशन गरियो भन्नु आफैँमा स्वैर नाटक मञ्चन गर्नु हो । विशेष महाधिवेशन गगनको स्वार्थका लागि मात्रै गरियो भन्ने भनाइ बौद्धिक भ्रष्टीकरणको सफेद उदाहरण हो । कांग्रेस विधानका जानकार र भुक्तभोगीहरूका अगाडि त अशोभनीय र आलोच्य विषय पनि । यसले लोभको गिद्धे नजर र स्वार्थको विद्रुपता मात्रै झल्काउँछ । नकि वैधानिकताको बृहत् बहस ।
निरो र रोमन साम्राज्यसँग जोडिएको एउटा पुरानो कथा छ । कांग्रेसको ‘ब्रान्डिङ समूह’ समूहको ताजा गतिविधिले त्यही कथाको आभास दिन्छ । ब्रान्डिङ समूह त्यही लयमा त छैन ? रोमन साम्राज्यका पाँचौँ सम्राट भनिएका निरोले सन् ५४ देखि ६८ सम्म त्यहाँ शासन गरेका थिए । उनी शासक भएकै बेला ६४ मा रोममा विनाशकारी आगलागी भयो । रोम जलिरहँदा निरो बाँसुरी बजाउँदै बसेका थिए । मतलब निरोले आगो निभाउन कुनै बास्तै गरेनन् । विपद्लाई बिर्सेर निरो आफ्नै धुनमा झुलिरहे । जसले रोमबाट जुलियो–क्लोडियनको शासन पतन भयो । अहिलेको पद मोहले कांग्रेसको ब्रान्डिङ समूहको अवस्था पनि जुलियो–क्लोडियनको शासनको नयाँ रूप बन्न सक्छ । इतिहासमा निरोको छवि चित्रित भएको छ, कांग्रेसको ब्रान्डिङ समूह पनि त्यही चित्रमा बदलिन सक्छ । समयमै निरो लयबाट मुक्ति खोजिएन भने सिंगो कांग्रेसको चित्र नै निरो स्वरुपमा बदलिन बेर लाग्दैन ।
प्रतिक्रिया