बिचौलिया रोक्न र कर्मचारीलाई जिम्मेवार बनाउन काठमाडौँका सिडिओको नयाँ मोडल
विक्रम रत्न२०८३ असार ३० गते ७:०४ मा प्रकाशित
ईश्वरराज पौडेल, सिडिओ, काठमाडौँ
नागरिकलाई कसरी छिटोछरितो सेवा दिन सकिन्छ भन्ने मोडल खोज्दै जाँदा ‘सार्वजनिक सम्बोधन प्रणाली’ विकास गरेका हौँ । यो मेरो आफ्नै अवधारणा र नवप्रवर्तन हो । सेवाग्राहीले झ्याल–झ्यालमा, दिनभर घामपानी नभनी उफ्रिएर, थिचिएर, मिचिएर, चेपिएर लाइनमा बसेर सेवा लिनुपर्ने बाध्यता थियो । बिचौलियाको बिगबिगी थियो । अहिले लाइन बस्नुपर्दैन । बिचौलिया निषेध गरिएको छ । हरेक कोठा, जहाँ सेवाग्राही पुग्छन्, त्यहाँ हरेक समस्याको तत्कालै समाधान हुन्छ र सहजै सेवा पाउँछन् । – ईश्वरराज पौडेल, सिडिओ, काठमाडौँ
काठमाडौँ । सुशासन, भ्रष्टाचार नियन्त्रण र सार्वजनिक सेवा सुधारलाई प्राथमिकतासाथ अघि बढाइरहेको सरकारले विभिन्न निकायमार्फत् सेवा प्रवाहमा सुधार ल्याउने कोसिस गरिरहेको छ । सरकारी निकायहरूमा हुने ढिलासुस्ती र लामो लाइनको सास्ती आमनागरिकको सबैभन्दा ठुलो टाउको दुखाइ बनेको छ । नागरिकको यही सास्ती हटाउन जिल्ला प्रशासन कार्यालय काठमाडौँले नयाँ प्रणालीको सुरुआत गरेको छ । ‘सार्वजनिक सम्बोधन प्रणाली’ लागू गरेर सिडिओको प्रत्यक्ष कमान्डमा दैनिक प्रशासन सञ्चालन भइरहेको छ भने बिचौलियालाई पूर्ण रूपमा निषेध गरिएको छ । दैनिक हजारौँ सेवाग्राहीलाई सेवा दिइरहेको यस सिडिओ कार्यालयले सेवाग्राहीलाई पाइला–पाइलामा सहजीकरण गरेर सेवा प्रवाहको नयाँ मोडल स्थापित गरेको छ । अनावश्यक भिडभाड र लाइनको सकस त हटाएको छ नै, सानो कामका लागि पनि बिचौलिया पोस्नुपर्ने बाध्यताबाट पनि सेवाग्राहीले मुक्ति पाएका छन् ।
के हो सार्वजनिक सम्बोधन प्रणाली ?
जिल्ला प्रशासन कार्यालय काठमाडौँले सार्वजनिक सम्बोधन प्रणालीलाई सेवाग्राहीले सेवा लिने कोठा–कोठामा उनीहरूलाई परेका समस्या त्यहीँ समाधान गर्ने र दिनुपर्ने सेवाका सम्बन्धमा सम्बोधन गर्ने प्रणालीका रूपमा व्याख्या गरेको छ । सिडिओ ईश्वरराज पौडेलले सेवाग्राही सेवा लिन पुग्ने हरेक कोठा र कर्नरमा उनीहरूको आवश्यकता र समस्याप्रति चासो राख्दै कार्यालयको तर्फबाट समस्या समाधान र सेवा दिने कुरा नै सार्वजनिक सम्बोधन प्रणाली भएको बताए । यसमार्फत् सिडिओ आफैँले आवश्यकताअनुसार सम्बन्धित शाखा, सम्पूर्ण कार्यालय वा सेवाग्राहीसमेतलाई एकै पटक निर्देशन र सूचना दिन सक्छन् । सिडिओले हरेक शाखाका गतिविधि अडियोसहितको सिसिटिभीमार्फत् निगरानी गर्छन् । कुनै शाखामा कोही सेवाग्राहीको काम निर्धारित समयमा नभएको वा अनावश्यक भिडभाड भए सोही प्रणालीमार्फत् आवश्यक निर्देशन वा सहजीकरण गर्छन् ।
हरेक सेवा प्रदायक विन्दुमा सहायता र आराम कक्ष
सिडिओ कार्यालयमा आउने सेवाग्राहीले लाइन लाग्नुपर्ने बाध्यता अहिले छैन । लाइनको सट्टा आराम कक्षको व्यवस्था छ, जहाँ सेवाग्राही कुर्सीमा बसेर फ्री वाइफाई चलाउँदै पालो कुर्न सक्छन् । यस्तो व्यवस्था कार्यालय भवनबाहिर र सेवा लिन जानुपर्ने सबै शाखामा छ । सेवा दिने हरेक शाखामा सहायता कक्ष छन्, जसले सेवाग्राहीलाई कोठा–कोठामा पुग्दा हुने अन्योल चिर्न मद्दत पुगेको छ । पहिलेजस्तो कागजात नमिलेर अन्तिम घडीमा सेवाग्राही फर्किनुपर्ने अवस्था नरहेको सिडिओ पौडेल बताउँछन् । उनका अनुसार आराम कक्षदेखि सेवा लिने शाखासम्म कर्मचारीले नै पुर्याउँछन्, कतै अल्मलिनुपर्दैन ।
माइकबाट सम्बोधन र निर्देशन
कार्यसम्पादनको सवालमा कुनै निर्देशन दिनुपरे वा समस्या समाधान गर्नुपरे सम्बन्धित शाखा प्रमुखले कर्मचारी वा सेवाग्राहीलाई माइकबाट सार्वजनिक रूपमै सम्बोधन गर्न सक्ने व्यवस्था छ । सिडिओले कार्यकक्षबाटै टेलिफोन सेट प्रयोग गरी शाखाका अधिकारी, कर्मचारी र सेवाग्राहीलाई निर्देशन वा सूचना दिन सक्ने व्यवस्था गरिएको छ । कार्यालयमा रहँदा सिडिओले निर्देशन दिँदै गरेको बारम्बार सुनिन्छ । आवश्यकताअनुसार अन्य कर्मचारीले समेत प्रणालीको प्रयोग गर्छन् । सिडिओ कार्यालयबाहिर जानुपर्ने अवस्थामा पनि यही प्रणालीमार्फत् सबै शाखामा एकै पटक जानकारी प्रवाह हुन्छ, यस्तोमा कर्मचारी मात्रै होइन, सेवाग्राहीले पनि सिडिओ बाहिर जाँदै गरेको थाहा पाउँछन् । बिहान ९ बजे कार्यालय समय सुरु भएदेखि नै कार्यालयमा भइरहेका कामबारे जानकारीसहित घन्टा–घन्टामा माइक बजिरहन्छ । कुनै सेवाग्राहीको काम कर्मचारीमार्फत् अड्किएको छ र कुनै गुनासो छ भने सिधै सिडिओलाई जानकारी गराउन भनिन्छ ।
जिम्मेवार र जबाफदेही बन्दै कर्मचारी
नयाँ प्रणाली सुरु गरेसँगै कर्मचारी पनि सेवाग्राहीप्रति जिम्मेवार र जबाफदेही देखिएका छन् । हरेक विन्दुमा सहायता कक्ष भएका कारण पनि सम्बन्धित शाखामा कर्मचारीलाई धेरै समस्या पर्दैन । कर्मचारी काम गर्नबाट पन्छिए सेवाग्राहीले तत्कालै उजुरी गर्न सक्ने र सिडिओले अडियो÷भिडियोसहित निगरानी गरिरहने भएकाले कर्मचारीहरू पनि सजग र जिम्मेवार बनेका छन् । यसअघि सिडिओहरू कार्यालयमा विरलै भेटिने गरेकामा अहिले सिडिओ पनि अपवादबाहेक कार्यालयमै भेटिन्छन् । कार्यालयसँग सम्बन्धित काममा मात्रै बाहिर निस्किने गरेको पौडेल बताउँछन् । बाहिरी कार्यक्रममा जान पूर्णतः बन्द भएको छ । कार्यालयकै बैठकमा हुँदा पनि सेवाग्राहीले भेट्न चाहेमा सिडिओले सहजै भेट दिने गरेका छन् ।
बिचौलियालाई नो इन्ट्री !
पछिल्लो समय सिडिओ कार्यालयमा बिचौलिया पूर्णतः निषेध गरिएको छ । हरेक स्थानमा जोडिएका सिसिटिभीमार्फत् निगरानी गर्दा एउटै व्यक्ति पटक–पटक आएमा बिचौलिया हुन सक्ने आशंकामा आवश्यक प्रक्रिया सुरु गरिन्छ । सेवाग्राहीलाई सहयोग गर्न शाखैपिच्छे सहायता कक्ष र प्रशासनकै कर्मचारी सहयोगी भएपछि सेवाग्राहीले पनि बिचौलियाको चंगुलमा पर्नुपर्ने बाध्यता हटेको छ । कार्यालय र शाखामा मात्र होइन, क्यान्टिनमा गरिएको कुराकानीमा समेत सिडिओले निगरानी गर्ने भएकाले बिचौलियाले काम गरिदिन्छु भनेर रकम लिन पाउने अवस्था नरहेको पौडेलले बताए ।
दैनिक हजार जनाले लिन्छन् सेवा
सिडिओ पौडेलका अनुसार कार्यालयले दैनिक करिब १ हजार जनालाई सेवा दिने गरेको छ । कसैको काम थाती बसेर भोलिपल्ट आउनुपर्ने अवस्था छैन । दैनिक नागरिकतासम्बन्धी २००, पासपोर्ट आवेदन करिब २००, पासपोर्ट वितरण २००, राष्ट्रिय परिचयपत्रका ३०० र अन्य विभिन्न शाखाबाट सम्पादन हुने गरी करिब हजार जनालाई सेवा दिने गरिएको उनले बताए । यसबीचमा १२ सय जनाभन्दा बढीको पासपोर्ट घरमै पुर्याइसकेको छ ।
खुसी छन् सेवाग्राही
सिडिओको दाबीमात्रै होइन, कार्यालयमा पुगेका अधिकांश सेवाग्राही पनि फेरिएको कार्यशैली र प्रणालीप्रति खुसी र सन्तुष्ट देखिए । नागरिकताको प्रतिलिपि लिन आएका बालाजुका पूर्ण थापाले आफ्नो काम समयमै सकिएको भन्दै खुसी जनाए । त्यस्तै, जैसीदेवलबाट आएकी अञ्जना मिश्रले पनि सरल र सहज रूपमा काम भएको प्रतिक्रिया दिइन् । तर, राष्ट्रिय परिचयपत्रका लागि आएका गणेशकुमार थापाले भने आफ्नो काम सकिन ढिलो भइरहेको गुनासो गरे । कार्यालयमा देखिएका अधिकांश सेवाग्राहीहरूले सहज रूपमा काम भएको बताइरहेका थिए । सौर्य दैनिकले प्रतिक्रिया लिन खोज्दा सेवा सरल र सहज भएको बताएका धेरैले आफ्नो परिचय भने खुलाउन चाहेनन् ।
प्रतिक्रिया